धरान : संयुक्त ट्रेड युनियन सङ्घर्ष समितिले धरान घण्टाघरमा तालाबन्दी गरेपछि मेयर हर्क साम्पाङ निष्कासित कर्मचारीद्वय नरबहादुर लिम्बु 'राजा'र प्रकाश राईलाई पुनर्बहाली सहमत भएका छन् ।

मेयर साम्पाङले सोमबार दोस्रो चरणको वार्तामा मजदुरहरू सँग पुर्नवहाली गर्ने लिखित सहमति गरेपछि घण्टाघरको तालाबन्दी खोलिएको छ । वार्तामा उपस्थित वडा २ का अध्यक्ष रमेश राईले कार्यपालिका बैठकमा पुनर्बहालीको प्रस्ताव गर्ने र कार्यपालिकाको निर्णय अनुसार पुनर्बहाली गर्ने लिखित सहमति भएको हो ।

श्रमिकद्वयलाई थप एक वर्षका लागि सेवा अवधि थप्ने र श्रमिकलाई बिदाइ गर्दा उनीहरूलाई उपदान स्वरूप चित्तबुझ्दो एक एकमुस्ट रकम प्रदान गरिने प्रस्ताव कार्यपालिकाले पारित गर्ने भएकाले तालाबन्दी खोलिएको मजदुर नेता लीला प्रधानले बताए । उनले भने ‘सहमति कार्यान्वयन नभए मजदुरहरू पुनः आन्दोलनमा उत्रिने छ ।’

सङ्घर्ष समिति संयोजक शमशेर बर्देवाले मेयर हर्क साम्पाङ र सङ्घर्ष समितिबिच लिखित सहमति भएकाले लिखित सहमति कार्यान्वयन हुने विश्वास गरिएको छ ।

यसैबिच हिजो आइतबार सङ्घर्ष समितिसँग छलफलको क्रममा मेयर साम्पाङले घण्टाघरको स्थापना, सञ्चालन र हस्तान्तरणका बारेमा भ्रामक कुरा बताएको आरोप लगाउँदै पूर्व मेयर मनोज कुमार मेन्याङ्बो आपत्ति जनाएका छन् ।

उनले सामाजिक सञ्जालमा ‘यो कस्तो विडम्बना हो ?’ शीर्षकै राखेर मेयर साम्पाङले धरानको इतिहास, घण्टाघर सञ्चालन पद्धति, प्रक्रियाको बारेमा स्मरण गराउँदै हस्तान्तरण गर्दा बुझाएको २७ लाख रुपया बारेमा पनि उल्लेख गरेका छन् ।

पूर्व मेयर मेन्याङ्बोले लेखेका छन् 'नगरको मेयरले कम्तीमा नगरको इतिहास त जानकारीमा राख्नु पर्‍यो । आज हाम्रो मेयरको एउटा अभिव्यक्ति सुनेर चुप बस्न सकिन । धरान घण्टाघर अहिले सम्म व्यक्तिले चलाएको थियो रे, उनले नगरपालिकाको स्वामित्वमा ल्यायो रे ?

घण्टाघर हस्तान्तरण गर्दा व्यवस्थापन समितिले नगरपालिका लाई हस्तान्तरण गरेको रु २७,००,००० (रकम सत्ताइस लाख) रुपैयाँ नगरपालिका लाई प्राप्त भएको छैन रे ? बैङ्कमा फिक्स डिपोजिटमा छ रे ? यस्ता अनर्गल कुरा मेयर जस्तो गरिमामय पदमा बस्ने अधिकारीले बोल्न मिल्छ ?

यस्तो अभिव्यक्ति दिने मेयरको की मानसिक अवस्था ठिक नहुन सक्छ, कि पूर्वाग्रही भएर बोल्दै हुनुहुन्छ, कि त नगरपालिकाको जिम्मेवार कर्मचारीसँग यस विषयमा जानकारी लिन भ्याउनु भएको छैन ।

नगरको मेयर लाई एति कुरा त थाहा हुनै पर्छ, धरान घण्टाघर मेरै ‘भिजन’मा धरान हङकङ मञ्च र धरानको स्थानीय जनताको आर्थिक सहयोगमा २०५७ सालमा शिलान्यास गरी छ वर्षको अथक प्रयासमा मेरै सक्रियतामा घण्टाघर निर्माण समितिको संयोजक भएर निर्माण भएको थियो ।

सो घण्टाघरको समुद्घाटन २०६२ साल पुष २२ गते बृहत् रूपमा धरान महोत्सव २०६२ को आयोजना गरी सम्पूर्ण दाताहरू र नगरवासीको रोहबरमा वीर पुरुष ‘भिक्टोरिया क्रस’ विजेता रामबहादुर बेघा लिम्बु ज्यूको बाहुलीबाट समुद्घाटन गरेर नवनिर्मित घण्टाघर, भूकम्प स्मारक, अधुरो गणेश मन्दिर र सुन्दर बगैँचा, सुन्दर प्रवेशद्वार र बाउण्ड्री वाल सहित जनताको नासो तत्कालीन धरान नगरपालिकालाई घण्टाघर निर्माण समितिले हस्तान्तरण गरिएको कुरा नगरको मेयरलाई जानकारी हुनुपर्ने हो । जानकारी नभएपनी कर्मचारीबाट जानकारी लिनु पर्ने हो ।

तत्कालीन नगर पालिका बोर्डको निर्णय अनुसार त्यसको रेखदेख र संरक्षण पनि घण्टाघर निर्माण समितिले नै गरे उपयुक्त हुने भनेर घण्टाघर व्यवस्थापन समिति गठन गरी रेखदेख र व्यवस्थापन गर्ने जिम्मेवारी मेरो संयोजकत्वको समिति लाई दिइएको हो । यो समिति कुनै व्यक्तिको इच्छामा बनेको नभई नगरपालिकाकै निर्णय अनुसार, नगरपालिकाकै मातहतमा रहरे गरी बनेको हो । यो कुनै स्वतन्त्र समिति होइन थिएन ।

यति कुराको पनि जानकारी राख्न नसक्ने, निर्मातालाई नै अनर्गल आरोप लगाउने मेयर कस्तो ? घण्टाघरको निर्माण गरिदिएर निस्वार्थ ढङ्गले एक पैसाको दुरुपयोग नगरी अठार अठार वर्ष सम्म त्यसको व्यवस्थापन गर्ने व्यक्ति र समितिमा रहेर काम गरिदिएर निस्वार्थ सेवा गरेबापत धन्यवाद दिनु त कता हो कता यस्तो अनर्गल कुरा गरेर हिँड्ने मेयर लाई खै म के भनौँ ?

मेयरलाई म चुनौती दिन चाहन्छु । आफूले हस्तान्तरण गरी लिएको घण्टाघरको व्यवस्थापन समितिले भन्दा उत्तम व्यवस्थापन गरेर देखाउनुहोस् । अनि तपाइलाई यो पनि चुनौती छ, व्यवस्थापन समिति मैले व्यक्तिगत रूपमा सञ्चालन गरेर कति रकम दुरुपयोग गरेको रहेछु ?

छानबिन गर्नुहोस् र सार्वजनिक गर्नुहोस् । प्रत्येक वर्षको अडिट रिपोर्ट नगरपालिका लाई उपलब्ध गराइएको छ । अन्यथा यस्ता बेतुकका कुराहरू नगरपित जस्तो गरिमामय पदमा बसेको मान्छेबाट पटक पटक सुन्न नपरोस् धन्यवाद ।