- अनुसा थापा
हाम्रो समाजमा ‘ठुलोलाई चेन सानोलाई ऐन’ भनिन्छ । त्यो अहिले सत्य प्रमाणित भएको छ । सर्वसाधारणले ऋणको तीन किस्ता नतिर्ने बित्तिकै बैङ्क तथा वित्तीय संस्थाले ऋणीको तीन पुस्तासहित तस्बिर समेत पत्रिकामा प्रकाशन गर्छ । र, धितो लिलामी प्रक्रिया अघि बढाउँछ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईँ, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ लगायत ठूल्ठूला व्यापारी तथा व्यवसायीले बैङ्कबाट लिएको ऋणको साँबाब्याज वर्षोदेखि नतिरेको बताइन्छ । दुर्गा प्रसाईँले त दश करोड मूल्य बराबरको धितो राखेर एउटै बैङ्कबाट अर्बो ऋण लिएको आम सर्वसाधारणलाई थाहा छ ।
प्रसाईँले मात्र होइन, अन्य व्यापारीहरूले पनि यस्तै गरेका छन् । करोडको धितो राखेर अर्बो ऋण लिएका छन् । अहिले प्रसाईँ बैङ्कको ऋण तिर्न तयार छैनन् । ऋण मिनाहाका लागि उनी कहिले सर्वसाधारणलाई बैङ्कविरुद्ध सडकमा ल्याउँछन् त कहिले राजावादी बन्छन् ।
उसो त उनले ऋण मिनाहाका लागि बैङ्क तथा वित्तीय संस्थाका सञ्चालक, अध्यक्ष र कर्मचारीलाई कालोमोसो दल्ने अभियान पनि चाले । तर, त्यसमा पनि उनी असफल हुन पुगेका छन् । तर, बैङ्कबाट ऋण लिएर नतिर्ने यस्ता ठुला व्यक्ति तथा व्यापारीलाई न त बैङ्कले केही गर्न सक्छ । न त सरकारले नै ।
अहिले भाटभटेनी, सुपरमार्केट, बिगमार्टमा आम सर्वसाधारणमा सामान किन्न जाँदैनन् । किनकि त्यहाँ सबै गुणस्तरहीन, म्याद सकिएको, कम तौल अनि महँगो सामान पाइन्छन् । भाटभटेनीका साहु मीनबहादुर गुरुङको ४२-४३ अर्ब ऋण रहेको बताइन्छ । यति नै पैसा ३० देखि ३५ व्यापारीहरूले बैङ्कबाट ऋण लिएका छन् ।
तर, यिनीहरूले वर्षोदेखि बैङ्कलाई न साँवा तिरेका छन् न ब्याज । अहिले बैङ्क डुबिसकेको छ । बैङ्कले कर्जा दिँदा राखेको धितो मूल्य घट्दै गएको छ । चार वर्षअघि आनाको ६० लाख भनिएको जग्गा अहिले त्यसको आधा मूल्यमा झरेको छ । ३५ सयको सेयर अहिले सय रुपैयाँमा बिक्री हुन्न ।
त्यस्तै, ५० लाखको गाडी लाखमा बिक्दैन । सामाजिक सञ्जाल तथा बजारमा ‘जग्गा किन्दा घर निःशुल्क’ भनिरहेको भेटिन्छ । यद्यपि, त्यो घरजग्गा किन्ने कोही छैन । दुर्गा प्रसाईँ र मीनबहादुर गुरुङले व्यापारीहरूबाट सामान ल्याउने तर पैसा नतिर्ने गरेको समेत सुनिन्छ ।
यता, यिनीहरू प्रत्येक दिन डुब्दै गएका छन् । आम सर्वसाधारणसँग पैसा छैन । बेरोजगारी ह्वात्तै बढेको छ । बजार मन्दीमा छ । धेरैजसो सटर, कोठा र फ्ल्याट खाली भइसकेका छन् । बजारमा घरजग्गा, गाडी र सेयर बेच्न चाहने मात्र भेटिन्छन् ।
