इटहरी : प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले कलमको मर्यादा कायम राख्नुपर्ने बताएका छन् । नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाको १३ औँ साधारण सभालाई सम्बोधन गर्दै उनले नेता र उच्च पदस्थलाई चाकरी गर्ने भन्दा पनि प्रश्न गर्ने पत्रकारको खाँचो भएको बताए ।

बन्दुकको तागत भन्दा क्यामरा र कलमको तागत बलियो हुने बताउँदै कार्कीले कमलको टुप्पोले समाज र राजनीतिलाई सही दिशानिर्देश गर्न सक्ने धारणा राखे । पत्रकारिता रोजगारीको लागि मात्र नभई साहसको लागि गर्न आग्रह गरे ।

‘खबरदारी बफादारी र इमान्दारीता देखाउन जरुरी छ । नेतालाई भ्रष्टाचारी बनाउने कि सदाचारी बनाउने पत्रकारको कलममा निर्भर छ । त्यसैले निर्धक्कका साथ पत्रकारिता गर्नुहोला ,’ उनले भने ।

विशिष्ट अतिथि महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश विष्टले पत्रकारितालाई मर्यादित र समयानुकूल बनाउनुपर्ने धारणा राखे । महासङ्घ प्रदेश १ अध्यक्ष लिलाबल्लभ घिमिरेले पुरानो परम्परागत पत्रकारिता र औपचारिक अभ्यासलाई बदल्नुपर्ने बताए ।