टुटे देउराली : वसन्तपुरको चो?लुङ पार्कमा बुधवार मध्यान्ह महिला सुरक्षाकर्मी आगन्तुकहरूलाई कराउँदै थिइन् ‘त्यो बोट नहल्लाउनोस् ।’ त्यहाँ ससाना कलमी बोटमा फुलेका गुराँसको फुल आगन्तुकहरूबाट जोगाउन उनी विशेष रूपमा खटिएकी थिइन् ।
पार्कमा गुराँसका धेरै प्रजातिका कलमी बोटहरू भएपनि यसपालि केही बोटमा मात्र गुराँस फुलेका थिए । गुराँसको राजधानी तिनजुरे तिर यसपालि गुराँस फाटफुट बाहेक राताम्यै फुलेन ।
टुटे देउराली मास्तिर तिनजुरेको जङ्गलै गुराँसको जङ्गल हो । गुराँसको मनमोहक दृश्य हेर्न आउने आन्तरिक पर्यटकहरू निराश थिए । जङ्गलमा गुराँस फुलेको नदेखिएपछि आगन्तुकहरू गुराँस हेर्न चो?लुङ पार्क तिर झरिरहेका थिए ।
पार्कका केही बोटहरूमा झ्याम्मे फुलेको मनमोहक गुराँसमा फोटो खिच्नेहरूले बोटै समातेर हल्लाउने गरेकाले गुराँस जोगाउन खटिएका हुन् । उनी भन्दै थिइन् ‘यसपालि यहाँ पनि गुराँस फुलेन, फुलेका बोटहरू जोगाउन गाह्रो भयो ।’
गुराँस हेर्नकै लागि हामी परिवार सहित तिनजुरे तिर गएका थियौँ । टुटे देउराली मास्तिर रक गार्डेनको जंगलमा पनि कतै गुराँस फुलेको देखिएन । गुराँस फुल्ने याम चैत वैशाख हो । त्यहाँ झापाको गौरादहबाट पिकनिक खान समेत आएको टोली गुराँस नफुलेको पाउँदा निराश थिए ।
टोलीकी अगुवा महिला पार्क प्रवेश गर्दैगर्दा भन्दै थिइन् ‘गुराँस हेर्नकै लागि टाढाबाट आयौंं, बढो नरमाइलो पो भो ।’ पार्कको जङ्गलका कुनै कुनै बोटहरूमा फाट्टफुट्ट गुराँस फुलेको देखिन्थे । मानौँ त्यसले भनिरहेको छ ‘गुराँस फुल्ने बेला अहिले नै हो ।’
मुलगेटमा टिकट काट्न बसेकी महिलाले भनिन् ‘खै यसपालि वैशाख तिर आउनु भो भने फुलेको पाउनु हुने हो कि ?’ स्थानिय रैथानेहरूलाई पनि गुराँस नफुल्दा बढो नरमाइलो लाग्दो रहेछ भन्ने अनुभूति उनले हामीलाई गराइन् ।
रक गार्डेन जंगलमा गुराँस फुलेको नदेखिएपछि हाम्रा गाडिका ‘गुरु जी’ले भने ‘तिनजुरे जाने बाटोका जंगलमा हेरौँ न ।’ ताप्लेजुङ जाने नयाँ बाटो बन्दै गरेको उबड खाबड उकालो सडकको उत्तर, दक्षिण जंगलमा फाट्टफुट्ट बोटहरूमा झ्याम्मै गुराँस देखिए ।
तर, पहिले जस्तो जङ्गलै गुराँसले राताम्यै देखिएन । पुराना वृद्ध रुखमा गुराँस फुलेको देखिएन । फुलेका केही गुराँसका रुखहरू नयाँ बोट जस्ता देखिए । एकै लहरमा गुराँस फुुलेका थिएनन् । कुनै सडकको छेउ, कुनै टाढा जङ्गलका बिच गुराँस फुलेको देखिनु पनि नयाँ रमाइलो दृश्य लाग्दथ्यो ।
जलवायु परिवर्तनको बढ्दो प्रभावको कारण यस्तो भएको हो कि ? भन्ने बारेमा भने कसैले चिन्ता गरेको पाइएन । उनीहरू आँप, लिची फलफूलहरू पनि कुनै साल फल्ने कुनै साल नफल्ने गरेको उदाहरण दिइरहेको पाइए ।
चो?लुङ पार्ककी महिला सुरक्षाकर्मीले भने जलवायु परिवर्तनको मिल्दोजुल्दो अनुभव बताइन् । यसपालि याम अनुसार वर्षा भएन । त्यसलै गुराँस पनि फुलेन । माघमा हुनुपर्ने वर्षा चैतमा भयो । तिनजुरै तिर धनकुटा जोरपाटीबाट पुगेका महिलाहरू भन्दै थिए ‘मलमास (अधिकमास)को कारण गुराँस नफुलेको हो ।’
तिनजुरे, मिल्के जलजले गुराँस पर्यटनको लागि प्रसिद्ध छ । अहिलेकै सिजनमा त्यहाँ फुल्ने गुराँसको रमणीय दृश्यावलोकन गर्न हजारौँ पर्यटकहरू पुग्छ । गुराँस फुलेको दृश्य, पर्यटकहरूका भिड ठुला मिडियामा मुख्य समाचार समेत बन्ने गर्दै आएको छ ।
यसपालि भने गुराँस फुलेन । आन्तरिक तथा बाह्य पर्यटकहरूको भिड देखिन्न । बेला यही हो भने घुम्न पुग्नेहरू पनि निराश भएर फकिने गरेका छन् । ठुला मिडियामा गुराँस किन फुलेन ? भनेर समाचार आएको कतै देखिन्न ।
chotlung-parak-guranstinjure-gurans-2gurans-2