धरान : वीपी प्रतिष्ठान बाल मधुमेह सम्बन्धी सेवा विस्तार, स्रोत अभाव, संरचनागत कमजोर रहेको विद्यार्थी समूहले शीर्ष नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

विश्व मधुमेह दिवस २०२५ मनाउन शुक्रवार प्रतिष्ठानमा आयोजित अन्तरक्रियामा विद्यार्थी, अभिभावकहरूले प्रतिष्ठानमा बाल मधुमेह सेवा सुदृढ नभएकोमा आलोचना गरे ।

छलफलमा उपकुलपति प्राडा विक्रम प्रसाद श्रेष्ठ, शिक्षाध्यक्ष प्राडा सञ्जीवकुमार शर्मा, रजिस्ट्रार सूर्य प्रसाद सङ्ग्रौला, बाल रोग विशेषज्ञ डा. गौरीशङ्कर साह लगायत व्यवस्थापन पक्षसँग उनीहरूले प्रश्न गरेका हुन । जवाफमा प्रतिष्ठानले बाल मधुमेह सेवालाई संस्थागत रूपमा बलियो बनाउन आवश्यक स्रोत, जनशक्ति र सेवा विस्तार गर्ने प्रतिबद्धता जनाइएको छ ।

छलफलमा मधुमेह प्रभावित बालबालिका, अभिभावकहरूलाई परामर्श सेवाहरू, मनोसामाजिक सहयोग, इन्सुलिन प्रयोग विधि, पोषण, दीर्घकालीन व्यवस्थापन बारे विस्तृत अभिमुखीकरण गरियो । ओपिडी र वार्ड दुवैमा ग्लुकोज स्क्रिनिङ, जोखिम मूल्याङ्कन, मधुमेह सचेतना सामग्री वितरण र परामर्श प्रदान गरियो ।

प्रतिष्ठानले हरेक बुधवार दिउँसो बाल मधुमेह क्लिनिक सञ्चालन गर्दै आएको छ । क्लिनिक मार्फत इन्सुलिन, ग्लुकोमीटर, टेस्ट स्ट्रिप,अन्य लोजिस्टिक्स सामाग्री निःशुल्क उपलब्ध गराउने भएको छ । यसबाट आर्थिक कमजोर परिवारलाई राहत पुग्ने भएकाले सेवालाई दीर्घकालीन बनाउनु पर्नेमा अभिभावकरुले जोड दिए ।

चिकित्सकहरूले मधुमेह जीवन शैली, आनुवंशिक र दैनिक बानीसँग सम्बन्धित दीर्घकालीन रोग भएकाले समयमै पहिचान, नियमित परीक्षण, सन्तुलित भोजन, शारीरिक सक्रियता, तनाव नियन्त्रण, चिकित्सकीय निर्देशनको पालना अत्यावश्यक रहेको बताएका छन् ।

अन्तरक्रियामा एमडी असरुल अन्सारी, सिरु प्रधान, उषा कुमारी दास, जुलेखा खातुन, शिवेन्द्र कुर्मी, अभय शुक्ला, एमडी उस्मान, प्रवीण भट्टराई लगायत उपस्थित थिए ।

dibeties 1