- लोकराज निरौला
नेपाल सरकारको वर्तमान शिक्षा ऐनले चार वर्षको उमेर पूरा गरेका वाल बालिकाहरूलाई एक वर्षको प्रारम्भिक वाल शिक्षा दिने विद्यालयलाई प्रारम्भिक वाल विकास शिक्षाको विद्यालय तोकेको छ ।
कक्षा १ देखि ५ कक्षा सम्मको शिक्षालाई प्राथमिक तह प्रारम्भिक वाल शिक्षादेखि कक्षा ८ सम्मको शिक्षालाई आधारभूत तह कक्षा ९ देखि कक्षा १२ सम्म लाई माध्यमिक शिक्षा गरी ४ तहमा वर्गीकरण गरेको छ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भई राज्यको पुनर्संरचना पछि माध्यमिक तहसम्मको शिक्षाको सञ्चालन नियमन गर्ने अधिकार स्थानीय तहको सरकारलाई दिएको छ । तथापि कक्षा १० र कक्षा १२ को परीक्षाको सञ्चालन र नतिजा प्रकाशन भने राष्ट्रिय परीक्षा बोर्डले । ऐनमा पनि सही व्यवस्था गरिएको छ ।
वर्तमान शिक्षा ऐनले राज्यद्वारा सञ्चालित सामुदायिक विद्यालय र निजी क्षेत्रबाट सञ्चालित संस्थागत विद्यालय दुई पद्धतिका विद्यालय र दुई पद्धतिको शिक्षाको व्यवस्था गरेको छ । राज्यबाट नियन्त्रित र सञ्चालित अर्थतन्त्र रहेको व्यवस्थामा शिक्षा, स्वास्थ्य, र अर्थ नीति पूर्ण दायित्व राज्यको हुन्छ ।
खुल्ला उद्धारवादी अर्थतन्त्रमा निजिक्षेत्रले समेत शिक्षा स्वास्थ्य र वित्तीय संस्था सञ्चालन गर्दछ । त्यस कारण बेला बेलामा अर्थबजारमा उतार चढाव ल्याए जस्तै शिक्षा स्वास्थ्य जस्ता संवेदनशील क्षेत्रमा भ्रम अन्यौलता अस्थिरता पैदा भइरहन्छ ।
अर्थ बजारमा नाफाखोर, ठग र धूर्तहरूले उपभोक्ता तथा श्रमजीवी वर्गलाई ठगेर शोषण गरेर अकुत पुँजी आर्जन गर्ने गरिरहन्छन् । हाम्रो देशमा निजी क्षेत्रलाई वित्तीय संस्था बैङ्क सहकारी संस्था सञ्चालनलाई उदार गरिएको छ ।
निजी क्षेत्रलाई दिँदा अहिले देशैभरि सहकारी ठगी काण्ड चलिरहेको छ । यो प्रकरण कहिले काहीँ निजी बैङ्कतिर पनि सल्किन खोजेको पनि पाइन्छ ।
दुई पद्धतिको शिक्षामा पनि यही कुरा लागू हुन्छ । सरकारी सामुदायिक विद्यालयहरूमा शुल्क पाठ्यक्रम, पाठ्यपुस्तक परीक्षा प्रणाली भौतिक संरचनाको मापदण्ड देशैभरका विद्यालयहरूमा विद्यालय पिच्छे सबै कुरा फरक हुन्छन् ।
शिक्षण विधि र शैलीमा पनि भिन्नता हुन्छ । सरकारी सामुदायिक शिक्षण विधि र शैली प्राय एकै हुन्छ । एक अर्कामा फरक देखिएन वा देखाउन सकिएन भने संस्थागत विद्यालय र सामुदायिक बिच प्रतिस्पर्धा नै हुँदैन ।
भिन्नता नदेखिँदा शिक्षाको मूल सार अर्थ नबुझेका एक अर्काको देखासिकी गर्ने अभिभावकहरूले उनीहरूलाई विश्वास गर्दैनन् । त्यसो भएकैले आजभोलि कतिपय संस्थागत विद्यालयहरू एक अर्कोमा फरक देखिनका लागि विद्यालय वरिपरि पनि बस कुदाउनु परेको छ ।
बार तोकेर विद्यालय पोशाक लगाउनु परेको छ । चाहिने भन्दा बढी पाठ्य पुस्तक लगाउनु परेको छ । गृहकार्य दिने ठाउँ सम्म पाठ नपुगी नै जबरजस्ती गृहकार्य दिनुपरेको छ । सरस्वती पूजा निःशुल्क भर्ना भनेर पछि घुमाएर शुल्क लिइन्छ ।
