- अनुसा थापा
विदेशी पर्यटक नेपालीका लागि पाहुना हुन् । घुमफिर गर्न, नेपाल हेर्न, यहाँको संस्कृति बुझ्न उनीहरू आउँछन् । हामीहरू ‘अतिथि देव: भव’ भन्छौँ । विदेशी पर्यटकको सुरक्षा गर्नु सरकारको दायित्व हो । मुलुकमा जति धेरै विदेशी पर्यटक भित्रिन्छन्, त्यति नै फाइदा हुन्छ । विदेशी मुद्रा भित्रिन्छ, अर्थतन्त्रमा टेवा पुग्छ ।
त्यसैले विदेशी पर्यटकलाई नेपाल ल्याउन र यहाँ बस्ने वातावरण बनाउन सरकारदेखि लिएर व्यापारीसम्मले हातेमालो गर्नुपर्छ । तर, विदेशी भन्ने बित्तिकै व्यापारीहरूको दिमागमा ठग्ने सोच आउँछ । विमानस्थल ओर्लेदेखि नै विदेशीहरू ठगिन थाल्छन् । पहिले ट्याक्सीबाट ठगिन्छन् ।
मिटरमा जाँदा एक हजार रुपैयाँ पर्ने बाटोमा पाँच हजार रुपैयाँसम्म लिन्छन् । होटेल व्यवसायी पनि त्यस्तै । नेपालीलाई लिनेभन्दा दोब्बर शुल्क उनीहरूले विदेशीबाट उठाउँछन् । ठमेल, बौद्ध, स्वयम्भू लगायतका क्षेत्रमा मालालगायत विभिन्न सामान बेच्दै आएकाले पनि विदेशीलाई लुट्छन् ।
विदेशीलाई सुविधा दिनु र राम्रो व्यवहार गर्नुको साटो ठग्नतिर व्यवसायीहरू सोच मग्न हुँदा अन्तर्राष्ट्रिय स्तरमै नेपालको नराम्रो ‘इम्प्याक्ट’ परिरहेको छ । सार्वजनिक यातायातमा पछिल्लो समय विदेशीहरू व्यापक देखिन्छन् । बस, माइक्रो बसमा विदेशीहरू यात्रा गरिरहेको हुन्छन् ।
उनीहरू झुन्डिएर यात्रा गरिरहेको देखिन्छ । तर, कुनै पनि नेपाली यात्रुले उनीहरूका लागि सिट छोड्दिँदैनन् । विदेशीलाई सहयोग गर्नु नेपाली जनताको पनि दायित्व हो । यद्यपि, नेपाली त्यस्तो गर्दैनन् । जसले गर्दा नेपालीहरू असहयोगी भएको छवि बनेको छ । अधिकांश सहचालक र चालक अशिक्षित छन् ।
उनीहरू अङ्ग्रेजीमा बोल्न सक्दैनन् । विदेशीहरूले केही सोधे भने उनीहरू जवाफ फर्काउन सक्दैनन् । विदेशीले नक्सामा ठाउँ सोध्दा उनीहरू चुपचाप बस्छन् । विदेशीले के सोध्यो ? उनीहरू बुझ्दैनन् । नेपाली यात्रुले सार्वजनिक यातायात चढ्ने बित्तिकै पाँच सय वा हजारको नोट दियौँ भने झर्ने बेलासम्म सहचालकले फिर्ता गर्दैन ।
पटकपटक भन्दा बल्लतल्ल फिर्ता दिन्छन्, त्योपनि ओर्लिसकेपछि । नोटहरू च्यातिएका हुन्छन् । तोकिएको जति भाडा काटेर फिर्ता दिनुपर्नेमा सहचालकले कम पैसा दिन्छ । यात्रु ओर्लेर गन्न थाल्छन्, गाडी गुडाइसकेको हुन्छ । नेपालीलाई त सहचालकले यस्तो व्यवहार गर्छन् भने विदेशीलाई यिनीहरूले के गर्लान् ?
