वराहक्षेत्र : निजी तथा आवासीय विद्यालय सङ्गठन नेपाल (प्याब्सन) वराहक्षेत्र नगर समितिको आयोजनामा ‘खेलकुद सप्ताह-२०८१’ मङ्सिर ५ गतेदेखि सुरु हुने भएको छ ।

नगर समितिको वार्षिक कार्ययोजना अनुसार मङ्सिर ५ देखि १३ गतेसम्म विभिन्न खेल प्रतियोगितासहितको खेलकुद कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ।

शनिवार आयोजित पत्रकार सम्मेलनमार्फत प्याब्सन वराहक्षेत्र नगर समितिले खेलकुद सप्ताहको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो।

समितिका अध्यक्ष खेमराज राईका अनुसार कार्यक्रममा वराहक्षेत्र क्षेत्रमा आबद्ध १९ वटा निजी तथा आवासीय विद्यालयका १,०४४ जना विद्यार्थी खेलाडीको सहभागिता रहने छ।

यस वर्षको खेलकुद सप्ताहमा छात्र-छात्रा फुटबल, ब्याड्मिन्टन, म्याराथन, ५ किलोमिटर रनसहित विभिन्न प्रतिस्पर्धात्मक खेलहरू आयोजना गरिने समितिका सचिव अभियोग राईले बताए।

प्रतियोगिता नडाहा-३ स्थित एभेष्ट फुटबल क्लबको मैदान र कालाबञ्जर-५ स्थित जडेज माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुनेछ। कार्यक्रमको उद्घाटन तथा समापन समारोह नडाहा-३ स्थित एभेष्ट फुटबल क्लबमै हुने जनाइएको छ।

पूरा कार्यक्रम सञ्चालनका लागि करिब ७ लाख रुपैयाँ लागत अनुमान गरिएको अध्यक्ष राईले जानकारी दिए।