झापा : दमक-३ मा फोहोरबाट ग्यास उत्पादन गर्न जडान गरिएपछि ग्यास प्लान्टबाट उत्पादन भएको ग्यास प्रयोगमा नआएपछि बालेर खेर फालिँदै आइएको छ । 
सरकार र विश्व बैङ्कको २०-२० प्रतिशत अनुदानमा कुल साढे २० करोड लागतमा फोहोरबाट बायो ग्यास उत्पादन थालियो । तर, न पाइपलाइन विस्तार गरियो न त सिलिन्डरमा ग्यास भरेर बिक्री गर्ने सम्झौता कार्यान्वयन भयो । दैनिक ६०० केजी ग्यास र १० हजार केजी प्राङ्गारिक मल खेर गइरहेको छ । 
झापाको दमकमा साढे २० करोड लागतको परियोजना सञ्चालनमा ल्याएर फोहोरबाट दैनिक ६ सय किलोग्राम बायो ग्यास उत्पादन थालिएको साढे ७ सात महिना बित्यो । तर, पाइपलाइन विस्तार नगर्दा झन्डै एक हजार दुई सय परिवारलाई खाना पकाउन सकिने ग्यास बालेर खेर फाल्नुपर्ने बाध्यता छ ।
परियोजना सञ्चालन गरिरहेको नेक्स्टइरा ईनर्जी प्रालिले ७० कर्मचारीलाई त्यही ग्यासबाट खाना पकाएर खुवाइरहे पनि बाँकी ग्यास भने त्यतिकै बालेर छाडिदिन्छ । ग्यासलाई त्यतिकै फालेमा वातावरणमा असर गरिरहेको छ । यहाँबाट गत भदौदेखि ग्यास उत्पादन सुरु भएको नेक्स्ट ईरा ईनर्जी प्रा।लीका प्रबन्ध निर्देशक विमल खतिवडाले जानकारी दिए । 
४१ टन फोहोरबाट दैनिक एक हजार ८४ केजी ग्यास उत्पादन हुने भएपनि ग्यास प्रयोगमा नआएपछि प्लान्टमा फोहोर नै कम हाल्ने गरिएको छ ।
अहिले पनि दैनिक ६ सय केजी ग्यास खेर गइरहेको छ । ग्यास मात्र होइन दैनिक १० हजार किलोग्राम प्राङ्गारिक मल पनि खेर गइरहेको छ । कम्पनीले दमकस्थित हम्सेदुम्से वन क्षेत्रमा दमक नगरपालिकाले उपलब्ध गराएको तीन बिघा क्षेत्रफलमा ग्यास प्लान्ट निर्माण गरेको हो ।
damak-gadi-phohorसिलिन्डरमा ग्यास भरेर बेच्ने सम्झौता कार्यान्वयन भएन
अहिले दमकको फोहोरलाई व्यवस्थापन गरी यो स्थानमा ल्याएर फोहोरबाट मोहर बनाउने काम भइरहेको देख्दा देशका विभिन्न स्थानबाट यो स्थान हेर्नको निम्ति आउनेहरूको संख्यापनि बढ्दै गइरहेको छ ।
यसले दमकलाई अन्यत्र पनि चिनाउने काम मात्रै गरेको छैन यहाँबाट सिकेर अन्यत्र पनि यस्तै तवरले काम गर्ने हो भने पक्कै पनि बर्षौदेखीको फोहोर व्यवस्थापनका लागि दुखेका टाउकाहरू बिसेक हुने देखिन्छ । 
हुन त परियोजनामा उल्लेख भए अनुसार यहाँबाट ग्यास पाइपलाइन मार्फत घरघरमा जोडिने भनिएको छ । तर, त्यो अहिले तत्कालै सम्भव नभए पनि सिलिन्डर मार्फत भरेर उपभोक्तामाझ पुर्‍याउन भने सकिने स्थिति देखिन्छ ।
यद्यपि ग्यास सिलिन्डरमा भरेर बेच्ने सम्झौता भए पनि महँगो हुने भएकाले नसकिएको नेक्स्ट इरा इनर्जी प्रालिका प्रबन्ध निर्देशक विमल खतिवडाको भनाइ छ । 
२० वर्षका लागि सञ्चालन गर्ने जिम्मा लिएको कम्पनीले सिलिन्डरमा ग्यास बेच्दा प्रतिफल नआउने जनाएको छ । अहिले दमक नगरपालिकाले फोहोर व्यवस्थापन बापत नेक्स्ट इरा इनर्जी प्रालि र रोहन ट्रेडर्स जेभीलाई मासिक १० लाख उपलब्ध गराउँदै छ ।
कम्पनीले दमकवासीबाट झण्डै मासिक पाँच लाख रुपैयाँ सङ्कलन गर्छ । आयस्रोत यति नै हो । यसले अफिस र स्टाफ खर्च पनि नपुगेको प्रबन्ध निर्देशक खतिवडाले बताएका छन् ।
अहिले आफूहरू घाटामा रहेको र बैङ्कको ब्याज तिर्न नसकिरहेको अवस्था रहेको खतिवडाले बताएका छन् । हामीले कसरी पाइपलाइन विस्तार वा सिलिन्डरमा भरेर बिक्री गर्न सक्छौँ रु’ भनेर उनले प्रतिप्रश्न पनि गरेका छन् ।