धरान : नेपाल नागरिक उड्डयन प्राधिकरणबाट धरानमा एयरपोर्टको सम्भावना बुझ्न आएको टोलीले निःशुल्क जग्गा उपलब्ध हुनुपर्ने २०७४ सालकै कुरा दोहोर्‍याएको छ । अहिले ७ बिघा जग्गा मात्र रहेको ठाउँमा एयरपोर्ट बनाउन हवाई जहाजको हिसाबले त्यस भन्दा १३ गुणा बढी क्षेत्रफल चाहिने बताएको छ ।

टोली मेयर हर्क साम्पाङ सहित आज बिहीबार बिहान एयरपोर्ट बनाउने भनिएको पुरानै ठाउँ धरान-१७ स्थित डाँडा घोपाको जग्गा स्थलगत अवलोकन गर्न पुगेको थियो । 

टोलीमा उड्डयन प्राधिकरणका प्रबन्धक इन्जिनियर नलविक्रम थापा, वरिष्ठ कानुन अधिकृत विमल खनाल र चार्टर्ड एकाउण्टेण्ट अनिल बस्नेत सहित ३ जना छन् ।

यसअघि टोलीले हिजो बुधवार मेयर साम्पाङलाई २०७४ सालको अध्ययन टोलिले बनाएको प्रतिवेदनको जानकारी दिएको थियो । त्यसबेला निःशुल्क जग्गा उपलब्ध गराउन नसक्दा बन्न नसकेको एयरपोर्ट अब बनाउँदा पुरानै निःशुल्क जग्गा चाहिने हिसाब सहित सरकारको हवाई नीति भित्र पर्नुपर्ने कुरामा टोलीले ध्यानाकर्षण गराएको छ ।

प्राधिकरणले २०७२ सालमा ४२ सिटे जहाजको लागि सबै अध्ययन पुरा गरी डिजाइन समेत सार्वजनिक गरेको थियो । ४२ सिटे जहाजको लागि ९३ बिघा जग्गा निःशुल्क उपलब्ध गराउनु पर्ने प्रक्रिया प्राधिकरणले अघि बढाएको थियो । यतिको जग्गा अपुग हुने अन्य जग्गा थप नहुँदा र दुवै परिमाणको जग्गा प्राधिकरणको स्वामित्वमा उपलब्ध गराउन नसक्दा एयरपोर्ट बन्न सकेको थिएन ।

एयरपोर्ट बनाउन १७ सिटे जहाजको लागि ७ बिघा, ४२ सिटेको लागि ४६ बिघा र ७२ सिटेको लागि ९३ बिघा जग्गा आवश्यक हुन्छ । उड्डयन प्राधिकरणका अनुसार नेपालमा अहिले साना जहाज नभएकाले न्यूनतम ७२ सिटे जहाजको सम्भावना भएका ठाउँमा मात्र एयरपोर्ट बनाउने नीति लिएको छ ।

त्यस बाहेक धरानमा एयरपोर्ट नेपालको पछिल्लो हवाई नीति अनुकूल हुनुपर्नेमा पनि प्राधिकरणको टोलीले मेयर साम्पाङलाई ध्यानाकर्षण गराएको टोली संयोजक तथा प्राधिकरण प्रबन्धक नलविक्रम थापाले बताए ।

थापाका अनुसार हवाई नीति २०६३ को बुँदा ५ को ७.१ मा निकटस्थ विमानस्थलबाट प्रस्तावित विमानस्थलको दूरी हिमाली र पहाडी क्षेत्रमा साधरणतया २० नटिकल माइल र तराई तथा भित्री मधेसमा कम्तीमा ४० नटिकल माइल हुनुपर्ने उल्लेख छ ।

टोलीका वरिष्ठ कानुन अधिकृत विमल खनालका अनुसार एक नटिकल माइलमा १ दशमलव ८५ किलोमिटर हुन्छ । ४० नटिकल माइल भनेको ७४ किलोमिटर दूरी हो । विराटनगर विमानस्थलबाट धरान ४० किलोमिटर दुरीको मात्र फरक रहेको छ ।

खनालले भने ‘पहिलेको अध्ययन प्रतिवेदनका आधारमा नै थप अध्ययन गरिने छ ।’ जग्गाको विषयमा पहिले नै अध्ययन भइसकेको छ । अहिलेको समितिले विशेष गरेर पहिले र अहिलेको फरक अध्ययन गर्ने उनको भनाई छ ।

