धरान : धरानका मेयर हर्क साम्पाङले धरानको मौलिक परिकार र स्वादहरूको ब्राण्डिङ गर्ने चाहना रहेको बताएका छन् । यसका लागि विज्ञहरूलाई सुझाव दिन आग्रह गरेका छन् । धरानमा २१ दिनसम्म सञ्चालित पाक शिक्षाको तालिमको समापनका अवसरमा बोल्दै मेयर साम्पाङले प्राविधिक ज्ञानको अधिकतम प्रयोग गर्न विद्यार्थीलाई हौसला प्रदान गरे ।
धरानको पर्यटनलाई समृद्ध बनाउन हस्पिटालिटी सेक्टरको महत्त्वपूर्ण भूमिका रहने भन्दै मेयर साम्पाङले धरानको विशिष्ट स्वादहरू पर्यटक माझ पस्कन आफू लालायित भएको सुनाए । मेयर साम्पाङले धरानको मौलिक स्वादलाई ब्राण्डिङ गरेर लैजानु पर्ने आवश्यकता औँल्याए ।
स्वीट्जरल्यान्डका एक्जेक्युटिभ सेफ गुन्थर नट्जको प्रशिक्षणमा भएको २१ दिनसम्मको तालिममा विद्यार्थीले डेजर्ट आइटम, इटालियन फुड, कन्टिनेन्टल कुजिन, किचन हाइजिङ, फुड डेकोरेसन, फुड स्टोरेजलगायतका सीप आर्जन गरेको कलेजले जानकारी दिएको छ ।
कार्यशालामा प्रशिक्षक नट्जले आफ्नो सिग्नेचर कुजिन 'वाइन सुप' लगायत इटालियन, कन्टिनेन्टल कुजिन प्रस्तुत गरेका थिए । एक्जेक्युटिभ सेफ नट्जले प्रेम, समर्पण र कलात्मकताको संयोजनमा खानालाई तयार गर्न प्रशिक्षार्थीलाई प्रोत्साहन गरेको बताए । 
प्रशिक्षण अवधिको अनुभव सुनाउँदै एक्सेक्युटिभ सेफ नट्जले नेपालमा उपलब्ध स्रोत साधनका आधारमा प्रशिक्षण प्रदान गरेको बताए । २१ दिनसम्म विद्यार्थीले आर्जन गरेको सीप उनीहरूको व्यावसायिक र सामाजिक जीवनमा फलदायी हुने विश्वास व्यक्त गरे । प्राप्त सीपले अन्तर्राष्ट्रिय बजारमा विद्यार्थीलाई घुलमिल हुन सहयोग पुर्याउने उनको भनाइ छ । नेपाली सत्कारको प्रशंसा गर्दै एक्सेक्युटिभ सेफ नट्जले आफू कृतज्ञ भएको बताए । उनले नेपाली मौलिक खानाको बिछट्टै स्वादको सम्झना रहने बताए । 
कार्यशालाका अवसरमा विद्यार्थीले तयार गरेको कुकिज धरानका शिक्षक, प्राध्यापक, जनप्रतिनिधि र सञ्चारकर्मीहरूलाई सर्भ गरिएको थियो । इटालियन तथा कन्टिनेन्टल परिकार, किचन हाइजिङ, फुड डेकोरेसन, फुड स्टोरेज लगायतका सिप सिकेको प्रशिक्षणमा सहभागी विद्यार्थी निशा राईले बताइन् । खानाका परिकारसँगै किचनका रुल्स एण्ड रेगुलेसनबारे जान्ने मौका पाएको निशाले बताइन् । 
समापनमा विद्यार्थीले तयार गरेका  एपटाइजर्समा पटाटो सुप, सलाद, मेन कोर्समा हर्ब राईस, प्यान चिकन विद भेजटेबल्स प्रस्तुत गरेको विद्यार्थी रोहित शाहले बताए ।  धरानको पर्यटनमा 'हस्पिटालिटी सेक्टर'लाई जोड्न पाक शिक्षा प्रशिक्षण कलिनरी वर्कसप सञ्चालन गरिएको कार्यक्रम संयोजक सञ्जीव  बान्तवा राईले जानकारी दिए । 
स्वीस कन्ट्याक्टको संयोजनमा धरान इन्टरनेश्नल कलेज अफ होटेल म्यानेजमेन्टको आयोजनामा प्रशिक्षण भएको कलेजका प्रमुख कार्यकारी निर्देशक लोकेन्द्र श्रेष्ठले जानकारी दिए ।  ८ वर्ष अघि स्थापना भएको कलेजमा हाल ४२ जना विद्यार्थी अध्ययनरत छन् । कलेजले उत्पादन गरेका ३ सय ५० भन्दा बढी विद्यार्थी हस्पिटालिटी क्षेत्रमा कार्यरत रहेको  प्रमुख कार्यकारी निर्देशक श्रेष्ठले बताए ।
तालिममा १५ दिनसम्म विद्यार्थीहरूले प्रशिक्षण लिए भने एक हप्ता प्रयोगात्मक कार्यशालामा सहभागी भए । प्रशिक्षणमा धरानका ४२ जना विद्यार्थीले सहभागिता जनाएका थिए ।