इटहरी : कोशी प्रदेश सरकारले भूमिहीन सुकुम्वासीलाई बैङ्क तथा वित्तीय संस्थाबाट लिएको कर्जाको ब्याज मिनाहा गर्ने भएको छ । भूमिहीनहरूले घडेरी खरिद प्रयोजनको लागि बैङ्क तथा वित्तीय संस्थाबाट लिइएको कर्जाको ब्याज मिनाहा गर्ने र सुकुम्वासीले चाहेमा एकीकृत नमुना बस्ती निर्माण गर्ने तयारी गरेको हो ।

कोशी प्रदेश सरकारले प्रतिस्थापन विधेयक मार्फत ल्याएको आर्थिक वर्ष २०८०÷८१ को बजेटमा सुकुम्वासीलाई ऋणको भारबाट मुक्ति दिने कार्यक्रम ल्याएको हो । आर्थिक मामिला मन्त्री समेत रहेका मुख्यमन्त्री केदार कार्कीले शनिवार प्रदेशसभामा प्रस्तुत गर्दै प्रतिस्थापन विधेयकमा मानवीय विकाशलाई प्राथमिकतामा राखेका छन् ।

धरानमा व्याप्त खानेपानी समस्याको समाधान गर्न तमोर नदीको पानी ल्याउने कोशी सरकारको योजना छ । अघिल्लो आर्थिक वर्षमा पनि कोशी सरकारले तमोरको पानी ल्याउन १ करोड बजेट विनियोजन गरेको थियो । त्यस्तै इटहरीमा प्रादेशिक जलन अस्पताल निर्माणको काम अगाडी बढाउने भएको छ । केही दिन अगाडी उर्लाबारीमा भएको आगलागीमा समयमै उपचार नपाएर ३ जनाको मृत्यु भएपछि प्रदेश सरकारले चासो दिएको हो ।

स्वास्थ्य क्षेत्रलाई विशेष जोड दिएको सरकारले शैलजा आचार्य हृदय रोग केन्द्र स्थापना गरी सञ्चालनमा ल्याउने भएको छ । प्रदेश मातहतका जिल्ला अस्पतालमा सङ्क्रामक रोग विशेष कक्ष स्थापना गरिने सरकारको योजना छ । सवारी साधनका सहचालकलाई निःशुल्क स्वास्थ्य बिमा गर्ने देखी १० वर्ष मुनीका बालबालिकाको लागि निःशुल्क उपचार गर्ने विधेयकमा उल्लेख गरिएको छ ।

सवारी चालक अनुमत पत्रको छपाइमा हुने ढिलाइलाई अन्त्य गर्ने व्यवस्था मिलाइने भएको छ । मुख्यमन्त्री कार्कीले सभामा पेस गरेको विधेयकमार्फत यसअघि समावेश भएका टुक्रे योजना कटौती गरेका छन् । सबै मन्त्रालयका कार्यक्रम घटीमा २५ लाखको भएको कार्कीले बताए ।

‘जसको जङ्गल उसको मङ्गल’ भन्ने नारासहित जङ्गली जनावरका लागि संरक्षण अभियान र हात्ती मैत्री जङ्गल कोरिडोर स्थापना गर्ने भएको छ । सरकारले दुग्ध किसानलाई लक्षित गर्दै धुलो दूध र घिउमा अनुदान दिने देखि सौर्य ऊर्जा प्रणालीमार्फत चल्ने स्वचालित तुइन स्थापना गर्ने भएको छ । काँकडभिट्टा र जोगबनी नाकामा विदेशी पर्यटक कक्ष स्थापना गर्ने सरकारको योजना छ । 

अघिल्लो सरकारले ल्याएको बजेट धेरै नचलाएको भन्दै उनले साना टुक्रे कार्यक्रम कटौती गरेको बताए । शनिवार बजेट प्रस्तुत भएपश्चात् आइतबार बिहान पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले बजेट पूर्ण कार्यान्वयन हुने धारणा राखे । मानवीय पुँजीमार्फत आर्थिक विकासका अघि बढ्ने बताउँदै उनले स्रोत सुनिश्चित नभएको योजनालाई पुनः प्राथमिकीकरण गरिएको बताए ।

प्रदेश सभामा आइतबार देखी बजेटमाथि सैद्धान्तिक छलफल सुरु भएको छ । छलफलमा बोल्ने अधिकांश सांसदले बजेट समग्रमा राम्रो भएपनि कार्यान्वयन पक्षमा आशङ्का गरेका छन् ।

आर्थिक मामिला मन्त्री समेत रहेका कार्कीले ३६ अर्ब ७४ करोड ३५ लाखको बजेट सभामा पेस गरेका हुन् । जसमध्ये चालूतर्फ १२ अर्ब ६८ करोड १० लाख र पुँजीगततर्फ २० अर्ब ३६ करोड १५ लाख छ ।

तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले गत जेठ ३२ गते अध्यादेशमार्फत ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैयाँको बजेट ल्याएका थिए ।