इटहरी : धनकुटाको ध्वजे डाँडामा २२ देशको झन्डा फहराएर पर्यटक गतिविधि बढाउने योजना अगाडी सारिएको छ । सोमबार २२ देशका झन्डा झन्डोत्तोलन गरेर पर्यटकीय गतिविधिलाई प्रशय दिने काम सुरुवात भएको हो ।

नेपाल पर्यटन बोर्ड र सागुरीगढी गाउँपालिकाको संयुक्त लगानीमा झन्डा राखिएको हो । बोर्डको ५ लाख गाउँपालिकाको २० लाख र जनसहभागितामा झन्डा राखिएको गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दालीले बताए । २०६६ मिटरको उचाइमा रहेको ध्वजे डाँडालाई नाम अनुसारकै दृश्य देखाउन लागिएको उनले जानकारी दिए ।

कोशी राजमार्गमै पर्ने धनकुटा र सुनसरीको सिमाना भेडेटारबाट १३ किमी पूर्वमा पर्छ डाँडा बजार । डाँडा बजारबाट दक्षिण पूर्व गएपछि ध्वजे डाँडामा पुग्न सकिन्छ । अध्यक्ष रुम्दालीका अनुसार स्थानीय परिकार सहित खाने र बस्ने व्यवस्था भएका होटेलहरू डाँडा बजारमा सञ्चालनमा छन् ।

पर्यटकहरूलाई आफ्नो देशको झन्डामार्फत आकर्षित गरेर पर्यटन प्रवर्द्धन गर्न झन्डाहरू राखिएको जानकारी दिए । आगामी दिनमा यस स्थानमा बाँकी भएका संसारका सबै देशका झन्डा पनि राखिने उनले बताए ।

dhankuta-jhanda