किन्ने कोही छैन । सहकारीले करोडौँ बचतकर्ताको खर्बो रकम डुबाउँदा बचतकर्ताहरूको बिजोग भएको छ । उनीहरू घर न घाटका भएका छन् । अब बैङ्कले यस्ता ठुला व्यापारीबाट कसरी पैसा उठाउँछ ? बैङ्क फसिसकेको छ । टाट पल्टिने अवस्थामा पुगेको छ । बैङ्कमा बचतकर्ताहरूले राखेको रकम जोखिमतर्फ मोडिँदै गएको छ ।
दुई वर्षअघि सहकारीमा समस्या निम्तियो । तर, सहकारीहरूले यो कुरा कसैलाई थाहा हुन दिएनन् । यद्यपि, बाँठाटाँठाहरूले भने यो कुरा थाहा पाए । र, सहकारीमा आफूले राखेको रकम भटाभट निकाले । बजारमा सहकारी भाग्न थालेपछि सञ्चालनमा रहेका सहकारीहरूले बचतकर्ताहरूलाई विभिन्न आश्वासन बाँडे ।
आफू स्थानीय बासी भएको र सहकारीको भवन समेत रहेको दाबी गर्दै उनीहरूले सोझासाझा बचतकर्तालाई रकम झिक्न दिएनन् । तर, आज यस्ता सहकारी समेत रातारात फरार भएको छ । बचतकर्ताहरूको बिचल्ली भएको छ । दुई वर्षअघि एउटै पसले वा व्यापारीले ३०-३५ वटा सहकारीमा बचत गर्थे ।
पसलहरूमा सहकारीका कर्मचारीहरूको भीड हुन्थ्यो । त्यस्तै, बाटोमा पनि जताततै सहकारीकै कर्मचारी देखिन्थे । एउटा घरमा नौ वटासम्म सहकारी सञ्चालन गरिएको हुन्थ्यो । अहिले सबै सहकारी भागेको छ । नभागेको पनि बचतकर्ताको रकम फिर्ता गरेको छैन ।
सहकारीजस्तै अब बैङ्कको हालत हुन भएको छ । बुढोपाकाले भन्थे, ‘कहिले बुहारीको पालो, कहिले सासुको ।’ अहिले आम सर्वसाधारणले बैङ्क टाट पल्टिएको थाहा पाइसकेका छन् । बैङ्कमा बचतकर्ता गर्ने छैनन् । निकाल्नेको भीड छ । आम सर्वसाधारणले आफूसँग भएको रकम घरमै लुकाए ।
बैङ्कमा राख्दा सहकारीले जस्तै खाइदिने डर उनीहरूमा छ । सहकारी डुब्दा करोडौँ बचतकर्ताको ३८ खर्ब रकम झप्वाम भएको छ । अब बैङ्क डुब्दा योभन्दा दोब्बर-तेब्बर बचतकर्ताको खर्बो रकम डुब्ने छ । बचतकर्ताहरूको बिल्लीबाँठ हुन्छ । गणेशमान सिंहले नेपाली जनतालाई भेडा भनेका थिए ।
आज उनले नेपालीलाई त्यत्तिकै भेडा नभनेको प्रमाणित भएको छ । बैङ्कले सय रुपैयाँमा निष्कासन गरेको सेयर सर्वसाधारणले दलालीहरूको लौलौमा पाँच हजार हालेर समेत किने । यता, सरकारले आनाको एक लाख निर्धारण गरेको जग्गा ४५ लाखमा किने ।
भारतमा एक लाखमा पाइने सवारीसाधन यहाँ २० लाख हालेर किने । अनि हाम्रो नेपाली नडुबे अरू को डुब्छौँ ? आम सर्वसाधारण, व्यापारी, सरकारी कर्मचारी, राजनीतिक दलका नेता तथा कार्यकर्ता, बैङ्क तथा वित्तीय संस्था सबैको पैसा घरजग्गा, गाडी र सेयरमा फसिसकेको छ ।
