धरान : धरान रङ्गशालामा जारी तेस्रो सुवास राई स्मृति सुपर-८ फुटबल प्रतियोगिताको लिग चरणको खेलबाट ६ अङ्क प्राप्त गर्दै धरान १४ सेमिफाइनल प्रवेश गरेको छ ।

प्रतियोगिताको सोमबार भएको खेलमा धरान ८ लाई १-० गोलले स्तब्ध बनाउँदै धरान १४ प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको हो ।खेलको १५ औँ मिनेटमा सरोज राईले गरेको गोल नै आजको खेलमा निर्णायक गोल बन्यो । सोही गोलले धरान १४ लाई सेमिफाइनलको यात्रा तय गराएको हो ।

खेलको म्यान अफ दि म्याच विपिन श्रेष्ठ घोषित भए । उनले नगद २ हजार सहित जिएफएक्स फुडको ५ सयको गिफ्ट ह्याम्पर प्राप्त गरे।

लिग चरणको ए पोल खेलबाट ९ अङ्क प्राप्त गर्दै धरान १३ सिनियर भएको छ । धरान १४ ले ६ अङ्क प्राप्त गरेको छ । धरान १३ र १४ लिग चरणको खेलबाट सेमिफाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिताबाट धरान ५, ६ र ८ बाहिरिएका छन् ।

प्रतियोगिता हाम्रो धरान भेट्रान फुटबल क्लबको आयोजनामा सञ्चालन भएको हो । प्रतियोगितामा गोधुली अन्तर वडा फुटबल प्रतियोगितामा छानिएका उत्कृष्ट ८ वटा टिम बिच लिग चरणका खेल चलिरहेको छ।

प्रतियोगितामा अङ्कको आधारमा उत्कृष्ट छानिएका टिमहरू बिच लिग कम नकआउटको आधारमा २ वटा सेमिफाइनल खेल हुनेछ । 

प्रतियोगिताको विजेता टिमले २ लाख ५५५ र उपविजेताले १ लाख ५५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिताको भोली मङ्गलवार हुने लिग चरणको अन्तिम खेल धरान ११ र धरान १७ बिच हुनेछ ।