सन् २०१९ को डिसेम्बर अन्तिमदेखि चीनको दक्षिण पूर्वी प्रान्त हुपेईको राजधानी वुहानबाट फैलन सुरु भएको कोरोना महामारीले गर्दा हालसम्म पनि विश्वमा पर्यटनले गति लिन सकेको छैन । हुन त कोरोनाको नयाँ भेरियन्ट 'ओमिक्रोन' ले नेपालमा त्यस्तो असर गरी हालेको अवस्था छैन । त्यसो भए तापनि नेपालको पर्यटन चलायमान हुन बाह्य पर्यटनले पनि गति लिनै पर्छ । अर्थात् नेपालको पर्यटन चलायमान हुन विश्व पर्यटनमा सुधार आउनै पर्छ । तर, हालको अवस्था हेर्दा विश्व पर्यटनले गति लिई हाल्ने अवस्था देखिँदैन।

हुन त तथ्याङ्क हेर्दा नेपालमा सन् १९६३ देखि नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको तथ्याङ्क राख्न थालेको देखिन्छ । जस्तै तत्कालीन श्री ५ को सरकारले सन् १९६३ मा आधिकारिक रूपमा नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको तथ्याङ्क राख्न थालेको भनी पर्यटन मन्त्रालयले निकालेको बुकलेटहरुमा पढ्न र हेर्न पाइन्छ । यसरी हेर्दा सन् १९६३ मा सात हजार २७५ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ। त्यस्तै सन् १९६४ मा नौ हजार ५२६, सन् १९६५ मा नौ हजार ३८८ (अघिल्लो वर्षको तुलनामा माइनस १ दशमलव ४ प्रतिशत कम), सन् १९६६ मा १२ हजार ५६७, सन् १९६७ मा १८ हजार ९३ जना, सन् १९६८ मा २४ हजार २०९ जना, सन् १९६९ मा ३४ हजार ९०१ जना, सन् १९७० मा ४५ हजार ९७० जना, सन् १९७१ म ४९ हजार ९१४ जना, सन् १९७२ मा ५२ हजार ९३० जना, सन् १९७३ मा ६८ हजार ४७ जना, सन् १९७४ मा ८९ हजार ८३८ जना, सन् १९७५ मा ९२ हजार ४४० जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेको माथि उल्लेखित किताबको तथ्याङ्कमा उल्लेख भएको देखिन्छ।

त्यस्तै सन् १९७६ देखि चाहिँ नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको सङ्ख्याले एक लाख नाघ्न थालेको देखिन्छ। सन् १९७६ मा एक लाख पाँच हजार १०८ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेको तथ्याङ्कमा उल्लेख छ। सन् १९८६ मा दुई लाख २३ हजार ३३१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यस्तै सन् १९९२ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्याले तीन लाख नाघ्यो। सन् १९९२ मा तीन लाख ३४ हजार ३५३ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरे । तर, सो बढोत्तरी निरन्तर कायम रहन सकेन । किनभने, सन् १९९३ मा सो सङ्ख्या घटेर दुई लाख ९३ हजार ५६७ जनामा झर्‍यो । सन् १९९२ को तुलनामा यो सङ्ख्या माइनस १२ दशमलव दुई प्रतिशत कम रहेको थियो।

सन् १९९७ मा चार लाख पुग्यो, नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको सङ्ख्या । तर, नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या पाँच लाख पुग्न अर्को १० वर्ष लाग्यो । अर्थात् सन् २००७ मा बल्ल पाँच लाख २६ हजार ७०५ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरे । त्यसपछि सन् २०१० मा छ लाख दुई हजार ८६७ जना, सन् २०११ मा सात लाख ३६ हजार २१५ जना, सन् २०१२ मा आठ लाख तीन हजार ९२ जना, सन् २०१३ मा सात लाख ९७ हजार ६१६ जना (अघिल्लो वर्षको तुलनामा माइनस शून्य दशमलव सात प्रतिशत कम) हुँदै र बिचमा नेपाल आउने विदेशी पर्यटकको सङ्ख्यामा बढोत्तरी हुँदै ८ लाख, नौ लाख ११० लाख हुँदै सन् २०१९ मा आई पुग्दा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या ११ लाख ९७ हजार १९१ जना (१२ लाख नजिक) पुगेको थियो । छिमेकी देश चीनको हुपेई प्रान्तको राजधानी वुहानबाट फैलन सुरु भएको कोरोनाले महामारीको रूप लिएपछि नेपाल सरकारले २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित घोषणा गरेको 'नेपाल भ्रमण वर्ष-२०२०' स्थगित गर्‍यो । फलतः सन् २०२० मा नेपालमा २ लाख ३० हजार ८५ जना विदेशी पर्यटकले मात्रै भ्रमण गरे । यो वर्ष सो भन्दा पनि कम विदेशी पर्यटकले नेपाल भ्रमण गर्ने तथ्याङ्कले अग्रिम रूपमै देखाएको छ ।

किनभने गत ११ महिना (सन् २०२१) मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या एक लाख ३४ हजार चानचुन मात्रै पुगेको छ। यसरी हेर्दा नेपालको पर्यटनको लामो इतिहासमा यो वर्ष सबैभन्दा कम सङ्ख्यामा विदेशी पर्यटकले नेपाल भ्रमण गरेको तथ्याङ्क रहने छ।

ninam-kulung-mangale

सम्पर्क : ९८४९९८५९९७, ९८६२४३६०४९

ninamkirat123@gmail.com