झापा : नेपाली काँग्रेसका प्रभावशाली केन्द्रीय सदस्य डा. शेखर कोइरालाले राजनीतिक स्थायित्व भए नेपालमा विदेशी लगानी आउन कुनै सम्मेलननै गर्नु नपर्ने बताएका छन् ।

नेपाल सरकारद्वारा काठमाडौँमा आयोजित तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनका बारेमा टिप्पणी गर्दै नेता कोइरालाले उक्त कुरा बताएका हुन् । झापाको गौरादहमा काँग्रेसको नवनिर्मित 'बिपी स्मृति भवन' उद्घाटन कार्यक्रममा उनले भने, 'सरकारले गरेको लगानी सम्मेलनबाट अपेक्षा गरिए अनुसारको लगानी नआउने बताए ।'

उनले भने, ‘यदि देशमा राजनीतिक स्थायित्व थियो भने लगानी भित्र्याउन कुनै सम्मेलन गर्नुपर्दैनथ्यो ।' नेपालमा लगानीका लागि अनुकूल वातावरण छ, ऐन कानुनहरू लगानीमैत्री छन् । सरकारले लगानीको सुरक्षाको ग्यारेन्टी गर्छ भन्ने लगानीकर्तामा विश्वस्त गराउनु जरुरी भएको उनको भनाई थियो ।

सरकारपिच्छे नीतिहरू परिवर्तन हुन्छन् । त्यही भएर पनि अहिलेको अवस्थामा लगानीकर्ताले ढुक्कले लगानी गर्ने अवस्था नदेखिएको उनले बताए ।

विगतमा भएको लगानी सम्मेलनको परिणामको समीक्षा हुनुपर्नेमा बताउँदै नेता कोइरालाले भने, ‘सम्मेलनमा गरिएका प्रतिबद्धता र समझदारी अनुसार कतिको लगानी भित्रियो भनेर समीक्षा गर्नुपर्छ ।’

कोइरालाले सरकार चलाउनभन्दा पनि निर्वाचन प्रणाली परिवर्तन गरेर राजनीतिक स्थायित्वका लागि काँग्रेस र एमाले एकै ठाउँमा उभिन पर्ने बताए । अहिलेको निर्वाचन प्रणाली नै राजनीतिक स्थायित्वको बाधक रहेको भन्दै कोइरालाले यो निर्वाचन प्रणाली रहँदासम्म राजनीतिक स्थायित्व नहुने बताए ।

कोइरालाले आफू कुनै पनि हालतमा निर्वाचन प्रणाली परिवर्तन गरिछाड्ने अभियानमा लागेको समेत बताए । सङ्कटको यो समयमा देशलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने आवश्यकता रहेको उनको भनाई थियो ।