पथरी : बेलबारी फुटबल क्लबलाई टाइब्रेकरमा पछि पार्दै यो ब्रदर्श श्रीजंगा फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको छ ।

मोरङको पथरी शनिश्चरे-१० मा आयोजना भइरहेको ५ औँ संस्करणको अन्तर्राष्ट्रिय रिफ्युजी च्यालेन्ज कप फुटबलको आजको खेलमा बेलबारीलाई पछि पार्दै श्रीजंगाले सेमिफाइनल यात्रा तय गरेको हो ।

निर्धारित समयमा खेल २-२ गोलको बराबरी खेलेपछि टाइब्रेकरबाट खेलको निर्णय लिइएको हो । खेलको ६ मिनेटमा श्रीजंगाका सनम धिमालले उत्कृष्ट गोल गरे ।

५४ औँ मिनेटमा श्रीजंगाका रोहन कार्कीले एकल प्रयासमा टिमलाई दोस्रो गोल गरेका थिए । बेलबारीका सुसन लामाले १६ औँ मिनेटमा गोल गरेका थिए ।

खेलको २९ औँ मिनेटमा कासिम राईले गोल गरे । निर्धारित समयमा दुवै टिमले बराबरी खेलेपछि खेल टाइब्रेकरमा पुग्यो ।

टाइब्रेकरमा बेलबारीका विवेक पौडेल, मौसम लिम्बू र विक्रम धिमालले गोल गरे । श्रीजंगाका तर्फबाट सनम भुजेल, राजकुमार कन्दङ्वा, दिवस गिरी र सन्तोष न्यौपानेले गोल गरे ।

आजको खेलको म्यान अफ दि म्याच श्रीजंगाका गोल रक्षक विशाल दर्लामी मगर घोषित भए । मगरले ५ हजार रुपैयाँ र मेडल प्राप्त गरे ।

मङ्गलवारको सेमिफाइनल खेल दुधे फुटबल क्लब झापा र यो ब्रोदर श्रीजंगा इलाम बिच हुने आयोजक कमिटीले जनाएको छ ।