धरान : धरान रङ्गशालामा जारी तेस्रो सुवास राई स्मृति सुपर-८ फुटबल प्रतियोगिताको मङ्गलवार भएको लिग चरणको अन्तिम खेलमा धरान ११ र धरान १७ बिचको खेल गोल विहीन बराबरीमा टुङ्गिएको छ ।

निर्धारित ८० मिनेटको खेल अवधिभर दुवै टिमले थुप्रै गोल गर्ने अवसरलाई सदुपयोग गर्न नसक्दा खेल कुनै गोल नभई बराबरीमा टुङ्गिएको हो ।

खेलको म्यान अफ दि म्याच धरान ११ का समिप राई घोषित भए । उनले नगद २ हजार सहित जिएफएक्स फुडको ५ सयको गिफ्ट ह्याम्पर प्राप्त गरे ।

लिग चरणको बि पोल खेलबाट ५ दशमलव २ अङ्क प्राप्त गर्दै धरान ११ सिनियर भएको छ । धरान १७ ले ६ दशमलव १ अङ्क प्राप्त गरेको छ । धरान ११ र १७ लिग चरणको खेलबाट सेमिफाइनलमा प्रवेश गरेका छन् ।

२० गते हुने सुपर-८ खेल धरान १३ र धरान १७ बिच हुने छ । २१ गते हुने खेल धरान ११ र धरान १४ बिच हुने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिता हाम्रो धरान भेट्रान फुटबल क्लबको आयोजनामा सञ्चालन भएको हो । प्रतियोगितामा गोधुली अन्तर वडा फुटबल प्रतियोगितामा छानिएका उत्कृष्ट ८ वटा टिमसँग कुल १५ खेल लिग चरणमा भएको छ ।

प्रतियोगितामा अङ्कको आधारमा उत्कृष्ट छानिएका टिमहरू बिच लिग कम नकआउटको आधारमा २ वटा सेमिफाइनल खेल हुनेछ ।

प्रतियोगिताको विजेता टिमले २ लाख ५५५ र उपविजेताले १ लाख ५५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ ।