गत वर्ष (२०७७) को पुस-माघ महिनामा राजधानी कठमाण्डौमा लगातार तीन दिनसम्म कुहिरो, हुस्सु अथवा भनौँ तुवाँलो लाग्नाले पटक्कै घाम लागेन । घाम नलागेको मात्रै होइन, हावा पनि चलेन । फलतः ‘बाउल/कचौरा’ आकारको काठमाडौँ उपत्यकालाई अरू समयमा भन्दा बढी वायु प्रदूषणले च्याप्यो । त्यति वेला चिसो पनि अत्यधिक मात्रामा बढेको थियो।

जलवायु परिवर्तन विज्ञहरूका अनुसार नेपालको राजधानी काठमाडौँ विश्वकै ५० प्रदूषित सहरमध्ये पहिलो नम्बरमा रहेको थियो/छ। सो समयमा डा. माधव अधिकारीले 'नेपाल समाचारपत्र दैनिक' मा एक लेखमा लेखेअनुसार वायुको गुणस्तर सूचांक (एक्युआई) काठमाण्डौको रत्नपार्कमा ३७१, ललितपुरको भैंसेपाटीमा ३२९, र भक्तपुरमा २१६, चितवनको सौराहामा २१० अङ्क रहेको थियो। जबकि सोही लेखमा उल्लेख भएअनुसार विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार भने, वायुको गुणस्तर सूचांक (एक्युआई) ३५ भन्दा कम राम्रो, ५१ देखि १०० सम्म सामान्य, २०१ भन्दा माथि अस्वस्थ्यकर र, ३०१ भन्दा माथि घातक हो। यसरी हेर्दा नेपालमा जहाँ जहाँ वायुको गुणस्तर सूचांक (एक्युआई) मापन गरिएको थियो, ती सबै ठाउँमा वायुको गुणस्तर सूचांक (एक्युआई) घातक रहेको देखिन्थ्यो।

त्यसो त धेरै अघिदेखि विश्वभरि जलवायु परिवर्तनको बढ्दो क्रम र त्यसको असरलाई कम गर्नका लागि सम्बन्धित विषयमा चासो राख्ने विषय विज्ञ, वैज्ञानिक, खोज-अनुसन्धानकर्ता, वातावरणविद् लगायत जलवायु परिवर्तनका बारेमा चिन्ता व्यक्त गर्नेहरूले आवाज उठाउँदै आएका छन् । त्यसो भए तापनि जलवायु परिवर्तनका कारण हुने वातावरण विनाश, हिमनदी पग्लने क्रम र, यसले हिमाली र पहाडी क्षेत्रमा बसोबास गर्ने मानिसहरूमा पार्ने दीर्घकालीन असर, स्वच्छ पानीको मुहान सुक्ने वा अन्त्य हुने, बेमौसममा आउने बाढी, पहिरो आदिका लागि कसले जिम्मेवारी लिने र यसका रोकथामका लागि कसरी काम गर्ने ? भन्ने विषयमा मतैक्य हुन सकेको छैन।

विश्वका ठुला विकसित र औद्योगिक देशहरू अमेरिका, रुस, चीन, अस्ट्रेलिया, जापान, जर्मनी, बेलायत, फ्रान्स, ब्राजिल, इटली, भारत, दक्षिण अफ्रिका, टर्की, मलेसिया आदि देशबिच जलवायु परिवर्तन सम्बन्धी कस्तो नीति अपनाउने, कस्तो मापदण्ड बनाउने ? भन्ने सम्बन्धमा एक मत नभएकोले धेरै पछिसम्म यसबारेमा गलफत्ती भई रह्यो, अझै पनि सो सम्बन्धमा गलफत्ती भई रहेको अवस्था छ । जबकि माथि उल्लेख गरिएका देशहरूले आफू खुसी अनियन्त्रित ढङ्गले जथाभाबी चलाएको उद्योग-धन्दा र कलकारखानाकै कारण पृथ्वीमा आवश्यकता भन्दा बढी ‘हरित गृह ग्यास’ उत्सर्जन हुँदै आएको तथ्य छिपेको छैन।

