धरान : आश्विन शुक्ल त्रयोदशी अर्थात् बडादशैंको टिकाको चौथो दिन आज पनि नवदुर्गाको प्रसाद स्वरूप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेको चहलपहल जारी छ।

घटस्थापनादेखि नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमामा अखिलबलिपूर्तिका दिनसम्म जारी रहन्छ। पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिन मात्र दुर्गाको प्रसाद स्वरूप टिका लगाउने र आशीर्वाद थाप्ने प्रचलन छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई भने कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीय रूपमा कुनै बाधा नरहेको बताउँछन्। कात्तिक १० गते शुक्रवार अलिखबलिपूर्ति गर्नुपर्ने समितिले जनाएको छ ।

शास्त्रीय रुपमा अखिलबलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्न मिल्ने भए पनि लोक व्यवहारमा भने घरमा आएका नातेदारलाई कोजाग्रत पूर्णिमाकै दिनसम्म यो क्रमले निरन्तरता पाउने गरेको छ।

त्यसैगरी त्रयोदशी अर्थात आजका दिनदेखि सरकारी कार्यालय सञ्चालनमा आउने भएकोले बिदामा गएकाहरू कार्यस्थल फर्किन थालेका हुन् । शुक्रबार कार्यालय भेटाउनेहरू कोही बिहीबार नै गन्तव्यमा पुगिसकेका छन् भने कोही यात्रामै छन् ।

घरबाट फर्किनेहरू बढेपछि काठमाडौंका चोक र बसपार्कमा पनि भीडभाड छ । तर, उपत्यकामा पर्याप्त सार्वजनिक सवारी साधन नहुँदा गन्तव्यमा पुग्न समस्या भएको यात्रुको गुनासो छ । सरकारले फूलपातीदेखि द्वादशीसम्म दशैं बिदा दिएको थियो ।शुक्रबारदेखि कार्यालय सञ्चालन हुनेछन् ।