केही दिन यतादेखि केही अनलाइनहरूले धरानका पूर्व मेयर मनोजकुमार मेन्याङ्बोको कमब्याकको चर्चा गरेको समाचारमा मेरा आँखाहरू दौडिए । आफ्नो कार्यकालमा देशभरमा मेयरमध्ये राम्रो काम गर्नेमध्येका एक भनेर चर्चा कमाएका उनको कमब्याक बारे अनलाइनहरूले चर्चा गरेपछि सोचेँ, मैले चिनेको मनोजकुमार मेन्याङ्बो आफ्नो चर्चा आफै चुलीमा पुर्‍याउन सञ्चारमाध्यमको ढोका चाहर्दै हिँड्ने व्यक्ति त होइनन् । तर यस्तो चर्चा कसरी ? त्यसमा पनि अहिले एमाले निकट भएर समाचार सम्प्रेषण गरिरहेको अनलाइनमा यस्तो चर्चा कसरी हुन पुग्यो ?

यहीँ जिज्ञासा लिएर मनोजको चर्चाबारेमा चर्चा गर्ने ती अनलाइनका सम्पादकहरुसङ्ग जिज्ञासा राखेँ । उनीहरूले भने, ‘अहिले सत्तारुढ दलहरू एकातिर हुँदा एमाले एक्लै छ । यस्तो अवस्थामा जित्न सक्ने उम्मेदवारहरूको बारेमा जनमत बुझ्दा धरान उपमहानगरको सन्दर्भमा मनोजको चर्चा सुनियो, त्यहीँ अनुसार हामीले समाचार सम्प्रेषण गरेका हौँ ।’

धरानबाट उपमहानगरको मेयर बन्न धेरैले आकाँक्षा प्रकट गरेका छन् । आकाङ्क्षीहरूको नाम केन्द्रमा अनुमोदनका लागि पठाइएको छ। तीमध्ये मनोज मेन्याङ्बोको नाम पनि परेको सञ्चारमाध्यमबाटै थाहा पाएँ । 

यसैबिच केही व्यक्तिले स्वतन्त्र रूपमा धरानमा मनोजको कमब्याकको सार्वजनिक रूपमा चाहना व्यक्त गरेको पनि पढ्न पाइयो । तीमध्ये मेरा एक मित्र तथा स्वतन्त्र सञ्चारकर्मी मनिराज गुरुङले अप्रिल १५ गते आफ्नो स्ट्याटसमा लेखेका छन्, ‘म धराने होइन, तर घोपा क्याम्प उठेपछि उराठ बन्दै गरेको धरानलाई फेरि गुलजार बनाउन र सडक विकासको मोडल प्रस्तुत गर्न सफल मनोज मेन्याङ्बोको मेयरमा उम्मेदवारीको चर्चाले म पनि चुप लागेर बस्न सकिनँ, म मनोज मेन्याङ्बोको पक्षमा छु ।’

मनिराजजी भन्दा अझ खरो उत्रेर धरानलाई कोण-कोणबाट जान्ने र बुझ्ने धरानमा लामो समय पत्रकारिता क्षेत्रमा पसिना बगाएका, धरान स्थायी घर भई हाल: हङकङमा रहेर सञ्चारकर्म गरिरहेका भाइ डम्बरकृष्ण श्रेष्ठले अप्रिल १५ मै फेसबुकमा लामो स्ट्याटस लेख्दै मनोजको धरानमा कमब्याक अपरिहार्य भएको औँल्याए । उनले लेखेका छन्, धरानमा मनोजकुमार मेन्याङ्बोको उपमेयर र मेयरको कार्यकाल प्रत्यक्ष देखेको र धरानलाई स्थानीय विकास र जनसहभागिताको लागि नेपालकै नमुना नगर बनाउँदाको समयको साक्षी भएकोले पनि होला फेरि एक पटक धरानको साख जोगाउन उनको कमब्याक आवश्यक देख्छु । किनभने कुराजनीति भ्रष्टाचार कमिसनखोर र मनपरीले डुब्दै गएको घोपा क्याम्प (वीपी प्रतिष्ठान) जोगाउन, सामाजिक अस्तव्यस्तता, दूब्र्यसन र गुण्डागर्दीलाई तह लगाउन, खानेपानी लगायतका समस्याबाट छुटकारा पाउन र धरानलाई विकासको सोचसहितको नयाँ ट्र्याकमा हिँडाउन मनोज मेन्याङ्बोजस्ता हक्की 'दबङ' मेयरको पुनरागमन जरुरी छ ।’

