धरान : कोरोना भाइरसका थप ३६ जना नयाँ बिरामी थपिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न जिल्लामा थप ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ३६ जनासहित देशभर सङ्क्रमितको सङ्ख्या ५ सय ८४ पुगेको जानकारी दिएका छन् ।

सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैतडी शिवनाथ गाउँपालिकाका चार जनामा कोरोना देखिएको छ। उनीहरू अस्पतालमै थिए। यसअघि उनीहरूमा आरडिटी पोजेटिभ देखिएको थियो। अस्पतालको आइसोलेसनमै रहेका उनीहरूलाई पिसिआर विधिबाट परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको देवकोटाले जानकारी दिए।

उनीहरू २० वर्षका दुई जना, २२ वर्षका एक जना र २७ वर्षका एक जना छन्। उनीहरू सबै पुरूष हुन्। कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा झापा गाउँपालिका झापाका डिल्लीराज मावि क्वारेन्टाइनमा रहेका एक जना ३३ वर्षका पुरूषमा पनि कोरोना पोजेटिभ देखिएको हो।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान गरिएको नमूना परिक्षणमा नरैनापुर मदरसा बाँकेका १७ देखि ३२ वर्ष उमेरका पुरूषहरू ६ जनामा पनि कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

नरैनापुर ३ बाँकेका राष्ट्रिय प्रावि गेललीमा गरिएको नमूना संकलनमा १५ जनामा पोजेटिभ देखिएको छ। उनीहरू १६ देखि ३२ वर्षका पुरूष छन्।

नरैनापुर १ बाँकेकै राष्ट्रिय प्रावि महातनियामा गरिएको नमूना संकलनमा ६ जनामा पोजेटिभ देखिएको छ। उनीहरू २२ देखि ५० वर्ष उमेरका पुरूष हुन्।

बर्दिया बढैयाताल ७ का एक १९ वर्षीय पुरूषमा कोरोना पोजेटिभ देखिएको देवकोटाले जानकारी दिए।

त्यस्तै कर्णाली प्रदेशको सुर्खेतमा दुई पुरूष र एक महिला गरी तीन जनामा कोरोना भाइरस संक्रमण देखिएको हो।

यो सँगै आज अहिले सम्म ६६ जना नयाँ कोरोनाका बिरामी एकै दिन भेटिएका छन् ।