वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा नं.१ स्थित चतराधाममा चैत्र २७ गते अर्थात चैत्र महिनाको शुक्ल प्रतिपदा देखि वैशाख शुक्ल अक्षय तृतीया सम्म १ महिना आयोजना हुने पिण्डेश्वर पूर्ण महाकुम्भ मेला महोत्सव सञ्चालनका लागि मूल आयोजक समिति बिस्तार र उप-समितिहरू गठन भएछन ।
शुक्रवार वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख तथा वाह्रवर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेला महोत्सव आयोजक मूल समितिका सह अध्यक्ष रमेश कार्कीको सभाध्यक्षमा आयोजना भएको भेलाले मूल आयोजक समितिको उपाध्यक्षमा नगर उप-प्रमुख नन्दकुमारी सुनुवार, वडा नं. १ का वडाध्यक्ष किसन मगर, वडा नं. २ का वडाध्यक्ष होमप्रसाद गौतम, वराहक्षेत्रका गङ्गाबहादुर मगर, दिपेशजंग बस्नेत, योगेश भण्डारी, शुशिला शेर्पा, सीता भण्डारी पौडेल, अशोक थापा, सुरेश श्रेष्ठ, विराटनगरकी इन्दिरा रिजाल, सुरेश शर्मा, धरानका पितरुमल अग्रवाल, इटहरीका बिष्णु प्रसाद रिजाल, उर्लाबारीका तेजकुमार रिजाल, वासुदेव गौतम रहेका छन् ।
महासचिवमा ओमकुमार शर्मा र प्रह्लाद भट्टराई रहेका छन् । सचिवमा चन्द्र मगर, नारायण नेपाल, अमर कट्वाल, कृष्ण कट्टेल, ईश्बर थापा, पुष्प ढुङ्गाना रहेका छन् । त्यस्तै सह-सचिवमा लक्ष्मी मालाकार, सुरेन राई, जितेन्द्र राई, राम गोपाल खड्का, सुरेन्द्र राई सोबिता कार्की, दिलु गजमेरले जिम्मेवारी पाएका छन् ।
मेलालाई व्यवस्थित बनाउन विभिन्न उपसमितिहरूको संयोजक समेत तोकिएको छ । अनुगमन उपसमितिको संयोजकमा उप-प्रमुख नन्दुमारी सुनुवार, स्वमसेवक उपसमितिको संयोजकमा दिनेश राई, उद्घोषण उप समितिको संयोजकमा प्रह्लाद भट्टराई, भेषराज घिमिरे रहेका छन् ।
त्यस्तै साहित्य सम्मेलन उपसमिति संयोजकमा प्रह्लाद भट्टराई, स्काउट परिचालन उप-समितिको संयोजकमा नवलप्रसाद उपाध्याय, सांस्कृतिक, मनोरञ्जन तथा पर्यटन प्रवर्द्धन उप-समितिको संयोजकमा अजित राई, भजन कीर्तन संयोजक उपसमितिको संयोजक बद्री दाहाल, साजसज्जा उपसमितिको संयोजक अनिल मगर र आलोक श्रेष्ठ, झाँकी व्यवस्थापन उपसमितिको संयोजकमा कपिल आचार्य, सन्त महन्त आभास व्यवस्थापन उपसमिति संयोजकमा भेषराज घिमिरे, यज्ञ अनुष्ठान, गुरु पण्डित व्यवस्थापन उपसमिति संयोजक लोमश रेग्मी त्यस्तै अतिथि स्वागत सम्मान उपसमिति संयोजक राधा शर्मा, इन्धन तथा दाउरा व्यवस्थापन उप-समिति रञ्जित लोहन र युवराज श्रेष्ठ, प्राथमिक स्वास्थ्य उपचार उप-समितिको संयोजकमा चतरा अस्पतालका उपाध्यक्ष प्रदीप बस्नेत र प्रमुख योगेन्द्र कट्टेल, आवास तथा पण्डाल व्यवस्थापन उपसमितिका संयोजक उद्धव घिमिरे, बजार व्यवस्थापन उपसमिति सुरेश श्रेष्ठ, कुमार भट्टराई, प्रचार प्रसार उपसमिति संयोजक सुनिल भट्टराई रहेका छन् ।
