नेपाल पत्रकार महासङ्घमा शुद्धीकरणको सवाल उठेको धेरै भो । अशुद्धिकरणले महासङ्घमा क्रियाशील पत्रकारहरू अल्पमतमा पर्ने अवस्था छ। केन्द्रीय समितिले शुद्धीकरणको प्रयास नगरेको होइन । तर, जिल्लाहरूले यसमा कोसिस नगरे सम्म सफल हुनसक्छ जस्तो लाग्दैन ।
यो सन्दर्भमा गएको शनिवार सम्पन्न महासङ्घको सुनसरी जिल्ला समितिको १३ औँ साधारण सभाले एउटा माइल खुट्टी खडा गरेको छ। शुद्धीकरणका लागि सभामा फ्लोरबाट पेस भएको विशेष प्रस्तावलाई साधारण सभाले पारित गर्दै कार्यान्वयनको प्रतिबद्धता प्रकट गरेको छ ।
उक्त पारित प्रस्तावमा महासङ्घको संशोधित विधान २०७५ को दफा ७ उपदफा १ को खण्ड १ ले गरेको गरेको व्यवस्था अनुसार महासङ्घका सदस्यहरू पत्रकारिता पेसामा रहे नरहेको छानबिन समिति गर्न शक्तिशाली छानबिन समिति गठन गर्न प्रस्ताव गरिएको छ।
विधानको उक्त प्रावधान अनुसार महासङ्घका सदस्य भए पनि पत्रकारिता पेसाबाट अलग भए महासङ्घको सदस्यता समाप्त हुने व्यवस्था छ। यो प्रस्ताव सामान्य जस्तो लागे तापनि शुद्धीकरणका लागि महत्त्वपूर्ण छ ।
यसले कमसे कम महासङ्घ पत्रकारिता पेसामा क्रियाशीलहरूको सङ्गठन बनाउन मद्दत गर्दै शुद्धीकरणका अघिल्ला कदमहरू अघि बढाउन आधारशिला तयार गर्नेछ । कार्यरत नरहेकाहरू तथा राजनीति सहित अन्य पेसामा लागेकाहरू महासङ्घको सदस्य रहँदैनन् भन्ने मान्यता स्थापित गर्नेछ ।
महासङ्घको शुद्धीकरण अभियानलाई तल्लो तह जिल्लाबाट बलियो बनाउन यस्ता उपायहरू खोजेर कार्यान्वयन गर्न जरुरी छ । सुनसरी जिल्ला महासङ्घको साधारण सभाले पारित गरेको यो क्रियाशील पत्रकारहरूको प्रस्ताव त्यसैले पनि एउटा माइल खुट्टी हो ।
हुन त महासङ्घको सुनसरी जिल्ला समितिले यसअघि पनि शुद्धीकरणको उपाय नअपनाएको होइन । सभापति केशव घिमिरेको कार्यकालमा एक पटक महासङ्घको सदस्यता प्राप्तिका लागि पत्रकारहरूले परीक्षा दिनुपर्ने नीति पनि अपनाएको थियो ।
महासङ्घमा प्रवेश गर्दा नै व्यवसायीक पत्रकारीताका सामान्य मापदण्ड, आचार संहिता, आधारभूत जानकारी हुनुपर्ने उद्देश्यले गरिएको उक्त अभ्यासले निरन्तरता पाएन । अहिले जिल्लाका सदस्यहरू एक तिहाइ क्रियाशील पत्रकारितामा छैनन् भन्नेहरू पनि पाइन्छन् ।
यस्तो अवस्थामा साधारण सभाले पारित गरेको शुद्धीकरणको दबाबलाई सभापति जनकऋषि राई नेतृत्वको कार्यसमितिले कति सम्म कार्यान्वयन गर्न सक्छ, हेर्न बाँकी छ । एक महिनाको भित्र छानबिन समिति गठन गरिसक्ने प्रतिबद्धता कार्यान्वयन गर्न कार्यसमितिलाई ठुलो आत्मविश्वास चाहिन्छ । त्यो आत्मविश्वास जुटाउन पत्रकार महासङ्घ सुनसरीले अपनाउने प्रक्रिया, पद्धति अहिले चासोको विषय बनेको छ ।
तथापि ढिलै भए पनि सुनसरीको तेह्रौँ साधारणमा पुनः सुद्धिकरणको सवाल उठ्नु सराहनीय कुरा हो । महासङ्घको अशुद्धिकरणले यसका विभिन्न फोरमहरूमा व्यवसायीक पत्रकारिताले सामना गर्नु परेको नयाँ चुनौती, व्यवसायीक पत्रकारहरूको पेशागत सुरक्षा, निरन्तरताका विषयमा गम्भीरता पूर्वक परिणाममुखी छलफलहरू हुन्नन् ।
महासङ्घको इतिहास गौरवशाली छ । लोकतान्त्रिक आन्दोलनहरूमा यसको निर्णायक भूमिका इतिहासमा उल्लेखनीय छन् । मुलुकमा प्रेस स्वतन्त्रता र लोकतन्त्रको रक्षाका लागि महासङ्घले खेलेको भूमिका क्रियाशील पत्रकारहरूको सक्रिय सहभागितामा भएको हो । मुलुकमा गणतन्त्र आएपछि पत्रकारितामा नयाँ पुस्ता आएको छ र महासङ्घको भूमिका फेरिएको छ ।
शुद्धीकरण त्यसैका लागि चाहिएको हो । तर महासङ्घले शुद्धीकरण के का लागि भन्ने औचित्य स्पष्ट गर्न सकिरहेको छैन, जस्तो पनि लाग्ने गरेको छ । पत्रकारितामा नयाँ पुस्ता सँगै नयाँ प्रविधिले पनि प्राथमिकता पाएको छ । पत्रकारिताको परिभाषामै पनि नयाँ कुरा थपिएका छन् । शासनको स्थानिय तह बलियो भए पनि स्थानिय मिडियाको अवधारणा विकसित भएको छैन । आशा छ, सुर्खेतमा हुन गइरहेको महासङ्घको साधारण सभामा यसबारे छलफल हुनेछ ।