विराटनगर : जेन-जी प्रदर्शनको नाममा गरिएको तोडफोड, लुटपाट र आगजनीमा विराटनगर महानगरपालिका कार्यालयको १ अबै रुपैयाँ बराबरको भौतिक सम्पत्ति क्षति भएको छ । आगजनीमा महत्पूर्ण कागजपत्र जलेर नष्ट भएका छन् ।
मेयर नागेश कोइरालाका अनुसार महानगरको प्रशासनिक भवन सहित वडा १ देखि १२ र १९ वडामा भएका भौतिक संरचना २३ करोड ३७ लाख ५८ हजार २३४ रुपैयाँ बराबरको क्षति भएको छ ।
महानगरपालिकाको स्काभेटर, शव वाहन, मोटरसाइकल, जेनरेटर, कम्प्युटर, फर्निचर, मसलन्द सामग्री लगायतमा ७५ करोड २५ लाख ६३ हजार ४८५ रुपैयाँ क्षति भएको छ । वडाहरूमा भएका जिन्सी साधनहरूको क्षतिको पूर्ण विवरण आउन समय लागेको मेयर कोइरालाले बताए ।
उनले भने ‘यो भौतिक र जिन्सी सामग्रीको क्षतिको विवरण हो, त्यो भन्दा ठुलो क्षति जनताका महत्त्वपूर्ण कागजपत्र जलेर नष्ट भएको छ ।’ उनका अनुसार घरजग्गा शाखा पूर्ण रूपमा जलेर नष्ट भएको छ । त्यहाँका सबै कागजपत्र नष्ट भएका छन् ।
अन्य महाशाखा र शाखामा रहेका महानगरवासीसँग सम्बन्धित कागजपत्रहरू पनि सबै जलेर नष्ट भएको उनले बताए ।
भौतिक संरचना र जिन्सी सहित ९८ करोड ६३ लाख २१ हजार ७१९ रुपैयाँ क्षति भएको छ । भएका भौतिक संरचना र जिन्सी साधन सबै नष्ट भएकाले महानगरको विकासमा असर पुग्ने मेयर कोइरालाले बताए । उनले भने उनले भने महानगरपालिकालाई काम गर्न अझै केही समय लाग्छ, सेवा प्रवाहमा भने कुनै कमी हुन दिएका छैनौँ ।’
महानगरपालिकाले अहिले प्रशासनिक भवन र वडा कार्यालयहरूका दैनिक कार्य टेन्टको अस्थायी कार्यकक्ष मार्फत गरिरहेको छ ।
उपमेयर शिल्पा निराला कार्कीले भनिन् ‘बस्ने ठाउँ नहुँदा न्यायिक समितिको इजलास समेत टेन्टमै बसिरहेको छ ।’ उनका अनुसार हरेक सोमबार र बुधवार न्यायिक इजलास बस्ने गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत योगन्द्र दुलालले प्राविधिक जाँचपछि बस्न योग्य भवनमा रंगरोगन, विद्युत् र नेट जडान धमाधम भइरहेको बताए । महानगरपालिकाबाट प्रवाह हुने सबै जसो सेवा भने पूर्ववत् रूपमा सुचारु भइसकेको उनको भनाई छ ।


































































