धरान : बढ्दो शहरीकरण, रमाइलोका लागि नयाँ नयाँ प्रविधि र सुविधाले दशैं उहिलेको जस्तो रहेन । बदलिएको परिवेशबाट वाक्क लागेपछि मानिसहरू अर्ग्यानिक, परम्परागत, पुरानै कुरा राम्रो र रमाइलो भन्ने धुनमा छन् ।
युवा पुस्ता समेतमा फेशन देखी खानपिनमा त्यही खोजिरहेका छन् । यसपालि दशैंमा धरान-५ ठिङ्गावारि स्थित टिकटक रिसोर्टमा लगाइएको पुरानो प्रविधि काठे ढाँचाको रोटेपिङको आकर्षणले त्यसैको उदाहरण बन्यो ।
आधुनिक सहर धरानका युवा, बालबालिका देखि बूढाबूढीमा प्रायः लोप भैसकेको काठे रोटेपिङ दशैं मेलाकै रूपमा आकर्षणको केन्द्र बनेको हो । फूलपातीको अघिल्लो दिन शुक्रवार देखि सञ्चालन भएको काठे रोटेपिङ सामाजिक सञ्जालमा अहिले भाइरल भएको  छ । 
दसैं तिहार चाडपर्वमा जोडिएर आउने कुरा नाम पिङ पनि हो । पहाडका गाउँघरको पहिचान भनेकै लिङ्गे पिङ, काठे रोटेपिङ हुन । नयाँ पुस्ता विदेशी संस्कृतिबाट प्रभावित भएसँगै पिङको रौनकता घटेको छ । शहरमा लिङ्गे पिङ देखिन्न । दशैंका  पुराना संस्कृतीहरु हराएको छन ।
यस्तो समयमा पुर्ख्यौली सस्कृती सम्झना गराउन काठे रोटेपिङ धरानका ४ युवाहरू यम लिम्बु, यम हुक्सा चोङवाङ, सोमा राई र मैना राईको संयुक्त लगानीमा सञ्चालन गरिएको हो ।
सञ्चालक यम लिम्बुले भने ‘डिजिटल रमाइलोमा हराएका, विदेशी संस्कृतिको मोहले गाउँघरमा पिङ संस्कृति हराउँदै गयो, पुरानै कुरा देख्न सम्म नपाउने भएपछि पुर्खाको पहिचान बचाई राख्न काठे रोटेपिङ चलाएका हौँ ।’
उनका अनुसार लोपोन्मुख काठको रोटेपिङ पुर्खाको चिनो हो । यसलाई जीवन्त राख्न पछिल्लो समयमा पिङ बनाइएको हो । यो रोटेपिङ रिसोर्ट सञ्चालनमा रहे सम्म सधैँ रहने छ । सञ्चालक लिम्बूले रोटेपिङ बनाउन ८ लाख रुपैयाँ सम्म लगानी भएको बताए । 
रिसोर्टमा दैनिक ५०० जना आगन्तुकहरू आउने गरेका छन् । दशैंमा झापा, मोरङ देखी काठमाडौँ, भारत सम्मका आन्तरिक पर्यटक आएका छन् । उनले भने ‘काठको रोटेपिङ सायद शहरी एरिया र ईन्डियामा नभएकोले होला सबै पिङ चढ्न रुचाउँछन् ।’ अब बिजुलीबाट स्वचालित हुने गरी जेनरेटर जडान गर्ने लिम्बुले बताए ।
रिसोर्टमा मानिसको आवत जावत बढेकोले छोटो समयमा रिसोर्टको व्यापार राम्रो भएको हुँदैछ । रिसोर्टले १२ जनालाई रोजगारी दिएको छ । सञ्चालक लिम्बुले भने ‘हालको आम्दानीबाट हामी खुसी छौ ।’
चाडपर्वलाई लक्षित गर्दै रिसोर्ट गरिएको थियो । हाल रिसोर्टमा हाल रोटेपिङ्ग, केटाकेटीको लागि चिप्लेटी, फोटो खिच्नको लागि सर्पको प्रतिमा राखिएको छ । चाडै नै नयाँ संरचनाहरू पनि बनाइने छ । उनले भने ‘विशेष रूपमा टिकटकको जमाना भएकोले उनीहरूका रुचि चाहाना अनुरूप थप संरचना थप्दै जान्छौँ ।’
सञ्चालक लिम्बुले भविष्यमा अनौठो अनौठो संरचनाहरू पनि बनाइने योजना रहेको बताए । ती संरचनाले पर्यटकहरूलाई थप आकर्षण दिनेछ । रिसोर्टमा सुविधा सम्पन्न होटेल पनि सञ्चालनमा छ । रिसोर्ट सञ्चालनका लागि ३ करोडमा साढे ११ कट्ठा जग्गा खरिद गरिएको छ । भौतिक संरचनामा हाल सम्म ६० लाख बढी लगानी भएको उनले बताए ।
रिसोर्टका उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई र धरानका मेयर हर्क साम्पाङले संयुक्त रूपमा गरेका थिए ।
उद्घाटनको अवसरमा मन्त्री, मेयर र प्रदेश सांसद रमेश बस्नेत, उपमेयर अइन्द्रबिक्रम बेघाले रोटेपिङ चढेका थिए ।
kathe-ping-2