धरान : दन्त उपचारको क्षेत्रमा भएका नयाँ प्रयोग, प्रविधि र अनुसन्धानको विषयमा छलफल गर्न ओडनको १६औँ अन्तर्राष्ट्रिय सम्मेलन शनिवार धरानमा सुरु भएको छ ।

सम्मेलनमा अर्थोडोन्टिक्स, डेन्टोफेसियल अर्थोपेडिक्स क्षेत्रमा भएका नयाँ प्रविधि र अनुसन्धानमा केन्द्रित कार्यपत्रहरू माथि छलफल हुनेछ । सम्मेलन वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान दन्त चिकित्सा महाविद्यालयको सहकार्यमा भएको हो ।

सम्मेलनमा नेपाल र भारतका दन्त तथा अर्थोडोन्टिक विशेषज्ञ सहित १११ जना सहभागी छन् । सहभागीहरूमा भारतका ११ जना अर्थोडेन्टिस्ट छन् ।

उद्घाटन सत्रमा प्रतिष्ठानका एसोसियट प्रोफेसर डा. प्रभात रञ्जन पोख्रेलले अर्थोडेन्टिक्स क्षेत्रमा भएका नयाँ प्रविधि, अनुसन्धान, क्लिनिकल अभ्यास, उपचार विधिलाई भविष्यमा प्रयोग हुने अत्याधुनिक उपकरणको प्रयोग सहवरण सम्बन्धी प्रस्तुतिहरू हुने बताए । 

उनले भने ‘सम्मेलन चिकित्सकहरू बीच नयाँ ज्ञान, प्रविधि तथा क्लिनिकल अनुभव आदान–प्रदान गर्ने महत्त्वपूर्ण मञ्च हुने विश्वास गरिएको छ ।’

उद्घाटन समारोहमा नेपाल मेडिकल काउन्सिलका सदस्य, प्रख्यात अर्थोडोन्टिस्ट डा. रवीन्द्रमान श्रेष्ठलाई सम्मान गरिएको छ । उनलाई अर्थोडोन्टिस्ट क्षेत्रमा दीर्घकाल योगदान, अनुसन्धानमा समर्पित रहँदै आएकोमा ओडानले सम्मान प्रदान गरेको हो ।

सम्मेलनमा मुख्य वक्ताहरूका विशेष सत्र, वैज्ञानिक प्रस्तुतीकरण, पोस्टर प्रदर्शन तथा अन्तरक्रियात्मक छलफलहरू सञ्चालन भइरहेका छन् । सहभागीहरूले आधुनिक दन्त अर्थोपेडिक प्रविधि तथा पछिल्ला अनुसन्धानबारे प्रत्यक्ष जानकारी पाउने छन् ।आयोजक सचिव डा. राजेश ज्ञवालीले सम्मेलनबाट नेपालमा अर्थोडोन्टिक क्षेत्रलाई अझ आधुनिक, वैज्ञानिक बनाउने मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरे ।

सम्मेलनमा प्रतिष्ठानका उपकुलपति प्राडा विक्रम प्रसाद श्रेष्ठसहित वरिष्ठ चिकित्सकहरूको सक्रिय उपस्थिति रहेको छ। आयोजकका अनुसार यस कार्यक्रमले दन्त स्वास्थ्य तथा अर्थोडोन्टिक विज्ञानप्रति क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा जनचेतना अभिवृद्धिमा योगदान पुर्‍याउनेछ।odahan-1