धरान : मेयर हर्क साम्पाङको ठाडो आदेशमा धरान घण्टाघरका खालि हात निष्कासित दुई जना मजदुरलाई पुनर्बहाली गर्नुपर्ने माग गर्दै संयुक्त ट्रेड युनियन सङ्घर्ष समितिले धरान घण्टाघरको मुलगेटमा आइतबार तालाबन्दी गरेको छ ।

निष्कासित मजदुरद्वय नर बहादुर लिम्बु राजा र प्रकाश लिम्बुले न्याय नपाएसम्म तालाबन्दी जारी रहने सङ्घर्ष समितिले जनाएको छ ।

सङ्घर्ष समितिका मजदुरहरू आज बिहान तालाबन्दी गर्न जाँदा घण्टाघर मुलगेटमा नगर प्रहरी तैनाथ थिए । उनीहरूले हस्तक्षेप गरेपछि आन्दोलनकारी र नगर प्रहरी बिच घचेटा घचेट भएको थियो । अन्ततः मजदुर पक्षले मुलगेटमा तालाबन्दी गरी छाडे ।

आन्दोलित मजदुरहरूको पूर्वनिर्धारित शनिवार घण्टाघरमा ताला लगाउने कार्यक्रम धरानमा कर्फ्यु आदेश जारी भएकोले रोकिएको थियो । एकदिन रोकिएको तालाबन्दी आज आइतबार गरिएको सङ्घर्ष समितिका संयोजक समशेर वर्देवाले बताए ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले १७ वर्ष देखि कार्यरत कर्मचारीहरू नर बहादुर लिम्बु राजा र प्रकाश लिम्बु दुवैलाई उमेरहद म्यादको निहुँमा खाली हात कामबाट निष्कासित गरेको हो । त्यसको विरोधमा उनीहरूको न्यायका लागि संयुक्त ट्रेड युनियन सङ्घर्ष समितिले शुक्रवार घण्टाघर परिसरमा पत्रकार सम्मेलन गर्दे चरणबद्ध आन्दोलनको घोषण गरेको थियो ।

सङ्घर्ष समितिले ‘घण्टाघरका कामदारलाई तुरुन्त पुनर्बहाली गर’, मजदुर मारा मेयर मुर्दावाद, स्थानीय सरकार प्रमुख भएर मजदुर मार्न पाइँदैन, श्रमको सम्मान गर्दे पुन स्थापित गर, श्रम शोषण मुर्दावाद ,श्रमिकको श्रमलाई सम्मान गर भन्दै नारा लगाएका थिए ।

सङ्घर्ष समितिले आन्दोलनको कार्यक्रम अन्तर्गत भोली सोमबार धरानमा रहेका सम्पूर्ण यातायातका सवारी साधनहरू १० बजे देखि ११ बजेसम्म १ घण्टा बन्द गर्ने निर्णय सार्वजनिक गरेको छ ।

मेयर साम्पाङले आन्दोलनकारीको मागलाई सम्बोधन नगरे अझ सशक्त आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने मजदुर नेता लीला बहादुर प्रधानले बताए । उनले भने ‘मेयर साम्पाङले मजदुरको रोजी रोटी बन्द गरी पेटमा लात हानेर आफन्तलाई नियुक्ति गरेका छन् ।’

ghantaghar talabandi 3

ghantaghar talabandi 2