सहचालकले उनीहरूलाई पैसा फिर्ता गर्दैनन् । पर्यटक बोक्नका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई सय सात वटा ट्याक्सी छ । सरकारले पर्यटकको सेवा सुविधालाई मध्यनजर गर्दै हरियो प्लेटको ट्याक्सीको दर्ता खोलेको थियो । २०५० सालदेखि ट्याक्सीको दर्ता बन्द छ ।
ती सबै ट्याक्सी भन्सार र भ्याट छुटमा आएको हो । २०७० सालमा एयरपोर्टको पुराना ट्याक्सी फालेर सट्टापट्टामा नयाँ ट्याक्सी ल्याइयो । तर, सिन्डिकेट हटाइएन । एयरपोर्टका ट्याक्सीमा अझैपनि सिन्डिकेट छ । विदेशीलाई सहुलियत देऊ भनेर भन्सार र भ्याट छुटमा दिइएको ट्याक्सीले लुटतन्त्र मच्चाएको छ ।
एयरपोर्टबाट गौरीघाट गएको दुई हजारदेखि दुई हजार पाँच सय रुपैयाँ ट्याक्सी चालकले लिन्छन् । ठमेलसम्म गएको त पाँचदेखि सात हजार । यता, होटेलबाट समेत ट्याक्सी चालकले कमिसन लिएका हुन्छन् । एयरपोर्टमा चल्ने ट्याक्सीमा मिटर छैन । कालो प्लेटको ट्याक्सीको पनि सबै प्रदेशमा दर्ता बन्द छ ।
नयाँ दर्ता नखोलेको दशकौँ बितिसकेको छ । पर्यटक बोक्नका लागि छुट्टै पर्यटक बस पनि छन् । सरकारले भन्सार र भ्याट छुटमा हरियो प्लेटको पर्यटक बस दिएको हो । ट्राभल्सहरूले विदेशीबाट आफूखुसी भाडा लिइरहेका छन् । जुन होटेलले कमिसन दिन्छ, त्यही होटेलमा ट्राभल्सले पर्यटक लगेर राखिदिन्छ ।
पर्यटक बोक्ने बसहरूले नेपाली यात्रु पनि बोकिरहेको छ । कलङ्कीबाट पोखरा गएको एक हजार दुई सय रुपैयाँ लिन्छ । जुन सरासर गैर कानुनी हो । हरियो प्लेटको बसले नेपाली बोक्न पाउँदैन । यो विदेशीका लागि मात्रै हो । पर्यटक बस पनि पेट्रोल-डिजेलबाट चल्छ । नेपाल आयल निगमले भाडा घटाउँदा-बढाउँदा सार्वजनिक यातायातको भाडामा हेरफेर हुन्छ ।
तर, पर्यटक बसको भाडामा हुँदैन । न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पर्यटक बसको भाडा तोक्छ न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले । ट्राफिक प्रहरीले पनि नेपाली यात्रु बोक्ने पर्यटक बसलाई कारबाही गर्दैनन् । नेपाली यात्रु बोकेर पर्यटक बस हुइँकिरहेको हुन्छ, ट्राफिक टुलुटुलु रमिता हेरेर बस्छ ।
विदेशी बोक्ने गाडी एकदमै महँगो हुन्छ । भन्सार र भ्याट छुटमा ल्याउँदा पनि यातायात व्यवसायीले एउटा गाडीमा ५० लाखदेखि एक करोड रुपैयाँसम्म लगानी गरेका हुन्छन् । तर, यातायात व्यवसायीले लगानीको राजश्व तिर्दैनन् । एउटा पर्यटक बसले महिनाको लाखौँ कमाउँछ ।
तर, खोइ त राजस्व ? पर्यटक बसहरूले राजश्व कुनै पनि विषयमा राजश्व तिरेका छैनन् । भाडाको गाडी घरेलु र कम्पनीमा गएर पञ्जी+करण हुनुपर्छ । यद्यपि, पर्यटक बसको हकमा यो व्यवस्था पनि लागु भएको छैन । विदेशी नेपालमा आउनु भनेको सबैका लागि फाइदाको कुरा हो ।
राज्यलाई मात्र होइन, व्यापार-व्यवसायीलाई पनि फाइदाजनक छ । विदेशीलाई ठग्ने र अपहेलन गर्ने काम कसैले गर्नुहुँदैन । सरकारले नेपालमा धेरैभन्दा धेरै विदेशी पाहुना भित्र्याउन निकै प्रयास गरिरहेको छ । सरकारको यो कदममा व्यवसायीहरूले पनि साथ दिनुपर्छ ।
