धरान : नेपाल पर्यटन बोर्डका केन्द्रीय कार्यकारिणी सदस्य कृष्ण शाहले धरानमा अहिले असुरक्षाको भावना र आन्तरिक झगडाको कारणले पर्यटकहरू आउन छोडेको अवस्था देखिएको बताएका छन् ।

४४ औँ  विश्व पर्यटन दिवसको अवसरमा धरान घण्टाघरमा बुधवार बिहान आयोजित कार्यक्रममा उनले भने ‘धरानमा अहिले सुरक्षा नदेखिएको र आन्तरिक झगडाको कारण  विदेशी पर्यटकहरू आउन छोडेको अवस्था छ, भने रात्रिकालीन बजार लगाउन पटक-पटक  कुरा उठे पनि  बजार लाग्न सकेको  छैन ।’

उनले नेपालमा आउने पर्यटकहरू औसत ११ दिन बसेको तथ्याङ्क छ । धरानमा आउने पर्यटकहरू कति दिन बस्छन् भन्ने तथ्याङ्क न नगरपालिकासँग छ न कुनै निकाय सँग नै भएको बताउँदै शाहले भने ‘यहाँ आउने पर्यटकहरूलाई भुलाउने त्यस्ता क्रियाकलापहरू न त बिहानको इभेन्ट न त साँझको इभेन्ट नै छ।’

यतिका बाबजुद पनि धरान ऐडभेन्चर टुरिजमको एउटा हब नै भएको उनले बताए । ऐडभेन्चर ईन्भेष्टमेन्टको हिसाबले हेर्ने हो भने इटहरी विराटनगर अन्य ठाउँ भन्दा बढी धरानमा धेरै सम्भावना भएको उल्लेख गर्दै यहाँ प्याराग्लाइडिङ, क्यानोनिङ, र्याफटीङ, जिपलाईन, साइकलमा पर्याप्त लगानी भएको शाहको भनाई छ ।

उनले भने ‘यो लगानीलाई सुरक्षाको प्रत्याभूति दिन स्थानीय सरकार सबै पक्षहरू एक भएर चिन्तन गरेर अघि बढेमा धरानको पर्यटन प्रवर्द्धन विकासमा अझ अघि बढ्ने सम्भावना छ  ।’ पर्यटन बोर्ड  कार्यकारी सदस्य शाहले पर्यटनका लागि नेपाल सरकारले ‘देश घुमौँ देश चिनौँ’ भन्ने नारा दिएको बताए । यसको अर्थ डोमेस्टिक टुरिजमलाई प्रवर्द्धन गरौँ भन्ने हो ।

कार्यक्रमको सभापतित्व गरेका पूर्व मेयर तथा होटेल व्यवसायी समिति धरानका अध्यक्ष  मनोज कुमार मेन्याङ्गवोले ‘अहिले  धरानको पर्यटन  अत्यन्तै  जर्जर, खस्कँदो र एकदमै चिन्ताजनक रहेको छ ।’ धरान धार्मिक, सांस्कृतिक, शिक्षा, स्वास्थ्य, ऐडेभेन्चर, खेलकुदको हिसाबले चर्चित ठाउँ भएको बताउँदै उनले भने ‘धरान धार्मिक, जातीय र सांस्कृतिक हिसाबले विविधतामा एकता सहरको रूपमा रहिरहेको अवस्थामा केही समयदेखि धरानलाई बदनाम गराइएको छ ।’ 

उनले धरानलाई असुरक्षित ठाउँको रूपमा लिई त्यो कुरालाई देशव्यापी रूपमा गलत प्रचार प्रसार भएको उनले बताए । पूर्व मेयर मेन्याङवोले ‘त्यो वास्तवमा कुप्रचार भएको मात्र हो, धरान आफैमा सुरक्षित, शान्त, संयम  सभ्य र रहेको छ ।’

उनले धरानमा प्रत्येक वर्ष ईष्ट टुरिजम मार्टहरू हुने गर्थ्यो तर अहिलेको विगत समयदेखि हुन सकिरहेको छैन यसमा नगरपालिकाले गर्नुपर्ने पहल कदमि हुन नसकेको बताए । टुरिजम मार्ट धरान महोत्सवसँग जोडिएर गर्ने हो भने गर्न दिने नत्र नदिने भन्ने हालका नगर प्रमुखको भनाई दुर्भाग्यपूर्ण भएको बताए ।

पूर्व मेयर मेयाङबोले भने ‘टुरिजम गतिविधिका महत्त्वपूर्ण कुरा ईष्ट टुरिजम मार्ट हुन नदिने प्रमुख भूमिका नै नगर प्रमुख हुन्छन् भने त्यो सहरमा पर्यटनको प्रवर्द्धन र विकास कसरी सम्भव हुन्छ ?’धरानमा विश्वव्यापी नारा ‘टुरिजम एण्ड ग्रीन ईनभेष्टमेन्ट’ बुधवार ४४ औँ विश्व पर्यटन मनाइएको हो । धरान होटेल व्यवसायी समितिद्वारा भानुचोक घण्टाघर परिसरमा 'वर्ल्ड टुरिजम डे' लेखिएको ब्यानर बेलुनमा उडाइएको थियो ।

कार्यक्रममा धरान वडा २ का वडाध्यक्ष रमेश राईले बोल्ने भन्दा पनि व्यवहारमा देखाएर धरानमा पर्यटन भित्र्याउने कार्यमा लाग्नुपर्ने बताए । पर्यटकहरू आउन रात्रिकालीन होटेल चलाउन वातावरण बनाउन जरुरी भएकोमा जोड दिदैं उनले यसमा सबै पक्ष लागि पर्नुपर्ने बताए ।

प्रमुख अतिथि प्रदेश सभा सदस्य रमेश बस्नेतले बुँदागत कुरा राख्दै धरानमा भौगोलिक सम्भावनाहरूलाई  फिनिसिङ गर्न  नसकेको, पर्यावरण, धार्मिक, सांस्कृतिक, सामाजिक, शिक्षा र स्वास्थ्यको बारेमा प्रचार प्रसार गर्न नसकेको अवस्था विद्यमान रहेको बताए ।

उनले भने ‘हामीमा पर्यटन मैत्री कल्चर पनि नभएको हो कि भन्ने आत्मालोचना गर्दै व्यवहार र स्वभावले पर्यटनको पूर्वाधारको रूपमा विकास गर्न स्थानीय सरकार, होटेल व्यावसायिक, प्रदेश सरकार सबै पक्ष लाग्न जरुरी छ ।’

कार्यक्रममा धरानका होटेल व्यवसायी गोपाल आचार्य, प्रमेश श्रेष्ठ, भूपाल राई, कृष्ण पाठक, रबिन अधिकारी तथा व्यवसायी रोशन अधिकारी, नारायण प्रसाद लिम्बू लगायतको उपस्थिति थियो ।

manoj menyang bo dharan