धरान : अन्यायपूर्वक निष्कासित दुई जना मजदुरलाई पुनर्बहाली माग गर्दै आज आइतबार बिहान घण्टाघर मुलगेटमा तालाबन्दी गरिएपछि मेयर हर्क साम्पाङले दिउँसो सङ्घर्ष समितिलाई वार्तामा बोलाए पनि बिना निष्कर्ष वार्ता स्थगित भएको छ ।

मेयर साम्पाङले निष्कासित मजदुरका बारेमा भोली निर्णय गर्ने, तालाबन्दी भने आजै खोल्न प्रस्ताव गरे । उनले भने ‘ताला खोलिदिनुस् सार्वजनिक क्षेत्रमा ताला लगाउँदा नराम्रो म्यासेज जान्छ, नगरको राजश्व घटाउँछ ।’

मेयर साम्पाङले पुर्नवहाली गर्न कार्यपालिका बोर्डको निर्णय चाहिने भएकाले भोलि निर्णय गर्ने बताएका थिए । सङ्घर्ष समितिका पक्षले भने ‘भोली निर्णय हुने हो भने, तालाबन्दी पनि भोली नै खोल्ने छौँ’ भनी जवाफ दिएपछि मेयर र मजदुर बिच चर्काचर्की परेको थियो ।

तत्काल तालाबन्दी खुला गर्न मेयर साम्पाङले नरबहादुर लिम्बू 'राजा'को पुनर्बहाली बारे सोच्न सकिने बताउँदै भने ‘नरबहादुर लिम्बुको जिम्मा छु पुनर्बहालीको विषयमा सोच्छु ।’ उनले अर्का निष्कासित मजदुर प्रकाश राईको बारेमा भने केही गर्न नसकिने अडान लिएपछि वार्ता बिना निष्कर्ष टुङ्गिएको छ ।

घण्टाघरको स्थापनाकाल देखी ज्यालादारीमा काम गर्दै आएका नरबहादुर लिम्बु र प्रकाश लिम्बुलाई मेयर साम्पाङको ठाडो आदेशमा खाली हात काम बाट हटाइएको हो । वार्तामा मजदुरहरूको संयुक्त ट्रेड युनियन सङ्घर्ष समितिले दुवै कर्मचारीलाई पुनर्बहाली गर्न माग र उचित क्षतिपूर्तिको माग गरेका थिए ।

सङ्घर्ष समितिले चरणबद्ध आन्दोलन अनुसार घण्टाघर मुलगेटमा तालाबन्दी गरेपछि मेयर साम्पाङले  वार्तामा बोलाएको हो । वार्तामा मेयर साम्पाङलाई कर्मचारी निकाल्नु अघि श्रम ऐन २०७४ को प्रावधान पुरा गर्नुपर्ने कुरामा ध्यानाकर्षण गराइएको थियो ।

नेपाल यातायात मजदुर सङ्गठन सुनसरी अध्यक्ष सुमन श्रेष्ठ सहितका वार्ता टोलीले मजदुर निकाल्दा एकल निर्णय गर्ने अहिले पुर्नवहाली र ऐन अनुसार सेवा सुविधाको कुरा गर्दा कार्यपालिकाको निर्णय चाहिने भन्दै मेयर साम्पाङको चर्को विरोध गरेका थिए ।

नेपाल मजदुर सङ्घका जिल्ला अध्यक्ष श्रेष्ठले ‘काम गर्दै आएका श्रमिकलाई निकालेर आफन्त भर्ना गर्ने कस्तो मेयर हुनुहुन्छ ?’ भनी प्रश्न पनि गरे । वार्ता ठोस निष्कर्षमा नपुगेपछि वार्ता टोलीले मेयर साम्पाङलाई ‘कर्मचारी पुनर्बहाली गरेपछि मात्रै तालाबन्दी खोलिने’ जानकारी गराउँदै बिना निष्कर्ष टुङ्ग्याएको हो ।

संयुक्त सङ्घर्ष समितिका संयोजक शमशेर वर्देवाका अनुसार मेयरले एक जनाको मात्रै जिम्मा लिने गरेकाले आन्दोलनरत मजदुरहरूको माग दुवै जनालाई गर्नुपर्छ भन्ने रहेको बताउँदै दुवैको पुनर्बहाली पछि मात्रै तालाबन्दी खोलिने बताएका छन् ।

सङ्घर्ष समितिले गएको भदौ १ गते शुक्रवार मेयर साम्पाङलाई निर्णय सच्याउन ७ दिने अल्टिमेटम पत्र बुझाएको थियो । उक्त अवधिमा समितिको मागको सुनुवाइ नभएकोले धरानका मजदुर सङ्गठनहरूको संयुक्त ट्रेड युनियन सङ्घर्ष समिति गठन गरी चरणबद्ध आन्दोलन सुरु गरिएको हो ।।