इटहरी : धरान उपमहानगरपालिकाको मेयरमा नारायण सुवेदीले दाबी गर्ने बताएका छन् । नेकपा एमाले धरान उपमहानगर कमिटी इन्चार्ज सुवेदीले आफू स्वभावीक उम्मेदवार भएको भन्दै पार्टीले टिकट दिनेमा विश्वस्त रहेको बताए । कपुरी न्युज सँग कुरा गर्दै सुवेदीले नेकपा एमालेको गुमेको शाखलाई फिर्ता ल्याउन मेयरमा आफ्नो दाबेदारी रहेको प्रस्ट पारे । 
आफू लामो समय देखी एमालेको राजनीतिमा सक्रिय भएको स्मरण गराउँदै उनले मेयरमा स्वाभाविक उम्मेदवारी रहने बताएका हुन्। अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्य देखी सुरु गरेको राजनैतिक यात्रा नगर अध्यक्ष देखी इन्चार्जसम्म पुगेको उनको भनाई छ । युवा सङ्घ देखी पार्टीमा फड्को हानेको बताएका उनले दुई कार्यकाल धरान नगरको पार्टी कार्यालय सचिवको जिम्मेवारी सम्हालेका छन् । पछि नगर कमिटी सचिव हुँदै उपाध्यक्ष र कार्यबहाक अध्यक्ष चलाएको स्मरण गराए । एमाले र माओवादी केन्द्रको मिलेर बनेको नेकपाको धरान नगर कमिटी अध्यक्ष रहेका उनी पार्टी सङ्गठनको बलियो अनुभव रहेको बताउँछन् । 
“अब धरानको मेयरको उम्मेदवार बन्ने मेरो आकाङ्क्षा मात्र हैन अधिकार पनि हो । विगतमा रहेको एमालेको गरिमालाई पुनर्जागृत गर्न म उम्मेदवार बन्नुपर्छ भन्ने मेरो कुरा हो ।,” उनले भने, “हालका जनप्रतिनिधिले ५ वर्षमा पनि धरानको खानेपानी देखी आधारभूत समस्या समाधान गर्न सकेनन् । त्यही काम गर्न म मेयर बन्न लागेको हुँ।”
धरानमा रिङ रोडको आवश्यकता रहेको बताउँदै उनले पर्यटन पूर्वाधार विकाशको अभियान चलाउनुपर्ने बताए । धरानको व्यापार व्यवसायलाई स्थापित गर्नुपर्ने चुनौतीका बिच आफू उम्मेदवार बन्न लागेको उनको भनाई छ । 
आगामी वैशाख ३० गतेलाई स्थानीय तह निर्वाचनको मिति घोषणा भएसँगै जनप्रतिनिधिमा उम्मेदवार बन्नेहरूको होडबाजी सुरु भएको छ । धरानमा हालकी उपमेयर मञ्जु भण्डारी, उपनिर्वाचनमा मेयरका उम्मेदवार प्रकाश राई देखी दुई सञ्चार उद्यमीहरूको समेत चर्चा चुलिएको छ । ब्लास्ट दैनिकका प्रबन्ध निर्देशक किशोर कुमार कार्की र औजार प्रकाशन सहकारी संस्थाको अध्यक्ष मोतीराज सुनुवारले समेत दाबेदारी प्रस्तुत गरेका छन् । 
उता काँग्रेसमा भने हालका मेयर तिलक राई, काँग्रेस प्रदेश १ महामन्त्री उमेश थापा, पूर्व नगर सभापति किशोर राई, नगर सभापति श्याम पोखरेल र क्षेत्रीय सभापति सुजेन्द्र गोलेको नाम चर्चामा छ।