इटहरी : बालबालिकामा रहेको प्रतिभालाई प्रोत्साहित गर्न इटहरी–१ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयले आयोजना गरेको ‘राष्ट्रिय मावि आइडल’ प्रतियोगिताको फाइनलमा २० जना प्रतियोगी छनोट भएका छन्।
यस वर्षदेखि अतिरिक्त क्रियाकलाप अन्तर्गत सञ्चालन गरिएको प्रतियोगितामा शुक्रवार भएको सेमिफाइनलमा गायन र नृत्यमा ६/६ जना तथा साहित्यमा ८ जना फाइनलका लागि छनोट भएको दिवा सत्रका संयोजक शिक्षक युवराज काफ्लेले दिए।
फाइनल प्रतियोगिता मङ्सिर १२ गते विद्यालयको वार्षिकोत्सवको पूर्व सन्ध्यामा आयोजना हुनेछन्।
सेमिफाइनल छनोट कार्यक्रममा इटहरी वडा नं १ का वडाध्यक्ष रतनकुमार कार्की प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने प्रधानाध्यापक सरणकुमार बस्नेतको सभापतित्वमा वडा सदस्य ज्ञानेन्द्र गौतम, हरिहर चौधरी, विष्णुमाया नेपाली, आमा समूह, विद्यालय व्यवस्थापन समिति र स्थानीय अभिभावकहरूको समेत सहभागिता रहेको थियो।
प्रधानाध्यापक बस्नेतले इटहरी क्षेत्रका सामुदायिक विद्यालयमा यस्ता आइडल प्रतियोगिता पहिलो पटक आयोजना गरिएको बताए ।
सोही दिन बिहानी सत्रमा कक्षा ११ र १२ का विद्यार्थीबिच आयोजित ‘जेनजी आन्दोलनको औचित्य र प्रभाव’ विषयक वकृत्वकला प्रतियोगितामा कक्षा ११ की करुण खड्का प्रथम, कक्षा १२ की इसिका गेलाल दोस्रो, कक्षा ११ का प्रज्ञान जिमी तेस्रो र कक्षा १२ की युनिका सुवेदी चौथो भइन्।


































































