धरान : भारतीय सुप्रिम कोर्टमा बाबा रामदेवको ब्लड प्रेसर, सुगर, थाइराइड, छाला रोग च्वाट्टै निको बनाउने औषधीको प्रचारमा मुद्दा चलिरहेको बेला उत्तराखण्ड राज्य सरकारले पतञ्जलिको १४ औषधिजन्य उत्पादनको लाइसेन्स खारेज गरेको छ ।

मुद्दा सुनवाइको क्रममा उत्तराखण्ड सरकारले सुप्रिम कोर्टलाई उक्त जानकारी दिएको हो । अदालतलाई राज्य सरकारले दिएको जानकारी अनुसार १५ अप्रिलको मितिमा एक आदेश जारी गर्दा पतञ्जलिको १४ उत्पादनको लाइसेन्स खारेज गरेको बिबिसीले समाचार दिएको छ ।

राज्य सरकारले ड्रग्स एण्ड म्याजिक रेमेडीज कानुन उल्लङ्घन गरेको आरोपमा बाबा रामदेव, आचार्य बालकृष्ण सहित पतञ्जलि विरुद्ध आपराधिक उजुरी दर्ता गरेको छ ।

लाइसेन्स खारेज गरिएको औषधिजन्य उत्पादनहरूमा स्वासरी गोल्ड, स्वासरी वटी, ब्रोकोम, स्वासरी प्रवाही, स्वासरी अवलेह, मुक्ता वटी एक्ट्रा पावर, लिपिडोम, बिपी ग्रिट, मधु ग्रिट, मधु नाशिनी वटी एक्ट पावर, लिवामृत एडवान्स, लिवो ग्रिट, आइग्रिट गोल्ड र पतञ्जलि दृष्टि आइठ्रप छन् ।

सुप्रिम कोर्टमा बाबा रामदेव र पतञ्जलिका प्रबन्ध निर्देशक बालकृष्णको विरुद्धमा अदालतको मानहानिको मुद्दा सुनवाइ भइरहेको बेला राज्य सरकारले उक्त कारबाही गरेको हो ।

भारतीय सर्वोच्च अदालत सुप्रिम कोर्टमा इन्डियन मेडिकल एसोरिएशनले २०२२ मा रामदेव सहितका विरुद्ध दायर गरेको रिटमा सुनवाइ चलिरहेको छ । रिटमा कोभिड भ्याक्सिन अभियान र चिकित्सा क्षेत्रको आधुनिक प्रणाली बदनाम गराउन खोजेको आरोप लगाइएको छ ।

साथै पतञ्जलिसँग सम्बन्धित दिव्य फार्मेसी विरुद्ध एक विज्ञापन विरुद्धको मुद्दामा पनि सुप्रिम कोर्टमा सुनवाइ चलिरहेको छ । उक्त विज्ञापनमा ब्लड प्रेसर, सुगर, थायराइड देखी छाला रोग सम्मको बिरामीलाई च्वाट्टै निको बनाउने दाबी गर्दै आधुनिक चिकित्सा विज्ञानको आलोचना गरिएको छ ।

उक्त मुद्दामा बाबा रामदेव र बालकृष्ण दुवैले अदालतमा उपस्थित भई माफी भने मागी सकेको बिबिसीले समाचारमा उल्लेख गरेको छ ।