देश चलाउनका लागि विदेशी मुद्राको निकै नै खाँचो हुन्छ । विदेशीहरू सँगै विदेशी मुद्रा पनि नेपाल भित्रिन्छ । त्यही मुद्राले सरकारले सामानहरू खरिद गर्ने हो । तर, यो कुरा नेपालीले बुझिरहेका छैनन् । होटेल व्यवसायीले विदेशी पर्यटकलाई सहुलियतमा राम्रो सेवा सुविधा दिनुपर्यो ।
अन्य व्यवसायीले पनि उनीहरूलाई ठग्न भएन । नेपाल र नेपाली सहयोगी रहेछन् भनेर उनीहरूले आफ्नो देशमा प्रचार गरुन् । आफ्नो देशको नागरिकलाई नेपाल घुम्नै पर्ने कारणहरू उनीहरूले देखाउन सकुन् । यहाँबाट फर्किँदा कुनै पनि विदेशीले तीतो अनुभव लिएर जान नपरोस् भनेर सबैले आफ्नो ठाउँबाट प्रयास गरौँ ।
नेपाली अभिभावकले आफ्ना सन्तानलाई राम्रो ज्ञान दिन सकेका छैनन् । न विद्यालयले नै सिकाउन सकेका छन् । पढाइ घोकन्ते भयो, अभिभावक आफ्नै कामकाजमा व्यस्त छन् । सार्वजनिक यातायातमा ज्येष्ठ नागरिक, अपाङ्ग सिट छुटाइएको हुन्छ । कलेजको ड्रेसमा रहेका विद्यार्थीहरू ती सिटमा बसेका हुन्छन्, ज्येष्ठ नागरिकचाहिँ उभिएको ।
ज्येष्ठ नागरिक, अपाङ्गता भएकाहरू चढ्ने बित्तिकै उनीहरू सुतेको नाटक गर्न थाल्छन् । विद्यार्थी त यस्ता छन्, अरूको के कुरा गर्नु ? विदेशीलाई अहिले व्यापारीहरूले कमाउने माध्यम बनाएका छन् । जुन सरासर गलत छ । विदेशीका लागि सरकारले हरेक क्षेत्रमा सहुलियतको व्यवस्था गर्नुपर्छ ।
एक चोटि आएको विदेशी फेरि फर्केर आउने वातावरण बनाउन जरुरी छ । हामीले पाहुनालाई भेट्ने बित्तिकै हात जोड्छौँ । उनीहरूको सत्कार गर्छौ । विदेशी पाहुनाको चाहिँ किन नगर्ने ? उनीहरूलाई एयरपोर्टमा सम्मानको व्यवस्था मिलाऔँ । नेपाल ओर्लिने बित्तिकै उनीहरूले राम्रो अनुभव बटुलुन् ।
विदेशीचाहिँ आओस् भन्ने अनि मतलब नगर्ने ! यस्तो पाराले कसरी चल्छ । विदेशी पाहुनाको सुरक्षा, खान बस्नको व्यवस्था सरकारले मिलाइदिनुपर्छ । विदेशी भन्ने बित्तिकै ठग्ने व्यापारीहरूको नियत सरकारले बदल्नुपर्छ । पछिल्लो समय बाटोमा माग्न बस्नेको सङ्ख्या ह्वात्तै बढेको छ ।
भुरादेखि बुढासम्म बाटोमा माग्न बसेका छन् । माग्न बसेका बालबच्चाहरू नेपालीकै खुट्टामा झुत्तिइछन् । विदेशीलाई पनि त्यस्तै गर्छन् । जसले गर्दा विदेशीको मनमा नेपाल माग्ने देश रहेछ भन्ने परिरहेको छ । सरकार जनताको अभिभावक हो । हरेक नागरिकको जिम्मा सरकारले लिनुपर्छ ।
बाटोमा माग्न बसेकालाई खान, लाउन, बस्न, शिक्षा र स्वास्थ्यको व्यवस्था सरकारले गर्नुपर्छ । सबै काम देशको प्रधानमन्त्रीले मात्र गर्ने होइन । मुलुकमा सयौँ जनप्रतिनिधि छन्, तिनको के काम ? सबैले आ-आफ्नो ठाउँबाट प्रयास गरे भने मुलुक परिवर्तन हुन बेर लाग्दैन । राज्य सञ्चालकसँग भिजन छैन, जसले गर्दा ठगहरू सलबलाएका छन् । सरकार अझैपनि आँखा चिम्लेर बस्ने हो भने मुलुकमा थप बेतिथि मौलाउँछ ।