विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सदनलाई प्रभावकारी र नतिजामुखी बनाउनका लागि सांसदको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् ।

प्रदेश सरकारको आर्थिक अध्यादेशलाई प्रतिस्थापन गर्न आइतबार प्रदेश सभामा प्रस्तुत अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८० माथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री कार्कीले प्रदेश सभा सदस्यहरूलाई उक्त आग्रह गरेका हुन ।

मुख्यमन्त्री कार्कीले भने ‘मलाई लागेको थियो प्रश्न तिखा तिखा आउँछन् र मलाई र्याखर्याख्ती बनाउनु हुन्छ, उत्तर दिनका लागि विज्ञ चाहिएला भन्ने आशा गरेको थिएँ ।’ उनले सदनभित्र हुने गहन छलफलले उत्तर मात्रै नभई प्रतिफल पनि आउने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री कार्कीले सरकार खबरदारी गरेको मन पराउने सरकार भएकाले प्रश्न गर्दैमा मुख्यमन्त्री मन्त्रीहरू रिसाउँछन् भन्ने संशयमा नपर्न आग्रह गरे ।

विधेयक माथि छलफलमा प्रदेश सभा सदस्यहरू गम्बु शेर्पा, सपना दर्जी किशोर चन्द्र दुलाल, विदुर कुमार लिङ्थेप, राजन किराँती, विनोद राई, डोल्मा तामाङ, छवि चुँडाल, राम प्रसाद महतोले भाग लिएका थिए ।