विराटनगर : विराटनगर महानगरपालिकाले डेंगु सङ्क्रमणको सम्भावित खतरालाई नियन्त्रण तथा रोकथाम गर्न तयारी थालेको छ । धरान सहित विभिन्न सहरमा डेंगु बिरामी फैलिएकाले महानगरपालिकाले पूर्व सतर्कता अपनाएको हो ।

डेंगु रोकथाम र नियन्त्रणका उपायका बारेमा बिहिबार महानगरपालिकाले सफाइ शाखाका कर्मचारीहरूलाई अभिमुखीकरण गराएको छ । यसअघि जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी, सङ्घसंस्थाका अगुवाहरूलाई राखेर अभिमुखीकरण गराएको थियो ।

सफाइ कर्मचारीहरूलाई डेंगु रोगको स्रोत, रोकथाम र नियन्त्रणका उपायका विषयमा स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी गराए । सरफाई गर्ने क्रममा टायर, बाल्टिन, ड्रम लगायतमा पानी जमेको पाइए तत्काल हटाउनुपर्ने कामलाई प्राथमिकतामा राख्न उनले जोड दिए ।

डेंगु नियन्त्रण औषधि छर्केर भन्दा घरभित्र र घर वरिपरि पानी जम्न नदिएर नियन्त्रण गर्न सकिने उनको भनाइ थियो । फ्रिज, कुलर, गमला, टायर लगायतमा लामो समयदेखि जमेको पानीमा डेंगु सार्ने लामखुट्टे उत्पादन हुने भएकाले सरसफाइबाटै डेंगु नियन्त्रण र रोकथाम गर्न सकिने हैदरले स्पष्ट गरे ।

अभिमुखीकरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले आफ्नो घर वरिपरि मात्रै सफा गरेर डेंगुको सङ्क्रमणबाट बच्न नसकिने बताए । छर छिमेकीको घरमा पानी जमेको पाइएमा त्यसैबाट लामखुट्टेले डेंगु फैलाउने उनले बताए ।

शुक्रवार महानगरले १९ वटै वडामा बिहान ७ देखि ९ बजेसम्म डेंगु सार्ने लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गर्ने भएको छ ।  अभियानमा सहभागी हुन सरसफाइ कर्मचारीहरूलाई निर्देशन दिइएको छ ।

सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, मेयरका स्वकीय सचिव डिकप्रसाद घिमिरे, उपमेयरका स्वकीय सचिव निश्चल मायालु, सफाइ शाखाका किरण न्यौपाने लगायत सहभागी थिए ।

यसअघि बिहीबार कार्यवाहक मेयर शिल्पा निराला कार्कीको उपस्थितिमा सबै वडाका जनप्रतिनिधि, वडा सचिव, स्वास्थ्यकर्मी लगायतका लागि महानगरपालिकाले एक दिने अभिमुखीकरण सञ्चालन गरेको थियो ।