मञ्च व्यवस्थापन उप-समिति संयोजक लक्ष्मी मालाकार स्नान स्थल निर्माण उपसमिति संयोजक बुद्ध श्रेष्ठ, बिधुत व्यवस्थापन उपसमिति दीपक राई र प्रकाश राउत, यातायात व्यवस्थापन उपसमिति संयोजकमा किसन मगर र सह-संयोजकमा सन्तोष श्रेष्ठ, खानेपानि व्यवस्थापनमा संयोजक डम्बर सिग्देल र सह-संयोजकमा दीपक कोईरला, शान्ति सुरक्षा व्यवस्थापन उपसमितिको संयोजकमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक रामप्रसाद तिमिल्सिना आर्थिक समितिका उपसमितिको संयोजक भरत पाठक सह-संयोजक ज्ञानु पाण्डे र रमेश बिस्ट रहेका छन् ।
मेलालाई व्यवस्थित बनाउन र मूल आयोजक समितिलाई चलायमान बनाउन सचिवालय समेत भेलाबाट गठन गरिएको थियो । भेलामा नगर उप-प्रमुख नन्दकुमारी सुनुवार, वडाध्यक्षहरू, जनप्रतिनिधिहरू, राजनैतिक दलका प्रतिनिधिहरू, स्थानीयवासीहरू, विभिन्न धार्मिक सङ्घ, संस्थाका प्रतिनिधि, पूर्व जनप्रतिनिधि लगायतका उपस्थिति रहेको थियो ।
महाकुम्भ मेलालाई भव्य बनाउन वाह्रवर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेला महोत्सव मूल समिति र नगरपालिका लागि परिरहेको मूल समितिका सहअध्यक्ष तथा नगर प्रमुख रमेश कार्कीले बताए । चैत्र २७ गते महोत्सव उद्घाटनका लागि सम्माननीय राष्ट्रपति ज्युको आगमन लगायत देशका शिष्ट विशिष्ट महानुभावलाई निमन्त्रणाको काम भएको र अन्य काम समेत भइराखेको नगर प्रमुख कार्कीले बताए । मेलालाई सफल बनाउन प्रदेश तथा सङ्घीय सरकारसँग समन्वय गरी राखेको र सहयोग भइराखेको नगर प्रमुख कार्कीको भनाई छ।
मेलालाई सफल बनाउन नेपाल सरकारले सम्पर्क व्यक्तिको रूपमा प्रधानमन्त्री कार्यालयका सचिव अर्जुन पोखरेललाई जिम्मेवारी दिएको छ । त्यस्तै कोसी प्रदेश सरकारले प्रमुख सचिव केदारनाथ शर्माको संयोजकत्वमा समिति गठन गरेको छ । चतराधाम कुम्भ मेला स्थलमा नेपाल राष्ट्रका प्रथम जगद्गुरु एवम् कुम्भ मेलाका परिकल्पनाकार वालसन्त मोहनशरण देवाचार्यको अध्यक्षता र वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्की सहअध्यक्ष रहेको मूल समिति गठन गरिएको थियो ।
कुम्भको विधान उल्लेखित हस्त लिखित पुस्तक अनुसार नै चतराधाममा कुम्भ मेलाको सुरुवात गरिएको जगद्गुरु वालसन्त मोहन शरण बताउँछन् । अमृतको तर नै भेटिएको पिण्डेश्वर स्थित कौशिकी (सप्तकोसी) नदीमा कुम्भ स्नान गर्नाले पापबाट मुक्त भई मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको छ ।
समुन्द्र मन्थन पछि उत्पन्न अमृतमय कुम्भ घडा आफ्नो बनाउन देवता र दैत्यका बिच भएको लुछातानीको क्रममा जहाँ-जहाँ अमृत खस्यो त्यहाँ-त्यहाँ कुम्भ पर्व लाग्ने गर्दछ । नेपालको चतराधाममा अमृतको पीठ नै खसेकाले कुम्भको चतराधाम राजधानी पनि रहेको छ । भारतको प्रयाग, नसिक, उज्जैन र हरिद्वारमा अमृतको थोपा झरेको भनेर शास्त्रमा उल्लेख रहेको जगदगुरु वालसन्त मोहन शरणले बताए ।
नेपालमा पहिलो पटक २०५९ सालको चैत्र शुक्ल प्रतिपदा अर्थात् चैत्र ६ गते देखि वैशाख शुक्ल तृतीया सम्म १ महिना चतराधाममा कुम्भ महोत्सव आयोजना भएको थियो । जुन महोत्सव नेपालको इतिहासमा पहिलो कुम्भ मेला थियो ।