धरान : पछिल्लो समय बट्टाबन्द पेय पदार्थ ‘एक्सट्रिम इनर्जी ड्रिंक्स’ले आक्रामक प्रचार बढाएपछि बजारमा पाइने इनर्जी ड्रिक्सहरुको उपभोग्यताप्रति सरोकारवालाहरूमा चासो बढेको छ ।

प्रभावशाली प्रचारसँगै बजार विस्तारले नेपाली बजारमा प्रचलित इनर्जी ड्रिङ्कहरूको प्रतिस्पर्धामा अघि आएको एक्सट्रिम इनर्जीको रसायन मात्राको बारेमा मिडियामा चर्चा चलेको बेला सरकारको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले इनर्जी ड्रिंक्स सेवनप्रति सर्वसाधारणलाई सचेत गराउँदै विज्ञप्ति जारी गरेको छ।

विज्ञप्तिमा ‘एक्ट्रिम इनर्जी ड्रिंक्स’ भनेर कतै पनि उल्लेख छैन । तर बजारमा पाइने इनर्जी ड्रिङ्कहरूमा उच्च क्याफिन, चिनी र अन्य रसायनहरूको मात्रा पाइएकाले बालबालिका, गर्भवती तथा सुत्केरी महिला, मधुमेह रोगीहरूलाई त्यस्ता इनर्जी ड्रिंक्स सेवन नगर्न आग्रह गरेको छ।

सरकारी निकायको इनर्जी ड्रिंक्सबारे यस्तो विज्ञप्ति नेपाली क्रिकेट एनपीएलको प्रचारमा एक्सट्रिम इनर्जी ड्रिंक्सको प्रयोगपछि आएको देखिन्छ । एनपीएलको सहभागी केही टिमको प्रायोजकको रूपमा एक्सट्रिम प्रतियोगिताको प्रचारमा संलग्न छ ।

विज्ञप्तिमा इनर्जि ड्रिंक्सका उत्पादक तथा विक्रेतालाई प्रचलित कानुन अनुसार आवश्यक अनुमति लिएर मात्र विज्ञापन तथा प्रचार प्रसार गर्न र उत्पादनको लेबलमा उल्लेख गरिएका चेतावनी सन्देश तथा सुरक्षित उपभोग सम्बन्धी जानकारी स्पष्ट रूपमा सम्प्रेषण गर्न आग्रह गरिएको छ ।

इनर्जी ड्रिंक्सको प्रचारको प्रतिस्पर्धामा संयोगवश आएको यो विज्ञप्तिमा खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्ने कार्यलाई प्राथमिकतामा राख्दै विभागले वैज्ञानिक तथ्य र अन्तर्राष्ट्रिय मापदण्डका आधारमा खाद्य पदार्थको गुणस्तरसम्बन्धी विषयमा ध्यानाकर्षण गराइएको उल्लेख छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विज्ञप्तिमा ‘एक्सट्रिम’को नाम उल्लेख नगरी इनर्जी ड्रिंक्स बालबालिका,गर्भवती तथा सुत्केरी महिला, मधुमेहलगायतका रोग भएका व्यक्ति र क्याफिनप्रति संवेदनशील व्यक्तिले सेवन गर्न नहुने जनाएको छ ।

विभागका अनुसार नेपालमा हाल १७ वटा उद्योगले सम्बन्धित निकायबाट अनुमति लिएर इनर्जी ड्रिंक्स उत्पादन तथा बिक्री वितरण गरिरहेका छन् । विज्ञप्तिमा उत्पादनहरूको ब्राण्डनेमहरु भने विज्ञप्तिमा उल्लेख छैन ।

उत्पादनको लेबल विवरण र प्रयोगशाला विश्लेषण प्रतिवेदन अनुसार ती इनर्जी ड्रिंकसहरुकमा प्रतिक्यान १०० मिलिग्राम क्याफिन प्रयोग गरिएको पाइएको उल्लेख छ । युरोपेली खाद्य सुरक्षा प्राधिकरण ईएफएसए र अमेरिकी खाद्य तथा औषधि प्रशासन यूएसएफडीए लगायतका संस्थाले तोकेको मात्रा अनुकूल हो ।

यसअघि मिडियाहरूमा एक्सट्रिमको एउटै बोतलमा क्याफिन र चिनीको मात्रा तोकिए भन्दा धेरै भएको र यसमा मिसाइने ‘टौरिन’ नामक तत्त्वले क्याफिनको प्रभावलाई झनै तीव्र बनाई मानव स्वास्थ्यमा असर गर्ने आशङ्का जनाइएको थियो ।

विभागले स्पष्ट गर्दै भनेको छ ‘तर इनर्जी ड्रिंक्स लाई पानी, जुस, दूध, मोही लगायतका पौष्टिक पेय पदार्थ जस्तै वा ती पेय पदार्थको विकल्प होइन ।’ स्वस्थ मानिसले इनर्जी ड्रिंक्सको सुरक्षित उपभोग सकिने तर अन्य पेय पदार्थमा मिसाएर सेवन गर्न नहुने पनि विभागले जनाएको छ ।

विज्ञप्तिमा विभागले इनर्जी ड्रिंक्सको सुरक्षित उपभोगबारे उपभोक्ता, उत्पादक तथा सरोकारवालालाई जानकारी गराउन सार्वजनिक आग्रह गरेको जनाएको छ । विज्ञप्तिमा भनिएको छ ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन,२०८१ विपरीत कार्य गर्ने व्यवसायीलाई कानुन अनुसार कारबाही गरिने छ ।’

एनर्जी ड्रिङ्क उत्पादकहरूले खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्ने कार्यलाई प्राथमिकतामा राख्दै वैज्ञानिक तथ्य र अन्तर्राष्ट्रिय मापदण्डका आधारमा खाद्य पदार्थको गुणस्तर सम्बन्धी विषयमा जानकारी सम्प्रेषण गर्नु पर्ने जनाएको छ ।

khadya PR