धरान : विश्वका शीर्ष २ प्रतिशत वैज्ञानिकमा नाम परेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा सञ्जीवकुमार शर्माले आफूले गरेको कामले स्वास्थ्य विज्ञान अनुसन्धानको क्षेत्रमा प्रतिष्ठानको नाम अघि आउनु गर्वको विषय भएको बताएका छन् ।
अमेरिकाको स्ट्यानफोर्ड युनिभर्सिटीद्वारा एन्सेभियरसँगको सहकार्यमा तयार गरेको वार्षिक ग्लोबल वैज्ञानिक प्रभाव र्याङकिङमा परेका नेपालका ३१ वैज्ञानिकमा प्रतिष्ठानका प्राडा शर्मा एक जना हुन् ।
स्वास्थ्य विज्ञान सम्बन्धी अनुसन्धानमा विश्व र्याङकिङमा परेको समाचार सार्वजनिक भएपछि उनीसँग प्रतिक्रिया माग्दा प्राडा शर्माले भने ‘स्वास्थ्य अनुसन्धानको क्षेत्रमा नेपाल र आफूले गरेको कामसँग प्रतिष्ठानको नाम अगाडि आएको कारण अत्यन्तै गर्व लागेको छ ।’
वीपी प्रतिष्ठानले दिएको जिम्मेवारी पूरा गर्ने क्रममा धेरै वर्षदेखि निरन्तर अनुसन्धान गर्दै आएको बताउँदै उनले भने ‘यस पटक समाचार बनेको मात्र हो, तर काम त दशकौँदेखि चलिआएको हो ।’
उनका अनुसार उपचार पद्धति र चिकित्सकीय ज्ञानलाई प्रभावकारी बनाउन अध्ययन अनुसन्धान अपरिहार्य भएकाले चिकित्सक र शिक्षक दुवैले अनुसन्धान प्रक्रियामा संलग्न हुनपर्छ । प्राडा. शर्माले भने ‘बिरामीलाई सही तरिकाले उपचार गर्नु डाक्टरको कर्तव्य हो, विज्ञान भनेको अध्ययन र अनुसन्धान हो, अनुसन्धान विज्ञान बिना अघि बढ्दैन ।’
युवा पुस्तालाई लक्षित गर्दै उनले लगन र निरन्तर परिश्रमले लक्ष्य पूरा हुने भएकाले युवा वैज्ञानिक र मेडिकल विद्यार्थी अनुसन्धानमा केन्द्रित हुनुपर्नेमा जोड दिए । प्राडा.शर्माले भने ‘शिक्षक र प्रतिष्ठानका लागि यो उपलब्धि नै ठुलो खुसीको कुरा हो ।’
अमेरिकी युनिभर्सिटीको सूचीमा त्रिभुवन विश्वविद्यालयका ७ जना, नेपाल हेल्थ रिसर्च काउन्सिल एनएचआरसी, बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान, इसिमोड लगायतका संस्थाका वैज्ञानिकहरू समावेश छन् ।
विगत २५ वर्षदेखि विभिन्न रोगमा अनुसन्धान गर्दै आएका प्राडा शर्माले सर्प दंश उपचार पद्धति सुधार, बाथ रोग, मुटु रोग, मृगौला रोग लगायतका विषयमा महत्त्वपूर्ण अनुसन्धान गरेका छन् । उनले विश्व स्वास्थ्य सङ्गठन ड्ब्लुएचओमा सर्पदंंश सम्बन्धी नेपालको प्रतिनिधित्व पनि गर्दै आएका छन् ।
यसै सूचीमा विगतमा बिपीमा कार्यरत प्राडा. सुमन रिजाल पनि परेका छन्। । हाल उनी भारतको दिल्ली स्थित विश्व स्वास्थ्य सङ्गठनमा सर्ने रोग विभागका निर्देशक छन् ।
सूचीबारे जानकारी दिँदै नास्टका वैज्ञानिक डा. निरञ्जन कोइरालाले स्ट्यानफोर्ड–एल्सेभियर सहकार्यमा स्कोपस डाटाबेसका आधारमा प्रत्येक वर्ष विश्वभरका प्रभावशाली वैज्ञानिकको सूची निकालिने गरेको बताएका छन् । कोइराला पनि यस वर्षको शीर्ष वैज्ञानिक सूचीमा परेका छन् ।
स्ट्यानफोर्डको वार्षिक र्याङकिङ वैज्ञानिकहरूको अनुसन्धान उत्पादन, उद्धरण दर, सह लेखन, बिब्लियोमेट्रिक प्रभावका आधारमा तयार हुन्छ । यस वर्ष नेपालका ३१ जना वैज्ञानिक विश्वका सबैभन्दा बढी प्रभाव पार्ने शीर्ष २ प्रतिशतमा परेका हुन ।


































































