इटहरी : चौधरी फाउण्डेशनले ग्रामीण र दुर्गम स्थानका विपन्न समुदायलाई लक्षित गरी सञ्चालन गरिएको 'अप्रेशन दृष्टि' कार्यक्रम पुनः सुचारु गरेको छ । कोभिडका कारण लामो समयदेखि अवरुद्ध हुँदै आएको सो कार्यक्रम यही आईतवारदेखि सुनसरीको गढी गाउँपालिकाबाट सुरु गरिएको सिजी ग्रुपका प्रादेशिक प्रशासक रामजी कटवालले जानकारी गराए।

गढी गाउँपालिकाको सतेरझोडा र औराबनिमा रहेको स्वास्थ्य चौकीमा सो कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा विराटनगरस्थित दिव्य दृष्टि आँखा अस्पतालका अनुभवी चिकित्सकहरूले 'अप्रेशन दृष्टि' कार्यक्रम मार्फत निःशुल्क सेवा प्रदान गरेका थिए ।

कार्यक्रमबाट आखासंगै कानको जाँच एव उपचार सेवा प्रदान गरिएको थियो । विगत लामो समयदेखि गाउँघरमा कोभिडका कारण ज्येष्ठ नागरिक तथा विपन्न वर्गहरूले आँखाको समस्यालाई समाधान गर्ने उपयुक्त माध्यम नपाइरहेको अवस्थामा फाउण्डेसनको तर्फबाट यो कार्यक्रमलाई गाउँघरमै पुगेर पुनः अगाडि बढाइएको हो । 'अप्रेशन दृष्टि' कार्यक्रम मार्फत कुल २ सय ५६ जना मध्ये ७१ जनामा मोतिया बिन्दुको समस्या देखिएको र उनीहरूलाई निःशुल्क अप्रेसनको व्यवस्था गरिने कटवालले बताए ।

गढी गाउँपालिका अध्यक्ष श्री प्रसाद यादवले आफ्नो आँखा जाँच गराउँदै सुरु भएको कार्यक्रम बिहान १० बजेदेखि झास ४ बजे सम्म सञ्चालन भएको थियो ।

उक्त कर्यक्रममा मास्क, सेनिटाईजर वितरण तथा सामाजिक दुरी कायम गर्दै कोभिड विरुद्ध सचेतना अपनाइएको थियो । शिक्षा, स्वास्थ्य, बिपद र मानवीय सेवाको क्षेत्रमा काम गर्दै आएको चौधरी फाउन्डेशनले बजार तथा आवगमन सहज भएसँगै दुर्गम तथा ग्रामीण क्षेत्र लक्षित आफ्नो कार्यक्रम 'अप्रेशन दृष्टि' र सिजी केयर्सका मानवीय सहायता कार्यक्रमहरूलाई निरन्तरता दिइने कटवालले जानकारी गराए।