धरान : धरानको भानुचौकमा अत्यधिक भिड हुन थालेपछि धरान उपमहानगरपालिकाले भानुचौकको बसपार्क व्यवस्थापन गर्ने निर्णय गरेको आज नौ दिन पुगेको छ । तर धरानको भानुचौक व्यवस्थित हुनु त काहा हो काहा उस्तै लथालिङ्ग अवस्था अझै कायमै छ ।

धरानको भानुचौकबाट छुट्ने बसहरूको मार्क गर्ने तथा भानुचौकबाट हिँडेका बसहरू दक्षिणमा राम मन्दिरभन्दा अगाडी रोक्न नपाउने निर्णय गरेको छ भने उत्तरमा छाताचोक स्थित पुरानो अस्पतालभन्दा अगाडी रोक्न नपाउने निर्णय गरेको थियो ।

तर अहिले भानुचौक उत्तिकै अव्यवस्थित छ । धरान उपमहानगरपालिकाले निर्णय मात्रै गर्‍यो नौ दिन बित्दा सम्म कार्यान्वयन देख्न पाइएन भानुचौकमा भेटिएका दिनेश तामाङले बताए ।

धरानको भानुचौकमा सभा सम्मेलन र विभिन्न साङ्गीतिक कार्यक्रमहरू हुने भएकाले सवारी साधन सञ्चालनमा समस्या हुनुको साथै दुर्घटनाको जोखिम भएको भन्दै यातायात व्यावसायीहरुले धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई ज्ञापन पत्र नै बुझाए ।

ज्ञापन पत्र बुझाएको केही घण्टामा धरानको भानुचौकलाई व्यवस्थित बनाउने निर्णय धरान उपमहानगरपालिकाले गर्‍यो । यो निर्णयबाट भानुचौकको ट्राफिक जाम जस्ता समस्या हट्ने विश्वास गरिएको थियो । तर समस्या ज्युका त्युनै अहिले सम्म रहेको छ ।

Bhanuchok-1

भानुचौकलाई व्यवस्थित गर्ने निर्णय नौ दिन सम्म किन कार्यान्वयनमा आएन ?
धरानको भानुचौक धरानका अरू चौकहरूको तुलनामा मुख्य र अति व्यस्त हुने चौक हो ।

यसलाई व्यवस्थापन गर्ने र भानुचौकको भिडभाडलाई नियन्त्रण गर्न भनिए पनि अहिले सम्म कार्यान्वयनमा नआउनुको कारण भानुचौक क्षेत्रलाई मार्क गर्ने रोड मार्किङ गर्ने रङ्ग नपाउनुले ढिलो भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक भुवनबाबु खडका बताउँछन् । तर अरू ट्राफिक व्यवस्थापन सम्बन्धी काम भने भइरहेको उनले बताए ।

भानुचौक देखि बस छुटेपछि छाताचौकको पुरानो अस्पताल भन्दा माथि मात्रै रोक्न पाउने भनिएकोमा अहिले पनि घण्टाघर अघि रोकिएको देख्न पाइन्छ । यसबारेमा निर्णयलाई कार्यान्वयन गर्न मुख्य कुरा बसपार्क क्षेत्रमा मार्किङ गर्ने रंगनै मुख्य कारण रहेको नेपाल यातायात व्यवसायी महासङ्घ प्रदेश १ का अध्यक्ष सरोज श्रेष्ठ बताउँछन् ।

Bhanuchok-2

अरू नर्मल रङ्गले मार्किङ नहुने र रोड मार्किङ नै चाहिने भएकोले बिहीबार सम्ममा धरानको भानुचौक क्षेत्रलाई व्यवस्थित गर्न मार्क गरिसक्ने श्रेष्ठले बताए ।

धरानको भानुचौकको अव्यवस्थित भिडभाडलाई नियन्त्रण गर्नका लागि धरान उपमहानगरपालिकाले व्यवस्थित गर्ने निर्णय गरेको नौ दिन बित्दा पनि व्यवस्थापन गर्न नसक्नुको मुख्य कारण रंगनै भएको धरान उपमहानगरका अनुगमन अधिकृत वेदप्रसाद सापकोट बताउँछन् ।

रङ्ग नपाएर मार्किङको कार्य रोकिएको भए पनि भानुचौक क्षेत्रलाई व्यवस्थित बनाउन ट्राफिक सङ्केत बोर्ड, रोक्न निषेध भन्ने बोर्डहरू बन्दै गरेको र भानुचौकको दुई वटा डिजिटल सूचना बोर्डमा सूचना पनि जारी गर्ने उनले बताए ।

भानुचौकको भिडलाई व्यवस्थित बनाउन धरानमा वान वे सिस्टम लागु गर्ने तयारी भइरहेको बताउँदै अधिकृत सापकोटाले भने, भानुचौक देखि लक्ष्मीचौक र लक्ष्मीचौक देखि माछाभौडी, देशीलाईन हुँदै भानुचौक सम्म वानवेको तयारी भएको छ ।

धरान उपमहानगरपालिकाले निर्णय गरेर पनि नौ दिन बितिसक्दा पनि भानुचौक लथालिङ्ग अवस्थामा रहदाँ निर्णय निर्णयमा मात्रै सीमित रहयोकी भन्ने आशङ्का उब्जिनु स्वाभाविक हो । तर यस्ता निर्णयहरूको अत्यन्तै चुस्त र दुरुस्त गतिमा कार्यान्वयन तुरुन्त गर्नुपर्छ । यदि यसो भयो भने मात्रै गरिएको निर्णयले सार्थकता पाउनेछ ।

Bhanuchok