सुनसरी : इटहरी उपमहानगरले गत वर्षको माघ महिनाबाट आधुनिक ल्यान्डफिल्ड साइटमा फोहोर व्यवस्थापन सुरु गर्याे । इटहरी १० डुमरटक्कामा रहेको फोहोर प्रशोधन केन्द्रमा कुहिने फोहोरबाट खाना पकाउने ग्याँस समेत उत्पादन हुने भनिएको थियो । तत्काल इटहरीमा फोहोरको समस्या समाधान भएको देखिए पनि आगामी दिनमा विकराल बन्ने देखिएको छ । 
इटहरीमा दैनिक ५० टन फोहोर उत्सर्जन हुने गरेको छ । त्यसमध्ये ४८ टन नकुहिने बाँकी २ टन मात्रै कुहिने फोहोर हो । कुहिनेबाट ग्याँस उत्पादन हुने भए पनि नकुहिने फोहोर के गर्ने भन्ने कुनै जवाफ फोहोर व्यवस्थापनको जिम्मा दिएको कम्पनी वेस्ट एन्ड इन्भारो केयर प्रालि सँग छैन । 
व्यवस्थित ल्यान्डफिल साइड सञ्चालन गरे पनि एक वर्ष बित्न लाग्दा पनि ग्याँसको बिक्री वितरण हुन सकेको छैन । कम्पनीले ग्याँस भर्ने सिलिन्डर नभएको दाबी गरेको छ । तर कसरी बिक्री वितरण गर्ने उक्त ग्याँसलाई बजार सम्म कुन आधारमा वितरण गर्ने भन्ने ठोस कार्यविधि नहुँदा समस्या भएको छ । अर्का तर्फ नकुहिने फोहोर बुढी खोलाको किनारमा फाल्न थालिएको छ ।
किनारमा खाल्डो खनेर नकुहिने फोहोर फाल्ने र माथिबाट माटो पुर्ने गएको छ । खोलामा बर्सेनि आउने बाढीले जनधनको क्षति गरिरहेको उदाहरण हुँदा हुँदै बाढी रोकथाममा नकुहिने फोहोरको पर्खाल लगाइएको छ । बर्षायाममा बाढीले उक्त फोहोर बगाउने जान्दाजान्दै कम्पनीले अन्यत्र कतै फाल्ने ठाउँ नपाएर उक्त उपाय रचेको सहजै अनुमान गर्न सकिन्छ ।
दैनिक ४८ टन नकुहिने फोहोरलाई व्यवस्थापन गर्न कम्पनीले उपमहानगरलाई फेरी गुहारेको छ । उपमहानगरले अब खोलाको भाग तिरबाट जालीवाल लगाएर उक्त फोहोर फालिएको ठाउँ सुरक्षित राख्नु पर्ने बताएको छ । कम्पनीका प्रबन्धक मानधोज मोक्तान सहरमा कुहिने भन्दा नकुहिने फोहोर दिनप्रतिदिन बढिरहँदा कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती थपिएको बताउँछन् । ‘हामीले कम्पनी त स्थापना जसोतसो गर्याै, तर ५० टन मध्ये दुई टन मात्रै कुहिने बाँकी ४८ टन नकुहिने ।’ मोक्तानले भने “अब हामीले मात्रै सक्ने अवस्था छैन , उपमहानगरको पनि उत्तिकै जिम्मेवारी छ, त्यो उहाँले समेत मिलाउनु पर्छ ।” 
नकुहिने फोहोरबारे कुनै निर्णय गर्न नसकेको उपमहानगर कसरी व्यवस्थापन गर्ने अन्योलमा छ । वातावरण शाखा प्रमुख युगदिप लुइँटेल कुहिने फोहोरबाट ग्यास उत्पादन भए पनि ग्याँस भर्ने सिलिण्डर आउन ढिलाइ हुँदा ग्याँस बिक्री वितरण हुन नसेको बताउँछन् । तर नकुहिने फोहोरबारे समस्या रहेको लुइँटेलको भनाई छ । ‘हामीले सम्पूर्ण जिम्मेवारी कम्पनीलाई सम्झौता गरेर दिएका छौँ ।’ उनले भने “यदि खोलामा फोहोर फाल्ने गरेको हो भने तत्काल कम्पनीसँग बसेर छलफलबाट के गर्न सकिन्छ, त्यही अनुरूप समाधान तर्फ लाग्नेछौँ ।” 
२०७५ वैशाख १४ गते भएको सम्झौताअनुसार सोही वर्षको असोजसम्ममा ल्यान्डफिल साइड सञ्चालन गर्ने थियो । उपमहानगरले जग्गा व्यवस्थापन गर्नुपर्ने र १३ करोड ५० लाख रुपैयाँ वेस्ट एन्ड इनभारो कम्पनीले खर्च गर्ने सम्झौता थियो । साथै फोहोरलाई पुनः प्रशोधन गर्न सकिने र नसकिने छुट्याएर व्यवस्थापन गर्नका लागि वेस्ट एन्ड इनभारोले ६० प्रतिशत र मेसिनरी सामान खरिद गर्नका लागि ४० प्रतिशत विश्व बैङ्कले लगानी गर्ने निर्णय गरिएको थियो । 
त्यस्तै खेलमैदान व्यवस्थित गर्ने काम, क्लबलाई सहयोग, खोलामा तटबन्ध बाँध्ने काम र आर्यघाट बनाउने काम उपमहानगरले गर्ने सम्झौता छ । तर यी सम्झौता उपमहानगर आफैले मानेको छैन । 
उपमहानगरले अहिले वेस्ट एन्ड इनभारो कम्पनीलाई फोहोरको जिम्मा दिएसँगै मासिक तीन लाख रुपैयाँ पाँच वर्ष सम्म दिने सम्झौता गरेको छ ।  त्यसपछि कम्पनीले आम्दानीको एक प्रतिशत उपमहानगरलाई दिने सम्झौता भएको छ । २० वर्षपछि भने ग्यास उत्पादन गर्ने सहितको प्लान्टसँगै ल्यान्डफिल साइड उपमहानगरलाई जिम्मा दिनुपर्ने भनिएको छ ।
itahari-phohor-bisarjan-bud