धरान: कोशी करिडोर २२० केभी प्रसारण लाइन(हाइटेन्सन) रोकिएको बारे सोमबार आयोजित सर्वपक्षीय छलफलमा धरान उपमहानगरकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले एउटा गम्भीर कुरा खोलिन्,‘मलाई फेसबुकमा विकास विरोधी भन्ने आरोप लगाएर ट्याग हुन थालिसक्यो ।’

विकास निर्माण र समृद्धिको अभियान नेतृत्व गर्ने पदमा पुगेकी स्थानीय सरकारकी कार्यवाहक प्रमुखलाई फेसबुकमा विकास विरोधी भन्दै ट्याग गरिनुको कारण थियो, २२० केभी प्रसारण लाइनको टावर निर्माणलाई धरानको वडा नं २० मा अवरोध पुग्नु । स्थानीयले आफुहरुसँग पर्याप्त छलफल नगरी र हाइटेन्सनले पार्ने असरबारे थाहै नदिएको भन्दै एक महिनादेखि काममा अवरोध गरेका छन् । उनीहरुले स्थानीय सरकारलाई गुहारेपछि उपमहानगरपालिकाले पनि करिब २१ वटा हाइटेन्सनको टावरको एलाइमेन्ट सार्न भन्दै कार्यवाहक प्रमुखले आयोजना, विद्युत प्राधिकरण र उर्जामन्त्रीसमेतलाई पत्राचार गर्दै भेट गरिसकेकी छिन् । उनलाई विकास विरोधी भन्दै फेसबुकमा ट्याग गर्नेहरु हाइड्रोमा लगानी गर्ने नेता, सांसदहरुसमेत छन् ।

धरानमा कुनै पनि आयोजनाको विरोध गर्ने प्रवृत्ति विकास हुदै गएको छ, भनिन्छ । र, त्यसरी विरोध गर्नेहलाई विकास विरोधी भन्ने ट्याग लगाइदिएर उछितो काड्ने, वद्नाम तुल्याउने चलन छ । त्यही भएर विकास विरोधी भन्ने ट्याग नलागोस् भन्नेमा धरानेहरु सजग हुन्छन् । धरानेहरु साँच्चै विकास विरोधी नै हुन् कि यहाँ ल्याइएको आयोजनाहरु कार्यान्वयन गर्ने निकाय वा व्यक्तिहरुमा समस्या हो ? सोमबार हाइटेन्सनबारे आयोजित सर्वपक्षीय छलफलमा यो बिषयले पनि प्रवेश पायो । कार्यवाहक प्रमुख भण्डारीले आफु विकासको विरोधी नभएको कुरा दोहोर्याउदै हाइटेन्सनले वातावरणीय प्रभाव मुल्यांकन, सर्वे डिजाइन गर्दा जनता र सरोकारवालासँग पर्याप्त छलफल नगर्दा अहिले समस्या भएको बताइन् । हाइटेन्सनले धरानको पर्यटन, पुर्वाधार विकासलाई पनि गम्भीर असर पर्ने भएकोले एलाइमेन्ट सार्न भनिएको जिकिर गरिन् । ‘संघीय सरकारको आयोजनाले स्थानीयसँग समन्वय गर्दैन, र समस्या हुन्छ, त्यसको जवाफदेही हामी(स्थानीय जनप्रतिनिधि) हुनुपरिरहेको छ,’उनी भन्छिन् ।

IMG_9879 copy

धरानमा विवादमा परेको हाइटेन्सन मात्र पहिलो आयोजना होइन । यसअघि, एडिबिको ऋण तथा अनुदानमा सञ्चालित खानेपानी आयोजना, बसपार्क सार्नेसहितको तीनकुने सुन्दर बस्ती विकास आयोजना, भानुचोकमा बनाउने भनिएको सपिङ कम्प्लेक्स, एयरपोर्ट निर्माण पनि विवादको भुमरीमा फसेको थियो । ति बिषयहरुमा कसैले टिकाटिप्पणी गर्यो कि विकास विरोधी भनेर खेदो गरिन्छ । तर, ती आयोजनाहरु किन सफल भएनन् ? धरानेहरुकै विरोधले हो कि आयोजना कार्यान्वयन गर्ने तहका नेता, कर्मचारीहरुको स्वार्थ वा ढिलासुस्तीले हो ? यसतर्फ ध्यान पुग्न सकेको छैन ।

सोमबारको छलफलमा पुर्वमाओवादीका नेता चोत्लुङले खुलेरै भने,‘हिजो आइयुडिपीको खानेपानी आयोजना पनि हामीले भोग्यौ । प्रक्रिया मात्र पुरा गर्ने तर फिल्डमा प्रत्यक्ष सरोकारवालाहरुसँग समन्वय नगर्ने, छलफल नगर्ने परिपाटीले समस्या भोग्यौ । हाइटेन्सनमा पनि फिल्डमा आएर अध्ययन नगर्दा, डाटा नलिदाको परिणाम भोग्दैछौ ।’ छलफलका सहभागीहरु सबैले नै आयोजना सफल गराउन आफुहरुले सहयोग गर्ने प्रतिवद्धता जनाए, तर सँगसँगै भने,‘जनतालाई उठिबास लगाउने, धरानको पर्यटन विकासलाई ठप्प पार्ने हाइटेन्सनको एलाइमेन्ट सारौ ।’

धरानका पुर्वमेयर ध्यानबहादुर राई विरोध हुनु स्वभाविक भएपनि सिस्टमेटिक नहुदा समस्या भएको धारणा राख्छन् । आलोचनात्मक टिप्पणीलाई विकास विरोधी भनिनु उचित नहुने उनले बताए । ‘तीनकुने सुन्दर वस्ती आयोजना हेर्नुस्, खानेपानी आयोजना लथालिङ् छ र एयरपोर्ट हेर्नुस्, ती सबैमा नेता कर्मचारीहरुको स्वार्थले आज यो अवस्था भएको होइन र ? सबै बिकाउ भएर नै हो,’कपुरीन्यूजसँग उनले भने,‘त्यसको विरोध हुनु स्वभाविक छ, तर विरोध सिस्टमेटिक हुनुपर्छ । विरोध गर्ने र अन्त्यमा 'प्रसाद' लिएर थन्कने चै गर्नुभएन ।’