मैले करिब ५ वर्ष धरानलाई कर्मथलो बनाएर पत्रकारिता गरेँ । पढाइको सिलसिलामा धरानकै महेन्द्र बहुमुखी क्याम्पसबाट मैले स्नातक तह उत्तीर्ण गरेँ । त्यहीँ क्रममा मेरो भेट भएको हो, डम्बरकृष्णसँग । सानैदेखि पत्रकारितामा अभिरुचि राखेर आएका उनको लक्ष्यलाई उकेरा लगाउन सानोतिनो भूमिका मैले पनि खेलेको छु । त्यसैले म डम्बरकृष्णलाई राम्ररी बुझ्छु । राजनीतिक रूपमा सचेत भए पनि उनले अहिलेसम्म कुनै पनि पार्टीको झण्डा उचालेको थाहा छैन मलाई । पेसागत रूपमा पूर्ण बफादार उनी निर्वाचनको बेला पनि स्वतन्त्र मत राख्छन् । त्यसैले उनले लेखेको फेसबुकको स्ट्याटस कुनै पनि राजनीतिक पार्टीको लेबल नलागेको स्वतन्त्र व्यक्तिले व्यक्त गरेको हो भनेर बुझ्नुपर्ने हुन्छ । त्यसमा पनि डम्बर त धरानको स्थानीय भइसकेका व्यक्ति हुन् । 

मनिराजजी पनि कुनै राजनीतिक दल विशेषको झण्डा बोकी हिँड्ने व्यक्ति होइनन्, न धराने नै हुन् । तर धरानलाई सूक्ष्म रूपले बुझ्न सक्ने सचेत व्यक्ति हुन् उनी ।

धरानमा पत्रकारिता गर्दाखेरि तत्कालीन तत्कालीन मेयर मेन्याङ्बोसङ्ग एउटा जनप्रतिनिधिको रूपमा जस्तो सम्बन्ध थियो, त्यतिमै सीमित थियो, डम्बर लगायत मेरो समूहको सम्बन्ध । त्यसैले उनीबाट न कुनै नाजायज फाइदा लिने काम गरियो, न अनावश्यक उठबस गरियो । अहिले आएर उनलाई उसबेला हामीले एक असल जनप्रतिनिधिका रूपमा जस्तो देख्यौँ, त्यहीँ धारणा यतिखेर हामी व्यक्त गरिरहेका छौँ ।

अहिले डम्बर र म धरानबाट त के, नेपालबाटै धेरै टाढाको मुलुकमा रहेर संसारको सर्वश्रेष्ठ सुगन्ध पसिनाको सुगन्धमा आनन्दित छौँ । तर पनि हिजो हाम्रो पसिना डगमगाएको धरानको सम्झना गर्नु र इतिहासलाई साक्षी राखेर धरानको भविष्यप्रति चिन्ता गर्नु हाम्रो सन्दर्भमा स्वाभाविक हो भन्ने लाग्छ । यो हाम्रो कर्तव्य पनि हो । त्यसैले धरान उपमहानगरको सन्दर्भमा विकासवादी र हक्की मेयर मनोज मेन्याङ्बो एक मौरी हुन्, जसको कमब्याकको अपेक्षा हामीले राखेका हौँ । यस्तो अपेक्षा राख्ने स्वतन्त्रता हामीलाई छ ।

केही समय उनी राजनीतिमा निष्क्रिय भएको हामीले पनि थाहा पायौंं । तर उनी राजनीतिमा निष्क्रिय भएको बेला उनलाई राजनीतिमा फर्कन आह्वान गर्ने एमालेजनको ठुलो लर्को थियो । एमालेजनकै आह्वानपछि उनी पार्टीमा सक्रिय भएका हुन् । उनी पद वा जिम्मेवारीमा नरहे पनि उनले धरानको माटो सुमसुम्याइरहे । यस अवधिमा उनले लागूपदार्थ प्रयोगकर्ताहरूको पुरस्थापन र सुधारका लागि आसरा भवनको निर्माणका साथै पर्यटन क्षेत्रमा महत्वपुर्ण भूमिका खेले । रानी भन्सारबाट किमाथाङ्का जोड्ने कोशी राजमार्ग विस्तारका क्रममा सडकछेउका कैयौँ व्यक्तिको घरजग्गा रोक्का भइरहेको अवस्थामा त्यसको उचित समाधानका लागि पहल गर्न कम्मर कसेर उनी लागिरहेका पनि हामीले सुनेका छौँ।

धरानमा विकासका विविध एजेन्डाहरू छन् । तिनलाई पुरा गर्न पनि धरानका लागि एक हिम्मतिलो नेतृत्व आवश्यकता देखिन्छ । त्यो विकल्प भनेको मनोज मेन्याङ्बो नै हुन् । पञ्चायतकलामा धरानमा केही आन्दोलन हुन लाग्यो कि पक्राउ परिहाल्ने सूचीमा उनकै नाम हुन्थ्यो। उनी पञ्चायती हिरासतका नियमित पाहुना थिए। शाहीकालमा पनि उनी लामै समय थुनामा परे । उनको राजनीतिक इतिहासको इतिवृत्त यो सानो लेखमा लेखेर साध्यै हुँदैन ।