सबैको आफ्नै बाध्यताका कारण आमाको दूध खाइरहेको बच्चा पनि भर्ना लिइने प्रतिस्पर्धा बढेको छ । जतिसुकै फरक शैली देखाउन र देखिन खोजे पनि सिकाइको स्तर तह अनुसार उस्तै हो । बाल बालिकाहरूको क्षमता लगनशीलता र सृजनशीलता अनुसार सबै सिकाई कहीँ पनि एकै खाले हुँदैन ।
सामुदायिक विद्यालयमा कक्षा ३ पढेको बालक र संस्थागत विद्यालयमा कक्षा ३ पढेको बालकको स्तरमापन एउटै फरक देखिनलाई संस्थागत विद्यालयहरूले अलिक बढी सिकाई गर्नु अलिक बढी ऐच्छिक पाठ्यपुस्तक पढाउनु उनीहरूको बाध्यता हो ।
यसरी दुई पद्धतिको शिक्षाले हुने खानेलाई महँगो शुल्क तिरेर छोरा छोरी पढाउनु शान बनेको छ । तर यी दुई पद्धतिको शिक्षाले सर्वसाधारण निम्न वर्गीय अभिभावकहरूलाई भने यति रणभुल्ला र भ्रम पारेको छ कि सरकारी विद्यालयमा पढाऔँ भने गरिबहरूले पढ्ने, पैसा नलाग्ने स्कुल पढाई राम्रो हुँदैन भन्ने लाग्न थालेको छ ।
पैसा लाग्ने निजी स्कुलमा पढाऔँ भने धेरै पैसा लिने स्कुल राम्रो हो कि थोरै पैसा लाग्ने स्कुल राम्रो हो मोटर गाडी भएको स्कुल राम्रो हो, ठुला चिल्ला भवन घर भएका स्कुल राम्रा हुन की साधारण भवन कोठा भएका स्कुल राम्रा हुन ।
धेरै विद्यार्थी भएका स्कुल राम्रो हुन कि थोरै विद्यार्थी भएका स्कुल राम्रा हुन त्यो पनि थाहा छैन । यति सम्मकी कतिपय ठाउँका अभिभावकहरूले त छोरालाई निजी विद्यालय पठाएर छोरीलाई शुल्क नलाग्ने सरकारी विद्यालय पठाउने अभिभावक पनि छन् ।
कतिपय घर परिवारमा त छोरा छोरी निजी विद्यालय पठाउने कि सरकारी विद्यालय पढाउने विषयमा वाद विवाद हुँदा पति पत्नीको सम्बन्ध समेत बिग्रिएको पनि पाइन्छ ।
अहिले पढेलेखेका भन्दा आफू नपढेका अभिभावकहरू निजी विद्यालयमा छोरा छोरी पढाउन लालायित देखिन्छन् । तर पाँच कक्षा सम्म पढाउन पनि मुस्किल छ । त्यसपछि सरकारी विद्यालयमा लानु पर्छ । यो सबै भ्रम र देखासिकी गर्ने प्रवृत्तिको उपज हो ।
अहिले विद्यालयको शैक्षिक सत्र समाप्त भएर वार्षिक परीक्षा चलिरहेको छ । वार्षिक परीक्षाको नतिजा प्रकाशित भइसेकेको छैन । वार्षिक परीक्षाको नतिजा आइसके पछि धेरैजसो निजी स्कुलका अभिभावकहरूमा एक खाले तनावै उत्पन्न हुन्छ ।
पहिलो, दोस्रो भएन विद्यालय फेर्ने, आफ्नो भन्दा छिमेकीको नानीले राम्रो नतिजा ल्यायो भने आफ्नो नानीलाई अरूसँग तुलना गरेर हेर्न थालिन्छ । मानसिक तनाव दिने, कतिपयले शारीरिक यातना पनि दिने, गरी कुटपिट सम्म गर्छ ।
कतिपयले निजी विद्यालयबाट निकालेर सरकारी विद्यालयमा सारिदिने सम्म गर्दछन् । यसरी अन्यौलता र भ्रममा रुमलिएको छ हाम्रो माध्यमिक तह सम्मको शिक्षा । यस्तो स्थितिले भविष्यका कर्णधार भनिँदै आएका नयाँ पुस्ताको भविष्य अन्योल र भ्रममा बितिरहेको छ ।