इटहरी : इटहरी खानेपानी उपभोक्ता संस्थाको नयाँ कार्यसमिति चयनको लागि नेकपा एमाले भित्र प्रतिस्पर्धा चुलिएको छ । परिषद् सदस्यमा एमालेको बहुमत भएपछि अध्यक्ष सहित अन्य पदाधिकारी टुङ्गो लगाउन पार्टी नेताहरू छलफलमा जुटेका छन् ।

सोमबार इटहरी नगर पार्टी कार्यालयमा बसेको बैठकले अध्यक्षका दुई दाबेदार बिचमा चुनाव गराउने सहमति गरेको छ । नगर कमिटी अध्यक्ष समेत रहेका यामकुमार सुब्बा र प्रेम बहादुर बस्नेतले अध्यक्षमा दाबी गरेपछि आन्तरिक निर्वाचनको विधि अपनाइएको हो । 

सहमतिको प्रयास सफल नभएपछि एमालेबाट निर्वाचित वडा प्रतिनिधिले मतदान गरेर विजयीलाई अध्यक्ष र पराजितलाई उपाध्यक्षमा समेट्ने गरी सहमति जुटेको हो । मङ्गलवार इटहरी पार्टी कार्यालयमा हुने निर्वाचनमा एमालेबाट निर्वाचित १३२ वडा प्रतिनिधिले मतदान गर्ने भएका छन् ।

खानेपानी संस्थाका कुल १८३ मतदाता मध्ये २ जनाको मृत्यु भइसकेको छ । १८१ मतदाता मध्ये दुईतिहाई भन्दा बढी नेकपा एमाले समर्थित छन् । वडाबाट आएका १६३ प्रतिनिधि र वर्तमान कार्यसमिति र लेखा समिति सदस्यहरूले मतदान गर्न पाउने भएका छन् ।

वर्तमान कार्यसमितिमा पनि नेकपा एमालेकै नेताहरू भएकाले इटहरी खानेपानीको नेतृत्वमा एमालेको बलियो दाबेदारी रहेको छ । अन्य पार्टीका प्रतिनिधिको सङ्ख्या अत्यन्तै कम भएकाले एमालेकै निर्णय आधिकारिक हुने भएको हो । एमाले बिचको आन्तरिक सहमतिकै आधारमा निर्वाचनको मनोनयन हुने र सोही अनुसार नयाँ कार्यसमिति आउने प्रष्ट छ ।

अध्यक्ष सहित कार्यसमिति चयनको लागि वैशाख २२ गते निर्वाचन हुँदैछ । निर्वाचन प्रमुख अर्जुन दाहालका अनुसार अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष, महासचिव, सचिव सहित १५ सदस्यीय कार्यसमिति र ५ सदस्यीय लेखा समिति चयन हुने भएको छ । २० गते उम्मेदवारी दर्ता गर्ने र २२ गते निर्वाचन गरेर नयाँ कार्यसमिति चयन गर्ने तालीका रहेको उनको भनाइ छ ।