उनी किन पनि हिम्मतिलो हुन् भने भानुचोकलाई एक खुल्ला ठाउँका रूपमा विकसित गर्नका लागि त्यहाँको सब्जिमण्डी हटाउन उनले गरेको साहस र जीरोप्वाइन्ट नजिक खहरे खोलाभित्रै झुपडी हालेर बस्न लागेको अव्यवस्थित बसोबासलाई नियन्त्रण गर्न उनले खेलेको भूमिकाको हामी प्रत्यक्षदर्शी पनि हौँ । यस्तै हिम्मतिलो मेयरको पर्खाइमा छ, यतिखेर धरान ।

दलगत राजनीतिमा आफूले प्रतिनिधित्व गर्ने दलको नीति र कार्यक्रम लागू गर्न दत्तचित्त हुनुपर्छ, सम्बन्धित दलबाट निर्वाचित प्रतिनिधि । त्यसैले दलको विचार बोक्ने र दलभित्र लोकप्रिय व्यक्तिलाई नै दलले निर्वाचनमा आफ्नो उम्मेदवार बनाउँछ । दलभित्र लोकप्रिय तर जनतामाझ अलोकप्रिय व्यक्ति उम्मेदवार बन्यो भने त्यस्ता व्यक्तिलाई जन अनुमोदित हुन गाह्रो हुन्छ । त्यसैले रूपमा पनि सारमा पनि उचित उम्मेदवारले मात्रै विजयको टिका लगाउन सक्छ । भनिन्छ नि, रोटी पनि हेर्नाको हुन्छ । त्यस्तै हुनुपर्छ दलको उम्मेदवार पनि ।

डम्बरकृष्ण श्रेष्ठ धरानबासीसङ्ग बाक्लो अन्तरक्रिया र जनसम्पर्क गरिरहने सञ्चारकर्मी हुन्। उनले फेसबुकमा जे लेखे धरानवासी मतदाताकै कुरा बुझेर नै उनले दलले उम्मेदवार घोषणा गर्नुअघि नै अन्तरमानका कुरा व्यक्त गरेका हुन् । डम्बरको भनाइमा चौबिस क्यारेट दम छ । मैले चिने जानेको मनिराजजी कुरा नबुझी बोल्ने मान्छे होइनन् । यतिखेर मुलुकमा एमाले एक्लै भिड्नुपरेको अवस्था छ । त्यसैले उसलाई जित्नै पर्ने उम्मेदवार चाहिएको छ । जसले कामबाट जनताको मन जितेको छ, उसैले पाउने हो, जनमत । 

यहाँनेर आचार्य  चाणक्यसङ्ग सम्बन्धित उनकै समयको घटनाको चर्चा गर्न सान्दर्भिक ठान्छु । उनी प्राचीन भारतका राजा चन्द्र गुप्त मौर्यका महाअमात्य (प्रधानमन्त्री) थिए । उनी राती लेख्न बस्दा एउटा काम सकिसकेपछि त्यो काम गरुन्जेल बालिएको टुकी निभाउँथे र अर्को बाल्थे र फेरि काम सुरु गर्थे । 

त्यो देख्नेहरूले उनलाई सोधे,‘चाणक्य, तपाई किन राती पालैपालो दुई वटा टुकी बालेर काम गर्नु हुन्छ ? एउटै टुकी बालेर काम गर्दा हुँदैन ?’ चाणक्यले भने,‘हो म दुई टुकी बाल्छु । म राज्यको काम गर्दा उसले दिएको तेल प्रयोग गरेर एउटा टुकी बाल्छु । अनि म मेरो व्यक्तिगत काम गर्दा म आफ्नै खर्चले किनेको तेल प्रयोग गरेर टुकी बाल्छु ।’ तर आज व्यक्तिगत काम गर्दा पनि राज्यको खर्चमा गर्ने चलन व्यापक बनेको छ । तर हामीले देखेको मनोज मेन्याङ्बो चाहिँ राज्यको काम गर्दा मात्रै राज्यको खर्च गर्ने र व्यक्तिगत काम गर्दा आफै खल्तीबाट निकाल्ने व्यक्ति हुन् । 

धरानमा रहर धेरैले गरेका होलान् । पार्टीमा मनोजले जस्तै लामो समयदेखि रगत पसिना बगाएका पनि होलान् । तर परिस्थिति पहिलेजस्तो छैन । यस्तो अवस्थामा मनोजले मात्रै धरान उपमहानगरमा गठबन्धनलाई तह लगाउन सक्छ भन्ने हाम्रो ठम्याई छ ।

: राजकुमार दिक्पाल rajkumaar-dikpal