धरान:राष्ट्रिय गौरवको आयोजनाकोरुपमा उच्च प्राथमिकता पाएको कोशी करिडोर २२० केभी प्रसारणलाइनबारे धरान क्षेत्रमा उत्पन्न विवाद अन्त्य गर्न एक समिति गठन भएको छ ।

मुख्यमन्त्री शेरधन राई, सभामुख प्रदीपकुमार भण्डारी, संघीय सांसदलगायतको टोलीले धरानको वडा नं २०(साविक विष्णुपादुका)को शनिबार स्थलगत निरीक्षण पछि समिति गठन भएको हो । दिनभरजसो गोर्खा स्मृति पार्क, भञ्ज्याङ हुदै चिण्डे डाँडा पनि पुगेर स्थलगत निरीक्षणसँगै आयोजनालाई सम्पन्न गर्न सहयोगको अपिल गरेका मुख्यमन्त्री राईले के निर्णय गर्लान् वा कदम चाल्छन् भनेर दिनभर चासो थियो । उनले वडा २० कार्यालय प्रांगण र चिण्डे डाँडामा आयोजनालाई वाधा अवरोध नगरी सहयोग पुर्याउन अपिल गरेको कारण आयोजना तत्काल कार्यान्वयनमा जाने सबैको अनुमान थियो ।

IMG_20190112_135254 copy

स्थलगत निरीक्षण पछि विवाद समाधानबारे उपमहानगरपालिका कार्यालयमा वृहत छलफल आयोजना भयो । त्यहाँ पनि स्थानीयबासी, पर्यटनकर्मी, सांसद, राजनीतिक दलका प्रतिनिधिहरुले आ आफ्नो धारणा राखे । फ्लाइट डिले भएका कारण छलफलको अन्त्यतिर मात्र आइपुगेका नेपाल विद्युत प्राधिरणका महानिर्देशक कुलमान घिसिङले पनि टावर सार्न नसकिने भनाई राख्दै आयोजनालाई तोकिएको समयमा सम्पन्न गर्न आग्रह गरे ।

घिसिङको पनि कुरा सुनिसकेपछि मुख्यमन्त्री राईले भने सबैको अनुमान विपरीत जनभावनालाई पनि सम्मान गर्दै व्यवहारिक तथा प्राविधिकरुपमा निष्कर्ष निकाल्न एक प्राविधिक समिति गठन गर्न प्रस्ताव गरे । सोही समितिको सुझाव वा निष्कर्षको आधारमा निर्णय लिनुपर्ने धारणा राखेपछि सबै त्यसैमा सहमत भए । ‘कुन कुन टावरले कहाँ, कसरी असर गर्छ, त्यसले कस्तो प्रभाव पर्छ र त्यसलाई न्युनीकरण कसरी गर्न सकिन्छ भनेर व्यवहारिकरुपमा अध्ययन गर्नुपर्छ,’मुख्यमन्त्री राईले भने,‘केही तलमाथि, यताउता सार्ने वा होचो अग्लो बनाउदा हुन्छ कि ? व्यवहारिकरुपमा हेरौ, एक साताभित्र समाधान गरौ, र आयोजनालाई पनि सम्पन्न गरौ ।’

           प्रजिअको अध्यक्षतामा ११ सदस्यीय समिति

IMG_20190112_161142 copy

मुख्यमन्त्री राईको प्रस्तावपछि व्यवहारिक समाधान खोज्नको लागि ११ सदस्यीय सुझाव समिति गठन भएको छ । समितिलाई ७ दिन समस्याको पहिचान गर्ने र ठोस सुझाव दिने समय तोकिएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीको अध्यक्ष रहेको समितिमा आयोजनाको मेनेजर, ठेकेदार कम्पनीको एक प्रतिनिधि र परामर्शदाताको पनि एक प्रतिनिधि रहनेछन् ।

यसैगरि, वडा नं २० का अध्यक्ष मणिराम राई, सरोकारवालाकोतर्फबाट धरान उपमहानगरका इञ्जिनियर सुरज श्रेष्ठ, स्थानीयबासी प्रेमकुमार राई, प्याराग्लाइडिङतर्फबाट एक्स्ट्रीम धरानका सचिव रामप्रसाद राई रहेका छन् भने राजनीतिक दलकोतर्फबाट कांग्रेस नगर सभापति तिलक राई, साविक एमालेका अध्यक्ष नारायण सुवेदी र साविक माओवादी केन्द्रका चोत्लुङ रहेका छन् । धरानकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले भनिन्,‘एक साताभित्र समस्याको हल निकाल्ने म्याण्डेड समितिलाई छ ।’

IMG_20190112_145821 copy