धरान : पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको एउटा फेसबुक स्ट्याटसले धरानको डाँडा घोपामा एयरपोर्ट बनाउने चर्चा फेरि चुलिएको छ । उनले धरानमा विमानस्थल निर्माण अध्ययन समिति तत्काल गठन गर्न निर्देशन दिएको फेसबुक स्ट्याटस आएपछि एयरपोर्टको चर्चा चुलिएको हो ।
मन्त्री सुदन किराँतीको फेसबुक वालमा लेखिएको छ ‘धरानमा विमानस्थल निर्माण अध्ययन समिति तत्काल गठन गर्न नागरिक उड्डयन महानिर्देशक लाई निर्देशन गरिएको छ ।’ उक्त स्ट्याटस एक वाक्यको मात्र छ । त्यसैले विमानस्थल बनाउन पुनः अध्ययन हुने जनाएको छ । कहाँ बनाउने, यति इनकर्पोरटको पुरानै जग्गामा बनाउने भन्ने स्पष्ट गरेको छैन ।
मन्त्री किराँतीको स्ट्याटसबाट धरानका मेयर हर्क साम्पाङ सबै भन्दा बढी उत्साहित भएको देखिएका छन् । उक्त स्ट्याटस आए लगत्तै मेयर हर्क साम्पाङले फेसबुक स्ट्याटसमा  ‘विराटनगरमा एयरपोर्ट छ भन्दैमा धरानमा नचाहिने हुँदैन । धरानमा पनि बनाउनु पर्छ है सरकार...नत्र’ लेखेका छन् ।
यसअघि मेयर साम्पाङलाई धरानमा एयरपोर्ट बन्ने विश्वास थिएन । एयरपोर्ट बनाउने भनिएको डाँडा घोपाको जग्गामा घपलाबाजी भएको, त्यो जग्गाका धनीहरूलाई जग्गा फिर्ता दिनुपर्ने अभियानमा समेत लागेका थिए । त्यस बारे उपमहानगरपालिका कार्यालयमा छलफल समेतको आयोजना गरेका थिए ।
मेयर साम्पाङ उपमेयर आइन्द्रबिक्रम बेघा सहितको प्रतिनिधि मण्डलले केही महिना अघि प्रधानमन्त्री पुष्पकमल दाहाल सहित मन्त्रीहरूलाई भेट गर्दा बुझाएको धरानको विकास सम्बन्धी सूचिमा एयरपोर्टको सट्टा ‘हेलीप्याड’ को माग समेत गरेको थियो । यसरी धरानमा एयरपोर्ट बन्ने ‘माया मारिसकेको विषय’ मन्त्री किराँतीको फेसबुक स्ट्याटसले फेरी चर्चामा ल्याएको छ ।
चुनावका बेला पार्टीहरूको घोषणापत्रमा धरानमा एयरपोर्ट बनाउने बुँदा राखिएको हुन्छ । धरान–१७ स्थित डाँडा घोपा त्यसको केन्द्र विन्दु रहँदै आएको छ । यसअघि तत्कालीन पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र विष्टको कार्यकालमा उनी आफै आएर एयरपोर्ट स्थलको स्थलगत निरीक्षण गरेका थिए । उनकै समयमा उड्डयन प्राधिकरणले एयरपोर्टको अध्ययन प्रतिवेदन र नक्सा समेत सार्वजनिक गरेको थियो ।
मन्त्री किराँतीको एयरपोर्ट स्ट्याटस आएपछि फेसबुकमा पुराना कुराहरू सरोकारवालाहरूले उल्लेख गर्न थालेका छन् । उक्त स्ट्याटसलाई लिएर नेकपा एमालेका नेता मुरारी सुवेदीले लेखेका छन् ‘धरानका मेयर सावले चिठ्ठी लेखेपछि  मन्त्री सुदन किराँती ज्यू , धरान विमानस्थलबारे अध्ययनको आदेश होइन विगतमा पटक पटक करोडौँ खर्च गरेर विषयगत अध्ययन गरी मन्त्रालयमा थन्किएका रिपोर्ट सार्वजनिक गर्नुहोस्, अध्ययनका नाममा फेरी लाखौँ करोडौँ खर्च गर्ने बाटो नखुलाउनु होस ।’
२०७४ सालमा उदय सामुदायिक वनको हलमा वातावरणीय, सांस्कृतिक, सामाजिक, आर्थिक प्रभाव अध्ययनको सार्वजनिक सुनुवाइ नै भएको थियो । मैले त्यहाँ ठोस विषय आएन यो कस्तो अध्ययन हो ? यो त प्रक्रिया पूरा गरी परामर्शदाता को भुक्तानीका लागि सपोर्टिंग डमुमेण्ट मात्रै भयो भनी  प्रश्न गर्दा हामी सम्पूर्ण विवरण नगर पालिकालाई दिन्छौँ भनेर उम्केका थिए । विगतमा भए गरेको नहेर्ने , आगे आगे मात्रै बढ्ने हो भने सुन्न मिठो लाग्ने प्रचार त हुन्छ, परिणाम केही आउँदैन ।मेयर र मन्त्री दुवै जनाले सोच्ने हो कि ?
Airport dharan news