उनका अनुसार २०७२ मा पनि तीन क्याटेगोरीमा अध्ययन गरिएको थियो । सानो जहाजका लागि ९ सय मिटर रन-वे, ४२ सिट क्षमताको जहाजलाई १२ सय मिटर रन-वे र ७२ सिट क्षमताको जहाजलाई १५ सय मिटर रन-वे आवश्यक पर्छ ।

संयोजक तथा प्रबन्धक थापाले भने ‘एयरपोर्टका लागि तीन क्याटेगोरीमा स्थानीय स्तरको जग्गाको उपलब्धता र भौगोलिक परिस्थितिमा कुन उपयुक्त हुन्छ अध्ययन गरिनेछ ।’ उपमहानगरपालिकाले कुन स्तरको विमानस्थल बनाउन चाहन्छ, त्यसअनुसार अघि बढ्ने उनले बताए ।

विमानस्थल बनाएर मात्र भएन नियमित रूपमा सञ्चालन पनि आवश्यक हुने बताउँदै त्यसका लागि न्यूनतम पनि ७२ सिट क्षमताको जहाज उडान भर्न सक्ने विमानस्थल निर्माण गर्नुपर्नेमा उनले जोड दिए । संयोजक थापाले भने ‘४२ सिट क्षमताको नेपालमा एउटा मात्र बुद्ध एयरको विमान छ ।’ ४२ सिट क्षमताको जहाजको लागि १२ सय मिटर रन-वे आवश्यक पर्छ । तर, जहाज नै एउटा मात्र भएकाले सञ्चालन हुन सक्दैन ।

उनले थपे ‘७२ सिट क्षमताभन्दा कम सिट क्षमताको परिकल्पना गर्दा विमानस्थल सञ्चालन हुन गाह्रो पर्छ, चले पनि नियमित उडान भने हुन सक्दैन ।’ पहिले र अहिलेको जग्गा भिन्नताबारे अध्ययन केन्द्रित हुने बताउँदै उनले जग्गाको विषयमा पहिले नै अध्ययन भइसकेको बताए ।

प्राधिकरणले २०७४ असार १ मा प्राधिकरणका निर्देशक ध्रुवदास भोछिभोया समूहले अध्ययन पश्चात् एटीआर ४२ सिट क्षमताको जहाज उडान भर्नका लागि करिब ९३ दशमलव २५ बिघा जग्गा आवश्यक पर्ने पत्रसहित उपमहानगरपालिकालाई प्रतिवेदन पठाएको थियो ।

प्राधिकरणको चलानी नम्बर ३२१ को पत्रमा सबै जग्गा निःशुल्क उपलब्ध गराउन अनुरोध गरिएको थियो । अब निर्माण गर्दा ७२ सिट क्षमताको विमानस्थल निर्माण गर्नु पर्दछ । त्यसका लागि जग्गा पर्याप्त नभएको र उपमहानगरपालिकाले जग्गा उपलब्ध गराए एयरपोर्ट बनाउन समस्या नहुने प्राधिकरण प्रबन्धक तथा संयोजक थापाले बताए ।

उनले भने जग्गाको पर्याप्तता भए र नेपाल सरकार मन्त्रीपरिषद्ले निर्णय गरेर एयरपोर्ट सञ्चालनको अनुमति दिए धरानमा एयरपोर्ट बन्ने सुनिश्चितता छ । उनले भने ‘अध्ययन टोलिले अहिले स्थलगत अध्ययन गर्ने तर बन्ने नबन्ने अहिले भन्न सकिँदैन ।’

यसै बिच मेयर हर्क साम्पाङ सहित पुगेको अध्ययन टोलीलाई बिहीबार बिहान १० बजे डाँडा घोपामा आक्रोशित स्थानिय बासिन्दाले घेराउ गरेका थिए । उनीहरूले एयरपोर्ट बन्छ भन्दै जनतालाई झुक्क्याउने मात्र होइन, नबन्ने भए घर नक्सा पासका लागि सिफारिस गर्न माग गरे ।

स्थानिय जनता उमेश राईले धरानमा एयरपोर्ट बन्ने सम्भावना कम रहेको बताए । उनले प्रश्न गरे, ‘अन्य ठाउँमा बनेको विमानस्थल त चलेको छैन धरानमा कसरी सञ्चालन हुन्छ ?’ उनको अर्को प्रश्न थियो ‘एयरपोर्ट बनाउनु भनेको टेम्पो स्ट्याण्ड बनाउन लागेको जस्तो हो र ?’

airport adhyayan 3

airport adhyayan 2