इटहरी : सुनसरीको दुहवीकी सावित्रादेवी चौधरीले जुट झल्ला उत्पादन गरेको ७ वर्ष भयो । छोरीको विवाहमा देहज दिन देखी मृत्यु संस्कारमा प्रयोग हुने जुट झल्ला (जुटको बिछ्यौना) को राम्रै कारोबार गर्छिन् उनी । विगतमा विभिन्न संस्था मार्फत विदेश पनि निर्यात गर्ने गरेको सुनाउने उनी अहिले बजारको खोजीमा छिन् ।

नेपालमा मात्र विक्री हुन थालेपछि उत्पादनको जाँगर कम बन्दै गएको उनी सुनाउँछिन् । बाहिर पुर्‍याउन सहयोग गर्नुपर्‍यो भन्ने उनको आग्रह छ ।

इटहरीमा चौधरी फाउन्डेसनले विश्व बैङ्क सँगको सहकार्यमा सम्भावना भएका उत्पादनशील क्षेत्रको छनौट गर्न एक कार्यशाला आयोजना गर्र्‍यो । सम्भावना बोकेका उद्यमीको छनौट गर्ने उद्देश्य सहित आयोजित कार्यशालामा सावित्रा सहित ५० बढी उद्यमीले सहभागिता जनाए ।

त्यसै मध्ये धरानबाट अकबरे लोकल खोर्सानी र लसुनको अचार विदेश निर्यात गर्ने गरेको अनुभव सुनाउँछीन स्थानीय उद्यमी महिला । आफूले उत्पादन गरेको सामान सिक्किम, हङकंङ र बेलायतसम्म जाने गरेको उनले बताइन् । विदेशबाट आउनेले लैजाने गरे पनि नेपालमा प्रचार गर्न नसकेको उनले गुनासो गरिन् ।

बजारकै समस्या सुनाइन् रामधुनी-९ कि सुशीला अधिकारीले पनि । उत्पादन गरेर मात्र नहुने भन्दै बजारमा पुर्‍याउनै नसकेको बताइन् । तालिम र उत्पादन भएर मात्र केही नहुने उनको बुझाई छ ।

दुहवीकी आशा चौधरी फेसन डिजाइनको काम गर्छिन् । थारु संस्कृतिको पहिरनमा बुटिक भरेर राम्रो आम्दानी हुने गरेको उनले सुनाइन् । ५ जनालाई रोजगारी दिएकी उनले उत्कृष्ट उद्यमी अवार्ड समेत पाएकी छिन् । तर लगानी बढाउन नसक्दा उनलाई समस्या हुँदै गएको छ ।

बैङ्कको झन्झटिलो प्रक्रिया र विना धितो ऋण नपाउने भएपछि लघुवित्तमा पुगिन् उनी । फरवार्ड लघुवित्तबाट २ लाख ऋण लिएकी उनले ३ लाख भुक्तानी गर्नुपरेको सुनाइन् । कोसी गाउँपालिकाका बुद्धिलाल सरदार पटेरको सामाग्री तयार पार्छन् ।

byaj ra bazzar

घरमै उद्योग खोलेका उनले गाउँका अन्य उद्योगीले उत्पादन गरेको सामग्री समेत खरिद गर्छन् । जसले गर्दा पटेर उद्योग फस्टाउँदै गएको छ । सिमसार क्षेत्रमा पाउने पटेरबाट बनेका बिछ्यौना देखी घरेलु सामग्रीहरू विदेश सम्म पुर्‍याउछन् उनी ।

तर व्यापार अझै बढाउने सोचमा रहेका उनलाई सहरकारी र बैङ्कको ब्याजदरले हतोस्साहीत गरेको छ । समयमै कर्जा नतिर्दा हुने दुःख र हरेक वर्ष बढ्ने ब्याजले समस्या बनाएको उनले बताए ।

आशा चौधरी जस्तै फेसन डिजानईनमा काम गर्छिन् सुस्मिता माझी । तर उनलाई बजारको भने कुनै समस्या छैन । टिकटक मार्फत प्रचार गर्ने गरेकी उनले अनलाइन व्यापारलाई प्राथमिकता दिएकी छिन् । टिकटकको भिडियो हेरेर आउने माग धान्न समेत धौधौ परेको उनले बताइन् ।

स्थानीय उद्योगीको विषयमा चौधरी फाउन्डेसनले नयाँ कार्यक्रम ल्याउने भएको छ । विश्व बैङ्कको सहयोगमा स्थानीय उद्यमीको बजार प्रवर्द्धनमा फाउन्डेसनले सहयोग गर्ने भएको हो ।