धरान : आज वडा दशैंको मुख्य दिन विजयादशमी, आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसाद स्वरूप टीका, जमरा थापी मनाइँदै छ।
आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसाद स्वरूप टीका र जमरा थापेर मनाइन्छ । घटस्थापनाका दिन विधिपूर्वक घर घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई आज मङ्गलवार विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिन्छ ।
आज देवी विसर्जनको साइत बिहान १० बजेर ३७ मिनेटमा र टीका जमरा ग्रहण गर्ने उत्तम साइत ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि जनाइएको छ ।‘राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ ।
राज्य सञ्चालकले शुभसाइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साह शक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकाले साइत दिइएको हो । साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ’ भन्ने मान्यता रहेको छ । आज टीका लगाइने मानिस पूर्व फर्कनुपर्ने र टीका लगाइदिनेले भने पश्चिम फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ ।
आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ । जमराले विभिन्न रोग व्याधिमा औषधिका रूपमा काम गर्ने तथ्य वैज्ञानिक रूपमा समेत पुष्टि भइसकेको छ ।
घटस्थापनाका दिन स्थापित पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी बडादसैं कै सबैभन्दा महत्त्वपूर्ण दिन हो ।
त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ ।आज गुरु पुरोहित, हजुरबा, हजुरआमा, बा–आमा, मान्यजन तथा ठुलाबडाका हातबाट नवदुर्गा भवानीको प्रसाद स्वरूप टीका, जमरा थापी उनीहरूबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ।
        
                    
        
                                        
                                                                                                
        
                
                
                
                
        
        
















        
        
















































