इटहरी : इटहरीमा रहेको भरोसा एजुकेसन कन्सल्टेन्सीमा अध्ययन गरी जापानको भिसा प्राप्त गरेका ८ जना विद्यार्थीलाई आज एक कार्यक्रमबिच बिदाइ गरिएको छ। विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै आयोजित कार्यक्रममा उनीहरूलाई सफलताको शुभकामना दिइएको हो।
कार्यक्रममा सीबी कलेज इटहरीका अध्यक्ष देशबन्धु कार्की प्रमुख अतिथि थिए। आफू पनि लामो समय अस्ट्रेलियामा बसेर नेपाल फर्किएको अनुभव सुनाउँदै कार्कीले विदेशमा अध्ययन तथा काम गर्दा मेहनत, अनुशासन र सीपलाई प्राथमिकता दिन विद्यार्थीहरूलाई सुझाव दिए। अहिले आफू इटहरीमै व्यवसायमा सक्रिय रहेको बताउँदै उनले विदेशमा सिकेको ज्ञान र अनुभवलाई भविष्यमा आफ्नै देशमा उपयोग गर्न आग्रह गरे।
भरोसा एजुकेसन कन्सल्टेन्सीका सञ्चालक नुतन लुइँटेलले विद्यार्थीहरूको सफल भविष्यको कामना गरे। लामो समय जापान बसेर फर्किएका कन्सल्टेन्सीका सञ्चालक तथा जापानी भाषा शिक्षक मदन बनले जापानमा भाषा अत्यन्त महत्त्वपूर्ण रहेको बताउँदै जापानी भाषा राम्रोसँग जान्ने विद्यार्थीलाई अध्ययन तथा काममा सहज हुने बताए।
कार्यक्रममा इटहरी जेसीजका पूर्वअध्यक्ष लोकनाथ भण्डारी, कन्टेन्ट क्रिएटर दीपक गौली र सम्भावना भण्डारी, चेवन खतिवडा लगायतले विद्यार्थीहरूलाई शुभकामना दिएका थिए। कार्यक्रममा विद्यार्थीहरूलाई जापानमा सफल शैक्षिक यात्रा र उज्ज्वल भविष्यको शुभकामनासहित बिदाइ गरिएको थियो।








































































