धरान : सुनसरी उद्योग वाणिज्य सङ्घले कोरोना महामारीको बेलामा बैङ्कको व्याज लगायतका करहरू र मूल्यवृद्धि नगरी जनतालाई सहज बनाई दिन सरकारलाई आग्रह गरेको छ ।

सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष गिरिधारी सापकोटाद्वारा हस्ताक्षरित एक विज्ञप्ति जारी गरी कोभिड-१९ को नयाँ भेरियण्टको सङ्क्रमण रोकथामका लागि सुनसरी जिल्ला लगायत मुलुकको अधिकांश भूभागमा निषेधाज्ञा जारी रहेका कारण उद्योग व्यवसाय प्रायः बन्द रहेका छन् ।

एक ठाउँबाट अर्को ठाउँ जान आवतजावतमा कठिनाइ रहेकोले अहिलेको विषम परिस्थितिलाई मनन गरी मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्क, आय करको अग्रिम कर कट्टी लगायतका करहरूको विवरण बुझाउनु पर्ने म्याद र कर रकम भुक्तानीको समय थप, बैङ्क कर्जाको ब्याज दरमा छुट तथा बैङ्कमा किस्ता बुझाउन समय थप, उद्योग व्यवसाय सञ्चालन रहेको घर भाडा छुट, निषेधाज्ञा अवधिको विद्युत शुल्क छुट गरिदिन हुन सम्बन्धित निकायमा सुनसरी उद्योग वाणिज्य सङ्घ हार्दिक अनुरोध गर्दछ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा महामारी र त्यसबाट सिर्जित स्वास्थ्य जटिलतासँगै सामाजिक एवं आर्थिक समस्यासँग मुलुक जुधिरहेको अवस्थामा कोभिड-१९ को दोस्रो लहरबाट सङ्क्रमित र यसका कारण मृत्यु हुनेको सङ्ख्या हरेक दिन नयाँ रेकर्ड राख्दै बढिरहेको उल्लेख छ ।

अस्पतालहरू भरिँदै गएका छन् भने विशेषगरि सङ्क्रमितको जीवन रक्षाका लागि आवश्यक अक्सिजन सिलिन्डरको चरम अभाव देखिएको छ। तसर्थ यस विषम् अवस्थालाई मनन गरी सम्पूर्ण ग्याँस उत्पादक कम्पनीहरूलाई स्वास्थ्य उपचार प्रयोजनका लागि मात्र अक्सिजन सिलिन्डर उपलब्ध गराउनु हुन पनि विज्ञप्तिमा अपिल गरिएको छ ।

आम उपभोक्ताहरूलाई पनि अरूको स्वास्थ्यको ख्याल राख्दै आवश्यकताभन्दा बढी सिलिन्डर संचिति नगरी दिन हुन समेत अनुरोध गरिएको छ ।

यसै गरी अत्यावश्यकीय खाद्य सामाग्रीको मूल्यवृद्धि भइरहेको भन्ने सर्वसाधारणको गुनासो व्यापक आएको हुँदा अनावश्यक मूल्यवृद्धि नगरी सुपथ मूल्यमा सामाग्री बिक्री वितरण गरी सामाजिक दायित्व पुरा गर्न हुन समेत आग्रह गरिएको छ ।

बन्दाबन्दीले अर्थतन्त्र चलायमान बन्न नसक्दा यससँग प्रत्यक्ष जोडिएका साना ठुला सबै तह र सबै प्रकारका उद्योगी व्यवसायी काम गरेर खाने श्रमिक कामदारहरू लगायत आम सर्वसाधारणको दैनिक जीवनयापन अत्यन्त कठिन बन्दै जाने यथार्थतालाई समयमै मनन गरी आगामी बजेटमा सरकारबाट उद्योग व्यापार सञ्चालनमा आवश्यक सहयोग हुने उचित नीतिको समेत अपेक्षा गर्दछौँ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Ubasangh-Bigyapti