धरान : नेपाली सुन्तलाको उत्पादनको मुख्य क्षेत्र प्रदेश १ का पहाडी जिल्लाका सुन्तला भारत निर्यातमा प्रतिबन्धित छ । बर्सेनि ठुलो परिमाणमा उत्पादन हुने र गुणस्तरको हिसाबले उच्चस्तरको भए पनि भारत निर्यात गर्न नपाउँदा किसानहरूले उचित मूल्य पाउन सकेका छैनन् । अहिले सुन्तलाको सिजन हो ।
नेपाल-भारत सरकार बिचको व्यापार सम्झौतामा नेपालबाट निर्यात हुने वस्तुमा सुन्तला सूचिकृत नभएकाले अहिले सम्म सुन्तला निर्यात प्रतिबन्धित छ । धरान कृषि बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले भने "दुई मुलुक बिचको सरकारी व्यापार सम्झौतामा सुन्तला सूचिकृत नभए सम्म यहाँको सुन्तला भारत लैजान प्रतिबन्धित छ ।"
सूचिकृत नभएकै कारण नेपाल-भारत सीमा क्षेत्रका भारतीय बजारहरूमा पनि नेपाली सुन्तला लैजान भन्सारले कडाइका साथ रोक लगाउने गरेको छ । विराटनगर, काँकडभिट्टा भन्सारले थोरै परिमाणमा लैजाने सुन्तलामा पनि कडाइ गर्दै आएकोले सिमाक्षेत्रको भारतीय स्थानिय भारतीय बजारमा नेपाली सुन्तला उपभोक्ताहरूले चाख्न पाएका छैनन् । भण्टाबारी नाकाबाट लुकीचोरी स्थानिय खुद्रा पसलेले लैजाने गरेता पनि व्यापारिक रूपमा सुन्तला भारतीय बजारमा जाँदैन ।
यसअघि बन्द कोपी पनि भारत निर्यात गर्न पाइन्न थियो । पूर्वी पहाडमा ठुलो परिमाणमा बन्दा कोपी उत्पादन हुने गरेको छ । निर्यात नहुँदा किसानको बारीमै कुहिने अवस्था आएकाले व्यवसायी, उद्योग वाणिज्य सङ्घ र कृषकहरूको प्रयासमा भारतीय भन्सारमा सूचिकृत गराइएपछि निर्यात हुन थालेको हो । हिजोआज बन्दा कोपी ६ हजार मेट्रिक टन सम्म निर्यात हुने गरेको छ ।
भट्टराईका अनुसार बन्दा कोपी कुहिन थालेकोले सङ्कटकालीन अवस्थामा सूचीकरणको प्रयास भएको थियो । सुन्तलाको अवस्था त्यस्तो छैन । धेरै मूल्य नपाए पनि पूर्वी पहाडका सुन्तला पूर्वकै बजारमा खपत हुँदै आएको छ । बजारको अभाव अहिले सम्म भएको छैन । त्यसैले सुन्तला निर्यातका विषयमा नेपाल सरकार तथा कृषक, व्यवसायीले चासो राखेको पाइन्न ।
दश वर्ष अघि तिर भने पूर्वको सुन्तला बांगलादेश निर्यात हुने गरेको थियो । नेपाल-बङ्गलादेश व्यापार सम्झौता अनुसार फूलबारी नाकालाई अधिकतम उपयोग गर्ने नीति बनेपछि उक्त नाकाबाट बङ्गलादेश जाने बस्तुहरूमा सुन्तला प्रमुख थियो । उक्त नाकाको प्रयोगमा भारतीय भन्सारले झन्झट लगाउने गरेपछि व्यवसायीहरू निरुत्साहित भएकाले सुन्तला बांगलादेश जान पनि बन्द भएको हो ।
सुन्तला निर्यात हुनसके उर्वर भूमि पूर्वका पहाडी जिल्लाहरूमा सुन्तला खेती थप प्रोत्साहित हुने थियो । परम्परागत सुन्तला खेतीको उत्पादन परिमाणले नेपाली बजार धानी रहेको अवस्थामा निर्यातमुखी सुन्तला खेती भएमा त्यसले कृषिमा ठुलो परिवर्तन ल्याउने सम्भावना छ । धरान कृषि बजारको तथ्याङ्क अनुसार यसपालिको सिजन सुरु भए देखी पुष १५ सम्म ३ हजार मेट्रिक टन सुन्तला आएको छ ।
यसपालि राम्रो फलेकाले सिजन भरीमा ६ हजार मेट्रिक टन सुन्तला कृषि बजारमा आउने अनुमान गरिएको छ । गत वर्ष कृषि बजारमा ५ हजार ६ सय मेट्रिक टन सुन्तलाको कारोबार भएको व्यवस्थापक भट्टराईले बताए । कृषि बजारमा प्रदेश १ को धनकुटा, तेह्रथुम, सङ्खुवासभा, भोजपुर, पाँचथर, खोटाङ र ताप्लेजुङबाट समेत सुन्तला आउने गरेको छ ।
धरानमा कारोबार हुने सुन्तलाको बजार सुनसरी, मोरङ, झापा, सप्तरी, सिराहा जनकपुरका शहरी तथा ग्रामीण बजारहरूमा आपूर्ति हुने गरेको छ । सुन्तलाको बजार रहेको जिल्लाहरू भारतीय सिमाना सँग जोडिएकाले भारतीय बजारमा निर्बाध जान पाए सुन्तलाले प्रचलित भन्दा बढी मूल्य पाउने थियो । त्यसको प्रत्यक्ष लाभ सुन्तला कृषकले पुग्ने निश्चित छ ।
पछिल्लो समय सुन्तलाको बढी मूल्य पाउन कृषकहरूले शीत भण्डारमा राख्न पनि सुरु गरेका छन् । तेह्रथुमको म्याङ्लुङ नगरपालिका-९ साब्लामा स्थापना गरिएको मेयङलुङ शीत भण्डारीले यसपालि देखी कृषकको सुन्तला राख्न सुविधा उपलब्ध गराएको छ । धरान कृषि बजारमा पनि शीत भण्डारको सुविधा उपलब्ध छ । तर धेरै समय शीत भण्डारमा सुन्तला नटिक्ने अनुभवका कारण कृषकहरू उत्साहित नदेखिएको व्यवस्थापक भट्टराईले बताए ।
सुन्तलाको भाउ यसपालि पोहोरको भन्दा १५ प्रतिशतले उच्च कायम भएको छ । कृषि बजारले जनाए अनुसार यसपालि ग्रेडिङ अनुसार थोक भाउ ए ग्रेडको सुन्तला प्रति केजी ११५ रुपैयाँ, बी ग्रेडको ८० रुपैयाँ र सी ग्रेडको ३० देखी ४० रुपैयाँमा कारोबार भइरहेको छ । गत वर्ष उक्त थोक भाउ क्रमशः १ सय रुपैयाँ, ८० रुपैयाँ र २५ देखी ३० रुपैयाँ थियो ।
धरान बजारमा खुदरा सुन्तला प्रति केजी १ सय ६० रुपैयाँ देखी ८० रुपैयाँमा विक्री वितरण भइरहेको पाइन्छ । प्रति केजी ४० रुपैयाँ सम्म मुनाफा राखेर खुदरा विक्री हुने गरेकाले सुन्तलाको मुख्य बजार धरान भन्दा बाहिरका बजारमा सुन्तला सस्तो पाइने उपभोक्ताहरू बताउँछन् । त्यति नाफा नराखे ढुवानी, मिहिनेतको रोजगारी नबस्ने खुदरा विक्रेताहरू बताउँछन् ।