त्यसमा पनि पछिल्लो समय उदाउँदो अर्थतन्त्र भनी चिनिएका चीन, भारत, ब्राजिल, टर्की, भियतनाम, मलेसिया आदि देशले आफूहरू भर्खरै उद्योग धन्दा र कलकारखाना चलाउने देशमा ‘उदाउँदै गरेको देश !’ भएकाले अन्य औद्योगिक तथा विकसित देश जत्ति जिम्मेवार नभएकाले जलवायु परिवर्तनको मामिलामा ‘हरित गृह ग्यास’ उत्सर्जन कम गर्ने सन्दर्भमा बढी दायित्व र जिम्मेवारी पनि अमेरिका, जापान, जर्मनी, रुस, बेलायत, फ्रान्स, इटली लगायत देशले लिनुपर्ने अडान राख्दै आएका छन् । यसो हेर्दा विकसित देशमा फड्को मार्दै गरेका चीन, भारत, ब्राजिल, मलेसिया, टर्की, भियतनाम आदि देशहरूको यो अडानमा केही हदसम्म दम रहेको देखिन्छ।

त्यसो त अहिलेको अवस्थामा आई पुग्दा विकसित तथा औद्योगिक देशहरूले मात्रै विश्वको ३२ देखि ३६ प्रतिशत पानी र अधिकांश प्राकृतिक स्रोत साधनहरू दोहन गर्दै आएका छन् । त्यस्तै यी औद्योगिक देशहरूले मात्रै विश्वको झन्डै ८१ प्रतिशत वायु प्रदूषणजन्य ग्यास, धुवाँ लगायत जलवायु परिवर्तनमा प्रत्यक्ष असर पार्ने खालका फोहरजन्य पदार्थ उत्पादन गर्दै आएका छन् । त्यसको प्रत्यक्ष असर नेपाल लगायत कम विकसित तथा अल्पविकसित धेरै देशहरूले भने भोग्नु परेको छ । यो अवस्था भविष्यमा पनि रही नै रहने देखिन्छ । खास गरी जलवायु परिवर्तनले भविष्यमा विश्वभरि नै कञ्चन, स्वच्च र सफा पानीको स्रोत सुक्ने देखिन्छ भने, ठुलो खाद्यान्न सङ्कट पनि निम्त्याउने देखिएको छ।

हालै आएको एक समाचार अनुसार विश्वका प्रायः सबै हिमनदीहरू तीव्र गतिमा पग्लिन थालेका छन् । हिमालय क्षेत्रको चीनको स्वशासित क्षेत्र तिब्बतको पठार क्षेत्रको चिङघाई आसपासमा बढी नै तीव्र गतिमा हिमनदी पग्लेको देखिएको भन्ने छ । सहयोगी ‘काठमाडौँ प्रेस’को अनलाइन संस्करणमा संयुक्त राज्य अमेरिकाको ‘टेक्सास ए एन्ड एम विश्वविद्यालय’का अनुसन्धानकर्मीहरूलाई उद्धृत गर्दै लेखेको फिचर लेखमा जनाइए अनुसार अनुमान गरेभन्दा धेरै छिटो हिमनदीहरू पग्लने क्रम बढेको छ । यसरी अनुमान गरेभन्दा छिटो र तीव्र गतिमा हिमनदी पग्लने क्रम बढ्नुमा “पोजेटिभ आइस-लस फिडब्याक” भन्ने वैज्ञानिक प्रक्रिया वा भनौँ सिद्धान्तअनुसार हिमनदी पग्लने क्रम बढेको हो ।

हुन पनि गत वर्ष हिउँद याम (फेब्रुअरी महिना) मै भारतको नन्दादेवी हिमाल आसपासको हिमनदी र हिमाल पग्लेर बाढी पहिरो आएको थियो । जसले गर्दा नजिकैको जलविद्युत परियोजना रहेको ड्याम र आसपासका गाउँहरू तहसनहस बनाएको थियो । जुन बेमौसममा आएको बाढी थियो । यसरी बेमौसममा बढी पहिरो आउने क्रम बढ्नुमा आएको मुख्य कारण जलवायु परिवर्तनको असर नै हो भन्ने ठम्याई विषय विज्ञ, वैज्ञानिक, खोज-अनुसन्धानकर्ता तथा वातावरणविदहरुको रहेको छ । त्यसैले जलवायु परिवर्तनले ल्याउने दीर्घकालीन असर कसरी कम गर्ने ? भन्नेबारे विषय विज्ञ, वैज्ञानिक, खोज-अनुसन्धानकर्ता तथा वातावरणविदहरु चिन्तित छन् । के पनि भनिन्छ भने, जलवायु परिवर्तनका सम्बन्धमा विकसित देशहरूको दादागिरी कायमै रहेमा अबको ५० वर्षमा अरू कुरोहरूका साथै कञ्चन, स्वच्छ र शुद्ध खाने (पिउने !) पानीको सङ्कटका साथै खाद्यान्न सङ्कटको ठुलो समस्या आई पर्ने छ।

ninam-kulung-mangale