९९ प्रतिशत जनताको घरजग्गा, गाडी र सेयर बैङ्क तथा वित्तीय संस्थाको नाममा छ । हाम्रो देशमा सञ्चालनमा रहेको अधिकांश बैङ्कमा विदेशीको लगानी छ । ब्याजको प्रलोभनमा सर्वसाधारणले विदेशीले खोलेको बैङ्कमा बचत गरे । किनकि सरकारी बैङ्कले डिपोजिटको कम ब्याज दिन्छ । अनि ऋण पनि कम नै दिन्छ ।
उदाहरणका लागि ५० लाख मूल्य बराबरको धितो राखेर १५ लाख मात्र कर्जा प्रवाह गर्छ । त्यसमाथि सरकारी बैङ्कका कर्मचारीहरू कर्जा दिँदा घुस खान्छन् । अनि कर्जा दिन पनि महिनौँ दिन लगाउँछन् । प्राइभेट बैङ्कहरूले भने बचतकर्ताहरूलाई बढी ब्याज दिए ।
एक करोड मूल्य बराबरको धितोलाई चिनजान भएमा वा घुस पाएमा डेढ करोडसम्म कर्जा प्रवाह गर्ने । अर्कोतर्फ कर्जा दुई-तीन दिनमै उपलब्ध गराउने । दुर्गा प्रसाईँ र मीनबहादुर गुरुङलाई बैङ्कले यति धेरै ऋण दिएको छ ? तर केको आधारमा ? किनकि यिनीहरूको धितो लिलाम गर्दा पनि बैङ्कले दिएको ऋण असुल्न सक्दैन ।
गत वर्षको माघ ११ गते सङ्घीय संसद् भवन अगाडि प्रेमप्रसाद आचार्यले आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाह गरे । आत्मदाह गर्नुअघि उनले फेसबुकमा लामो स्ट्याटस लेखेका थिए । त्यसमा भाटभटेनीले समेत आफ्नो सामानको पैसा नदिएको उनले जनाएका थिए ।
अहिले दुर्गा प्रसाईँ र मीनबहादुर गुरुङले थुप्रै व्यापारीहरूको सामानको रकम फिर्ता नगरेको सुनिन्छ । यिनीहरूले हजारौँलाई पीडित बनाएका छन् । व्यापारीहरूको अर्बो रकम तिरेका छैनन् । फेरि बैङ्क पनि यिनीहरूले नै डुबाउँदै छन् । प्रसाईँलाई थाहा भइसकेको छ कि अब सरकारले आफूलाई समात्छ ।
बैङ्कको ऋण पनि आफूले तिर्न नसक्नेमा उनी प्रस्ट छन् । अनि आफू बच्नका लागि उनी कहिले सर्वसाधारणलाई बैङ्कसँगै सरकार विरुद्ध आन्दोलन गर्न लगाउँछन् त कहिले राजा कहाँ पुग्छन् ।
राप्रपाले २०७२ सालको संविधान स्विकारिसकेको छ । र, गत मङ्सिर ४ गतेको चुनावमा भाग लिएर १४ सिट समेत जित्यो । अनि प्रसाईँ एक्लैले राजतन्त्र फर्काउन सक्छन् ? प्रसाईँ र गुरुङको रणनीति भनेको जनतालाई भ्रममा पार्ने अनि बैङ्क डुबाउने हो । त्यसैले, अब सरकारले यस्ता व्यक्ति तथा व्यापारीहरूलाई तत्काल कानुनको दायरामा ल्याउनुपर्छ ।
यिनीहरूलाई विदेश जान दिनुहुन्न । यिनीहरूलाई निगरानीमा राख्नुपर्छ । किनकि जुनसुकै बेला पनि यिनीहरू भाग्न सक्छन् ।