हाम्रो भेट मात्र भेट थिएँ
एउटा अपूर्व संयोग थियो
कुनै प्रेमी प्रेमिकाले गर्ने
प्रेमको शुभारम्भ थियो
प्रत्येक चोटी तिमीसँग भेट हुँदा
तिम्रा सङ्घर्षका कथाले मेरो मन छुने गर्थ्यो
तिम्रा वेदनाका आँसुले मेरो मन पनि
तिम्रो मन झैँ द्रवित हुने गर्थ्यो
तिम्रो हौसला र इमान्दारी देख्दा
सधैँ गर्व बोध भएकै हो नि !

मेरो पनि आग्रह अनि
तिम्रो पनि सहमतिमा
तिमीसँग पटक पटक मैले भेट गर्नु
कुनै पूर्वाग्रह थिएन
केवल तिमीप्रति एउटा
विश्वास र आस्था मात्र थियो,
तिम्रो सौन्दर्यमा लठ्ठै भएर पनि
मैले तिमीसँग भेट गर्ने गरेको होइन
न त कुनै वासनाको मद आशक्ति नै थियो
सधैँ सधैँ तिमीसँग भेट गर्ने चाहना
जस्तै कठिन अवस्थामा पनि मरेन
सम्बन्धका टकराबहरूमा पनि रोकिएन हाम्रो भेटघाट
मनभित्र जति पीडा भए पनि रोकिएन हाम्रो भेटघाट
यथार्थमा जब तिमीलाई पहिलो चोटी भेटेको थिए ।

मेरो मनको मिलन तिम्रो मनसँग त्यतिखेरै भएको थियो
हो त्यसैले तिमीलाई अलि अलि चोट लाग्ने बित्तिकै
त्यसको असाध्य पीडा मलाई हुने पनि हुने गर्थ्यो

तिम्रो खुसी नै मेरो खुसी
तिम्रो कथा व्यथा नै मेरो पनि कथा व्यथा
हो त्यसैले झन् पटक पटक भेटेर तिमीलाई
मेरो माया पोख्न हर सम्भव प्रयासमा लागेकै हो
मानौँ एउटा भागवत प्रेम जस्तो
केवल करुणा मात्र भरिएको प्रेम
मलाई थाहा थिएँ मायाको अर्थ
कहिलेकाहीँ साँघुरो पनि हुँदो रहेछ
मायाको अर्थ गलत पनि लाग्दो रहेछ
त्यसैले तिमी र म आज दोबाटोमा उभिएका छौ
टक्क रोकिएका छौ
मानौँ तिम्रो मनमा पनि शङ्काको
ज्वाला अग्नि बलेको छ
मप्रति तिम्रो विश्वास कतै डगमगाएको छ
तर यो त केवल मनको गलत शङ्का मात्र हो
तिमीले मप्रति गरेको शङ्का निराधार हो
हो यतिखेर तिमीसँग भेट हुन् नसकेर
मेरो मन मैनबत्ती झैँ पग्लिरहेको
तिमीले व्यक्त गरेका शंङ्काहरुले
निरन्तर मुटु जलिरहेछ

तर सबै शङ्काको समाधान केवल विश्वास हो
मान्छेले केवल मान्छे भित्रको मान्छे चिन्न सक्नु पर्छ
तिम्रो र मेरो जीवनको यात्रा अलग हो
तर गन्तव्य भने फरक छैन
तिमी र म दोबाटोमा रोकिए पनि
गन्तव्य हामीले तय गर्नुनै छ

त्यसैले फेरि पनि मैले विश्वासको हात बढाएको छु
आउ तिमी फेरि हात समाउँ
मजबुत गरेर यात्रामा अघि बढौँ
शङ्काका सबै तुवांलोहरुलाई चिर्दै
फेरि पनि तिम्रो र मेरो मनलाई एकीकरण गरौँ
गलत अर्थको शङ्काभित्र जेलिएर होइन
आऊ फेरी सम्बन्धका नवीन डोवहरू खोजौँ !
सदासदाको लागि एकअर्कामा समर्पित भएर !

खोटाङ, हाल धरान सुनसरी